back
CTIZAN AD

असोजदेखि बन्दीपुर केबलकार सन्चालनमा आउने, यस्ता छन् यसका विशेषता

वि.सं.२०८० साउन ३२ बिहीवार

1.1K 

shares

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो ।

एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ । केबलकारको अहिले पुनःपरीक्षणको काम भइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमका निर्देशक तथा इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिए ।
केबलकारमा एक्काइस डिब्बा यात्रु बोक्ने, छ डिब्बा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रु बस्नसक्ने क्षमताको छ ।

एड्भेञ्चर डिब्बा भने अन्य डिब्बाको तुलनामा फरक किसिमको (सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको) हुने उनले बताए । “केबलकार भित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ”, निर्देशक पौडेलले भने ।

पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई रु ५०, पत्रकारलाई रु तीन सय ५०, अन्य यात्रुका लागि रु पाँच सय, रेष्ट्रो क्याबिनको रु २५ हजार पर्नेछ भने ६५ वर्ष माथिका नागरिकलाई भने टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ ।

केबलकार र पाँचतारे होटल गरी कूल रु तीन अर्ब ५८ करोडको लागतमा निर्माण गर्न लागिएको हो । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिकस्थल अवलोकन गर्दै भरपुर मनोरञ्जन लिन सक्नेछन् ।

मिति नतोकिए पनि दसैँ अगाडिदेखि केबलकार सञ्चालनमा ल्याउने योजना भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । केबलकारमा अबको करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक परीक्षणका काम भइरहेको र अब असोजदेखि व्यावसायिकरुपमा सञ्चालनमा ल्याइने उनले भने ।

‘क्वीन टावर’ नाम दिइएको सत्र तल्लाको पाँचतारे होटलबाट बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका डाँडाकाँडा र फाँट सजिलै देख्न सकिनेछ । उक्त होटलको ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ । रङरोगन र फिनिसिङलगायत करिब आठ प्रतिशत कार्य गर्न बाँकी रहेको अध्यक्ष शर्माले बताए ।
नब्बे कोठा रहेको हिलटपमा ७८ वटा कोठा प्रयोगमा ल्याइनेछ । सेमिनारलगायत अन्य कामका लागि एक हजार क्षमताको ठूलो कक्षसमेत निर्माण गरिएको छ । होटलको सुरुको तलाबाट सत्र तलासम्म क्याप्सुल लिफ्टबाट सिधै ‘क्वीन टावर’ सम्म जान सकिने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी केबलकारको प्रवेशद्वारमा रु २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण काम भइरहेको सो कम्पनीले जनाएको छ ।

बन्दीपुरमा घुम्न आउने पर्यटकलाई नयाँपन र भरपुर मनोरञ्जन प्रदान गर्नु कम्पनीको मुख्य लक्ष्य रहने उनले जानकारी दिए । केबलकारमा यात्रुको आवतजावतको समयपश्चात् साँझपख केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिनेछ । प्रत्येक दिन साँझ ५ बजेपछि केबलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको अध्यक्ष शर्माले बताए ।

केबलकारभित्र रेष्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म उक्त सेवा दिइनेछ । तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकलाई सेवा दिइनेछ । उनले भने, “कम्पनीले शाकाहारी, मांशाहारीलगायत खानेकुरासँगै पेयपदार्थसमेत उपलब्ध गराउनेछ ।”

बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्ष्य गर्दै केबलकार, रेष्ट्रोकार र तारेस्तरसम्मका होटल निर्माण गरिएको छ । पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको सत्रतले होटलभित्रै केबलकार पुगेर टुङ्गिनेछ । बटम स्टेशन (तल) हाइवेसँग जोडिएको छ, जहाँबाट सिधै माथि बन्दीपुरस्थित होटलभित्र पुग्न सकिनेछ ।

बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ, सोही भवनमा भिआइपी लन्च, ओपन रेष्टुरेन्ट (टुरिष्ट कोच), अतिथि स्वागतलगायत कार्य एउटै भवनबाट हुनेछ ।रासस

 

वि.सं.२०८० साउन ३२ बिहीवार १६:५७ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...