काठमाडौं । कााठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयलेशनिबारको घटनामा मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले अनावश्यक केरकार गरेको प्रष्टीकरण दिएको छ ।
आाइतबार शाहको सचिवालयले प्रेस वक्तव्य जारी गर्दै मेयर शाहकी पत्नी सविना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन÷प्रशारण भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ ।
‘२०८० भाद्र १६ गते बेलुका ७ बजे सुत्केरी अवस्थामा रहनुभएकी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रुपमा उपलब्ध रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र वहाँकी धर्मपत्नीलाई प्रयोग गर्न गृहमन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सविना काफ्ले अस्पताल जानु भएको थियो,’ विज्ञप्तिमा भनिएको छ,‘आफ्नो एनआरइसीयुमा रहेको शिशुलाई स्तनपान गराई फर्किने क्रममा रातको ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरु सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गरेको जानकारी गराए ।’
सवारी चालकले विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको जानकारी गराउदै नगर प्रमुखसहितको परिचय खुलाउँदा प्रहरीको व्यवहार झनै आक्रामक बनेको र प्रहरीले सामान्य मानविय समवेदनाको समेत ख्याल नगरी ७ मिनेट गाडीलाई किनारमा राख्न लगाइ असान्दर्भिक र मनोमानी प्रश्न गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।
शनिबार मेयर बालेन शाहले सामाजिक संजालमा सरकारको नाममा आपत्तिजनक स्टाटस लेखेपछि उनको सर्वत्र आलोचना भइरहेको थियो । सोहि क्रममा सचिवालयले प्रेस विज्ञप्ति जारी गरेको हो ।
यद्यपी मेयर शाहको आपत्तिजनक स्टाटसबारे भने सचिवालयले केही बोलेको छैन । शनिबार रातिको उनको स्टाटसले आइतबार दिउँसो सम्म बिभिन्न मिडिया तथा सामाजिक संजालमा उनको धेरैजसो आलोचना भएको थियो ।


वि.सं.२०८० भदौ १७ आइतवार १८:१३ मा प्रकाशित






























