काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमीरेले नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथिको आक्रमण र कान्तिबाल अस्पतालमा उपचार नपाएर मृत्यु भएकी बालिकाको घटनामा बारेमा संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उपस्थिति अधिकांश सांसदले कार्यक्रमबाट फर्किदै गरेका संविधान सभा सदस्य यादवमाथिको आक्रमण र विरामी भएर उपचारका लागि कान्ति बाल अस्पतालमा पुगेकी पाँच वर्षीया बालिकाले उपचार नपाएर मृत्यु भएको घटनालाई लिएर सरकारको जवाफ मागेपछि सभामुख घिमीरेले त्यसबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।
‘आजको आकस्मिक, शून्य र विशेष समयमा कान्तिबाल अस्पतालमा एकजना पाँच वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरु छन् । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु ।’ सभामुख घिमीरेले भने ।
वि.सं.२०८० भदौ २१ बिहीवार १६:३५ मा प्रकाशित






























