काठमाडौं । पुष्पलाल अध्ययन समाजले भूकम्पबाट प्रभावितहरुको बासलाई प्राथमिकता दिएर पुननिर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।
पुष्पलाल अध्ययन समाजका सल्लाहकार रत्नमान तुलाधरको निवास ललितपुर २२ बुंग्मतिमा २०८० कार्तिक १८ गते सम्पन्न भएको बैठकले कार्तिक १७ गतेको जाजरकोट भूकम्पमा परी निधन भएकाप्रति श्रद्धान्जली, घाइतेहरुको शीघ्र उपचार एवं चिसो मौसमलाई ख्याल गरी पुनर्निमाण अभियान तत्काल बढाउन सबैतहका सरकार र सम्बन्धित सबैसंग आग्रह गरेको हो ।
समाजका अध्यक्ष लोककृष्ण भट्टराईको अध्यक्षतमा सम्पन्न सो बैठकले अमेरिकी उक्साहटमा ईजरायलद्वारा प्यालेस्टाइनमाथि हुँदै आएको बर्बर आक्रमण र आम नरसंहारप्रति तीव्र निन्दा र भर्त्सना गर्दै हमासद्वारा इजरायल निवासी सर्वसाधारण जनतामा समेत आक्रमण गरेर १० जना नेपाली समेतको मृत्यु भएकोप्रति क्षोभ व्यक्त गर्ने निर्णय समेत बैठकले लिएको छ ।
बैठकले नेपाल कम्युनिष्ट पार्टीका रणनीति, कार्यनीति तथा कार्यक्रम निर्धारणमा पुष्पलालको योगदान, संयुक्त जनआन्दोलनको कार्यनीति प्रतिपादनमा पुष्पलालको योगदान, ‘नेपालको इतिहासलाई मार्क्सवादी दृष्टिकोणबाट अध्ययन गर्ने विषयमा पुष्पलालको योगदान, दर्शनका क्षेत्रमा पुष्पलालको योगदान, प्रगतिशील र जनवादी संस्कृतिको अध्ययन र इतिहास लेखनमा पुष्पलालको योगदान, पार्टी संगठन, जवस तथा पेशागत संगठन निर्माणमा पुष्पलालको योगदान, स्वाधीन अर्थतन्त्रको नीति अवलम्बन र प्रबर्द्धनमा पुष्पलालको योगदान, नेपालको सही र स्वतन्त्र परराष्ट्रनीति सम्बन्धी बैचारिक मान्यता आत्मसातीकरणमा पुष्पलालको योगदान, जनवादी शिक्षाका आधार निर्माणमा पुष्पलालको योगदान लगायतका बिषयमा सातवटै प्रदेशमा कार्यपत्रसहित गोष्ठी तथा अन्तरक्रिया आयोजना सम्पन्न गर्न–गराउन पुष्पलाल अध्ययन समाजका नेतृत्वपंक्ति र अन्य बौद्धिक व्यक्तित्वहरुलाई समेत जिम्मेवारी प्रदान गरेको छ ।’ समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै बैठकले विद्यार्थीका नजरमा पुष्पलाल विषयक कायम राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गर्ने तथा सल्लाहकार हिरण्यलाल श्रेष्ठ एवं सचिव एकलाल श्रेष्ठको शीघ्र स्वास्थलाभको कामना गर्ने निर्णय समेत गरेको छ ।
वि.सं.२०८० कात्तिक १९ आइतवार ११:२९ मा प्रकाशित






























