काठमाडौं । नेपाल प्रहरीमा प्रहरी कर्मचारीको लागि सरुवासम्बन्धी नयाँ मापदण्ड ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९’ (संशोधनसहित) कार्यान्वयनमा आएको छ । गृहमन्त्रालयले प्रहरी कर्मचारीको लागि भाद्र महिनादेखि नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो ।
प्रहरीको नीति निर्माण समितिले असार २८ गते पारित गराएको नयाँ मापदण्डलाई अध्ययनपश्चात गृहमन्त्रालयले साउन २१ मा स्वीकृत दिएको थियो ।
नयाँ मापदण्डअनुसार काठमाडौं उपत्यकाबाहेकमा कुनै पनि जिल्लामा प्रहरी कर्मचारीको घरपायक सरुवा नहुने भएको छ । मापदण्डमा उल्लेख भएअनुसार आगामी समय सरुवा गर्दा भौगोलिक हिसाबले तराई, पहाड, हिमाल र सुविधाको हिसाबले शहरी/ग्रामिण तथा सुगम/दुर्गम क्षेत्रमा आलोपालो हुने भएको छ ।
आवश्यक तालिम नलिएको खण्डमा कर्मचारीको सरुवा रोकिने भएको छ । यस्तै, प्रहरीमा अब कसैको पनि विशेषः कारण बिना काज सरुवा नहुने भएको छ ।
नयाँ मापदण्डअनुसार कार्यालय प्रमुखको जिम्मेवारीमा रहने प्रहरी कर्मचारीको सामान्यतयाः एक वर्षमा अन्यत्र सरुवा गर्न सकिनेछ । कार्यालय प्रमुखको सरुवामा मूल्यांकन प्रणालीलाई समेत हेरिने व्यवस्था नयाँ मापदण्डमा ल्याइएको छ ।
सरुवा गरिएको दरबन्दीमा हाजिर नहुनेलाई कारबाही स्वरुप अर्को स्थानमा सरुवा गरिने व्यवस्था नयाँ मापदण्डमा आएको छ ।
यस्ता छन् नयाँ मापदण्डका मुख्य विशेषता :
• प्रहरी कर्मचारीको स्थायी वतन भएको जिल्लामा सरुवा गरिने छैन तर काठमाण्डौ उपत्यकाको हकमा भने यो प्रावधान लागू हुने छैन । कुनै प्रहरी कर्मचारीले बसाँईसराई गरेमा अनिवार्य रुपमा स्थायी बसाँईसराईको प्रमाणपत्र पेश गरी अभिलेखमा आफ्नो स्थायी वतन अद्यावधिक गर्नुपर्नेछ ।
• प्रहरी कर्मचारीको सरुवा गर्दा भौगोलिक हिसावले तराई, पहाड, हिमाल र सुविधाको हिसावले शहरी / ग्रामिण तथा सुगम / दुर्गम क्षेत्रमा आलोपालो हुने गरी गरिनेछ ।
• विशिष्टिकृत सेवा प्रवाह गर्ने प्रहरी कार्यालयहरुमा सम्बन्धित सेवामा आवश्यक पर्ने तालिम प्राप्त नगरेका प्रहरी कर्मचारीलाई जिम्मेवारीमा खटाईने / सरुवा गरिने छैन ।
• कार्यालय प्रमुखको रुपमा खटिने प्रहरी कर्मचारीको हकमा कार्यालय प्रमुखबाट कार्यालय प्रमुखको जिम्मेवारी पाउने गरी सरुवा तथा पदस्थापन गरिने छैन ।
• स्वभाविक अपेक्षा राख्ने बाहेक अनुचित दवाव वा प्रभाव श्रृजना गरी सरुवा / काज माग गर्ने प्रहरी कर्मचारीको अभिलेख राखी सोही बमोजिम मूल्याङ्कन गरी सरुवा गरिनेछ ।
• सामान्यतया कार्यालय प्रमुखको रुपमा १ बर्ष सेवा अवधि पुरा गरेपछि अन्यत्र सरुवा गरिनेछ ।
• कार्यालय प्रमुखको जिम्मेवारी दिँदा कार्य क्षमता, कमाण्ड, तालिम, अनुभव र निजले प्राप्त गरेका अवसर समेतलाई मूल्याङ्कन गरिनेछ ।
• एउटै दर्जामा दोहोर्याएर कार्यालय प्रमुख दिँदा एक कार्यालय प्रमुखबाट अर्को कार्यालय प्रमुख बीचको समय अन्तर दर्जागत रुपमा आवश्यकता अनुसार निर्धारण गरिनेछ ।
