काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आज आह्वानपत्र प्रकाशन गर्दै भदौ २१ देखि भदौ २५ सम्म आईपीओ बिक्री खुला गर्ने जनाएको हो ।
कम्पनीले सर्वसाधारणका लागि २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीको प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको छ । आईपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था छ । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड हुने छ ।
यस अघि नै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ । आईपीओ निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो शेयरको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आईपीओ प्रति कित्ता ५० रुपैयाँ मै आउने छ ।
कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।
वि.सं.२०८० भदौ ११ सोमवार १०:२६ मा प्रकाशित



























