काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रज्ञा प्रतिष्ठानलाई नेपालमा रहेका सबै भाषाको साझा थलो बनाउने अभियानमा लागि परेको बताएका छन् ।
टुक्का कविता साहित्य समाजको आयोजनामा शनिबार एकसाथ सात जना स्रष्टाहरुको साहित्यीक कृति विमोचन कार्यक्रमका प्रमुख अतिथि रहेका कुलपति राईले नेपाल प्रज्ञा प्रतिष्ठानलाई सबै भाषाको साझा थलो बनाउनका लागि विभिन्न खालका व्यवधान र आक्षेपहरुलाई पन्छाउँदै आफु अगाडि बढेको बताए ।
टुक्का साहित्य समाजमा अध्यक्ष तारा प्रसाद चापागाईँको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कुलपति राईले मानिसले श्रमबाट संस्कृतिको विकास गर्दै आएको आजको यो समाजमा संस्कृतिलाई अभिव्यक्तिको माध्यम कविता लगायतका विभिन्न साहित्यीक क्षेत्र भएको बताए । उनले टुक्का कविताको संजाल संसारभरी फैलिएको बताउँदै टुक्का कविता लगायतका नयाँ विधाहरु नेपालमा स्थापित भएको बताए ।
उनले प्रविधिका कारण पछिल्लो समय संसारभरीका सूचना सानो चिप्समा अटाएको भन्दै कवितालाई छोटो भन्दा छोटोमा भन्ने उपक्रम बढिरहेको बताउँदै त्यहि उपक्रमको अभियान टुक्का कविता साहित्य समाज स्थापित भएको बताए ।
टुक्का कविता लेखनको चौथो वर्षको अवसर पारेर विमोचन गरिएको उक्त सात कृतिहरुमा ऐतिहासिक टुक्का यात्रा (संयुुक्त सङ्ग्रह, दोस्रो संस्करण), व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कविता सङ्ग्रह), पुष्पाश्री (पुष्पा राई), टुक्का सुधा (रामप्रसाद पुरी), बन्धन (भगवती दवाडी अधिकारी), भोजपुर घर भई हाल जापानमा रहेका साहित्यकार म्यामराज राईको टुक्का कविता संग्रह ‘महक’ र दार्जिलिङमा रहेका राजेन्द्र पासाको ‘तरङ्गित छालहरू’ रहेका छन् ।
प्रज्ञा प्रतिष्ठान काब्य बिभाग प्रमुख बाबा बस्नेत, साहित्यकार डा. देवी पन्थी, उपाध्यक्ष बसन्त अनुभव, महासचिव चुडा निर्भिक, बरिष्ठ साहित्यकार समिक्षाकार अरुण खत्री नदी लगायतको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा टुक्का साहित्यको प्रवद्र्धनका लागि योगदान गर्ने श्रष्टा, संचारमाध्यम, समाजसेवीलगायतलाई ‘टुक्काश्री साहित्य सम्मान २०८०’ बाट सम्मान गरिएको थियो ।
वि.सं.२०८० साउन २८ आइतवार १७:३९ मा प्रकाशित






