• सामान्यतया कार्य सम्पादन स्तर सन्तोषजनक नभएका, प्रहरी आचरण विपरीत कार्य गरेका, प्रचलित कानूनद्वारा कारवाही भएका, कार्य क्षमता कमजोर भएको कारणले कार्यालय प्रमुखको जिम्मेवारीबाट हटाइएका र सुपरिवेक्षकले कार्यालय प्रमुख दिन उपयुक्त नहुने भनी कैफियत गरिएका प्रहरी कर्मचारीलाई कार्यालय प्रमुखको रुपमा दोहोर्याएर सरुवा गरिने छैन ।
• प्रहरी कर्मचारीको सरुवा गर्दा एउटै दर्जामा पूर्व दरवन्दी पर्ने गरी सरुवा गरिने छैन र सामान्यतया अन्य दर्जामा पनि पूर्व दरवन्दी रहेको कार्यालयमा सरुवा गरिने छैन ।
• सरुवा तथा पदस्थापन भएको दरवन्दीमा हाजिर नहुने प्रहरी कर्मचारीलाई सोही बमोजिम मूल्याङ्कन गरी अन्यत्र सरुवा गरिनेछ ।
• नेपाल प्रहरीमा विशिष्टिकृत सेवा प्रवाह गर्ने कार्यालयहरुको छुट्टै आन्तरिक नीति भएमा सोही बमोजिम वा सम्बन्धित कार्यालयको सिफारिसमा सरुवा गरिने छ ।
• दरबन्दी भन्दा बढी संख्यामा प्रहरी कर्मचारी खटाउनुपर्ने भएमा दरबन्दी थपका लागी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयलाई लेख्नु पर्नेछ र तत्काल दरबन्दी थप नहुने भएमा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयको सिफारिसमा मात्र खटाईने छ ।
• प्रहरी ईकाईहरुलाई: जनघनत्व, क्षेत्रफल, अपराधिक क्रियाकलाप,मुद्दा दर्ता संख्या, सुरक्षा संवेदनशिलता, सुगम/दुर्गम, यातायातको पहुँच लगायतको आधारमा क,ख र ग श्रेणीमा वर्गिकरण गरिएको । (वर्गिकरण गर्ने क्रममा प्रप्रका अ.अ. विभाग, प्रप्रका अन्वेषण योजना निर्देशनालय ,प्रप्रका बजेट शाखा, उपत्यका प्रहरी कार्यालय, प्रदेश कार्यालयहरुबाट प्राप्त विवरणको बिवरणको विश्लेषण पश्चात नीति निर्माण समितिको बैठकबाट पारित गरिएको) ।
• सरुवा माग गर्दा प्रहरी कर्मचारीले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को अनुसुची-१३ बमोजिमको फाराम भरी विद्युतिय माध्यम वा पत्रद्वारा सम्बन्धित कार्यालय मार्फत सरुवा गर्ने कार्यालयमा पठाउनु पर्नेछ । व्यक्तिगत सिफारिस, फोन तथा म्यासेज आदि माध्यमबाट माग गरिएका सरुवा सिफारिस सम्बोधन हुनेछैन ।
• दरवन्दीका कर्मचारी नखोज्ने कार्यालय प्रमुखको कार्यलाई जनशक्तिको उचित परिचालन नगरेको वा जनशक्तिको दुरुपयोग गरेको तथा अनुशासन र आदेशको पालना नगरेको विषय बनाई प्रहरी नियमावली २०७१(संशोधन सहित) बमोजिम कारबाही गरिनेछ ।
• सरुवा पदस्थापना पश्चात तोकिएको समयावधिभित्र रवाना नलिने प्रहरी कर्मचारी र रवाना नदिने जिम्मेवार प्रहरी कर्मचारीको कार्यसम्पादन र कार्यदक्षता मूल्याङ्कन सोहीअनुसार गरिनेछ ।
• स्वीकृत मापदण्डमा “पूर्व दरवन्दी भएको जिल्ला वा कार्यालय र वतन जिल्लामा सरुवा गरिने छैन” भन्ने व्यवस्था भएका कारण पूर्व दरवन्दी भएको जिल्ला स्थित कतिपय कार्यालयहरुमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षकलाई अन्यत्र जिल्लामा रहेका कार्यालयहरुमा कार्यालय प्रमुखकै रुपमा सरुवा गरिएको ।
हेर्नुहाेस् पूर्णपाठ
वि.सं.२०८० भदौ १ शुक्रवार १३:२५ मा प्रकाशित






























