काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा आरोप खेपेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा छानविन गर्नका लागि आगामी संसद बैठकले छानविन समिति घोषणा गर्नुपर्ने माग गरेको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस सांसद इश्वरी न्यौपानेले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको उक्त प्रकरणमा कुनैपनि संलग्नता नरहेको भन्ने जवाफ प्रधानमन्त्रीबाट मंगलबार आएको भएपनि उनको संलग्नता रहेको प्रमाणहरु रहेको भन्दै छानविन समिति गठन गरेर उनीमाथि छानविन गर्नुपर्ने माग गरिन् ।
‘छानविन समितिको माग गर्दा किन डराउनु पर्यो ? हिँजो यहि हाउसबाट छानविन समिति बनेको छैन ! बालकुमारी घटना ताजै छ । उहाँ नै उफ्रनु भएको थियो त, आयोग गठन गर्नुपर्यो भनेर । आज उहाँको विषयमा समिति गठन गर्नुपर्यो भन्दा समिति नै गठन गर्न नहुने उहाँ के स्वर्गबाट आएको हो झन त्यसले शंका पैदा गरेको छ ?’ संसदमा न्यौपानेले प्रश्न गरिन् ।
उनले थप भनिन्, ‘प्रधानमन्त्री प्रमाण छैन भनिरहनु भएको छ । हामीसँग येथेष्ट प्रमाणहरु छन् । तर, यसको छिनोफानो कस्ले गर्ने ? हिँजो प्रधानमन्त्रीले न्यायाधिश जस्तो गरी बोल्नु भयो ।’
सांसद न्यौपानेले न्यायाधिशले गर्नुपर्ने काम प्रधानमन्त्रीले गरेको भन्ने आरोप लगाउदैँ भनिन् ‘समिति गठन नभएमा उपप्रधानमन्त्रीले बाहिर भन्नुभएको जस्तै प्रतिपक्षले सदन अवरुद्ध गरिदिए हुन्थ्यो मेरो विरोधमा आवाज उठाउने एकजना मात्र पनि नभएर जसरी पनि मेरो इच्छाले काम गर्न पाए हुन्थ्यो भनेर उहाँले नै सदन अवरुद्ध गरेको ठहरिने छ । ’
वि.सं.२०८० चैत ७ बुधवार १३:४४ मा प्रकाशित






























