पवनकुमार बुढाथोकी,काठमाडौं
१
सहन पनि जिन्दगीमा तिमीबाट नै धेरै कुरा सहन सम्म सहेँ
गाग्री नै खनाउदा लोटा जति पनि माया नपाउँदा बर्वाद भएँ
अब के हुन र गर्न बाँकी छ, भन्देउ त मेरो मन खाएकी प्रीया
लाग्छ, म त उत्तर दिशा लाग्नु पर्ने मान्छे दक्षिणतिर पो गएँ ।
२
अबिकसित देशका गरिब हौँ है, यहाँका जनता हामी
डाडुपन्यु समात्ने नेता भाषणले मान्छे पट्याउन नामी
बास्तबमा आफैले गरि खाने चैँ सर्बसाधारण मात्र हुन
अरू त पाए सम्म काम हैन ठगेर खान लाई मात्र दामी ।
३
खोलामा मात्र हैन पुल माथि पनि पानीनै बगिरहेको छ
गाह्रो छ भन्नलाई त कस्ले कस्लाई धेरै नै ठगिरहेको छ
हिँउद लागे धुँवा धुलो बर्षामा बाढी पहिरो बढ्यो यहाँ
बिकास गर्छु भन्नेहरु माथिको बिश्वास डगिरहेको छ ।
४
जिस्किदा जिस्कदैमा पनि तिमी संग मेरो प्यार भयो
छोटो समयमै तिमी अभिन्न मित्र र जिक्री यार भयो
मलाई थाहा थिएन यति चाँडो बिश्वास गर्छेउ नै भनेर
मन बहलाउन कतै जाउँ न भनेको, तिमी त तयार भयौ ।
५
बारम्बार हाम्रोमा एउटै मात्र नेता धाई रहन्छ
दुःखमा त हैन, उ चुनाउमा मात्र आई रहन्छ
हैन , के छ त्यस्तो त्यो पेशा र पदमा आजकाल ?
हामी नाँगिएका छौँ त्यस्ले चैँ के कुरो पाई रहन्छ ।
वि.सं.२०८० भदौ २ शनिवार ०८:०३ मा प्रकाशित




























