गजल- १
डा. घनश्याम परिश्रमी
आवाज आज मनको सुनेनौ तिमीले
आँखाको इशारा बुझेनौ तिमीले
मेरा भावनाको कदर नै गरेनौ
त्यो मनभित्र पस्नै दिएनौ तिमीले
प्रेमी बन्न यसरी कहाँ हुन्छ सजिलो
दिलको राग सुन्नै सकेनौ तिमीले
साँच्चै दुःखदायी म गर्दै छु महसुस
मेरा आँसु कहिल्यै पुछेनौ तिमीले
हे¥यौ मात्र आँखा, अधर, केश, गाला
मेरो घाउ दिलको देखेनौ तिमीले ।
गजल -२
डा. देवी पन्थी
मायाको सीमा हुन्न भन्थ्यौ तिमीले
माया किन्न पो नोट गन्थ्यौ तिमीले
ठूलो घाउ मनभित्र पा¥यौ दुखायौ
मायाका जरा हेरी खन्थ्यौ तिमीले
तिम्रो केशमा अल्झिंदा मन रुवायौ
भुस ठानी नहेरी निफन्थ्यौ तिमीले
लेखेको छु तिम्रो कथा पढ्न आऊ
सानैदेखि जे जे कहन्थ्यौ तिमीले
किन होला कनेरै बाजी जित्न खोज्यौ
उहिले जित्न खोजेर कन्थ्यौ तिमीले।
गजल -३
ध्रुबप्रसाद गजुरेल
मेरो वास उनले उठाएर के भो
उनको साथ मैले नपाएर के भो
मैले प्रेम गर्दा सधैँ भाउ खोज्छिन्
उनको नाम दिलमा सजाएर के भो
आफ्नै काम गर्दा कुरा काट्छ धेरै
साथीबाट उसले हटाएर के भो
जीवनभर कुनै मान पाएन जसले
मर्दा शव उसैको घुमाएर के भो
मेरो दिल जलायौ नकोरी सलाई
पानी हाल्न दमकल मगाएर के भो ।
गजल- ४
स्वर्ण शिखा
माया छैन बोली मिलाएर के भो
पानी बालुवामा खन्याएर के भो
ओकल्ने विषै हो निसन्देह उसले
दुध नैइ सर्पलाई खुवाए के भो
आखिर बेवकुफकै इसाराले चल्छ
खुकुरीलाई दर्शन सुनाएर के भो
जो हुन् हाँस तिनले मलाई चिनेछन्
बकुला जतिले खिल्ली उडाएर के भो
हाँसोमा सधैँ नै कुटिलता छु देख्दै
लालीले अधर ती सजाएर के भो ।
गजल- ५
जानुका गुरागाईँ
घरमा नित्य कीर्तन लगाएर के भो
हानी मार बोका चढाएर के भो
कानुनका दफाले नगर्ने भए काम
मुद्दा मात्र दर्ता गराएर के भो
बुझ्दैनन् कसैले व्यथा जिन्दगीका
गीता भालुलाई सुनाएर के भो
नाटकझैँ छ लाग्दै कुरा भ्रष्ट थुन्ने
हात्तीलाई नाङ्लो ठटाएर के भो
थालौँ सोच्न गर्दै सबैले समीक्षा
बाँदरलाई ताला थमाएर के भो ।
गजल- ६
उत्तम विचार
अर्काको खुसी निम्ति खोजेर पानी
आफ्नैं घर जलाएर पार्छन् खरानी
मायामा म रित्तो भएको छु आज
प्यारीपूर्ण भण्डार हौ प्रेम खानी
उद्यम हैन माया पसल खोल्नलाई
भन्छन् हुन्न घाटा गरेमा लगानी
सरकारी सबै काम हुन्छन् अबेला
फाइल छैन दर्ता कहाँ होस् चलानी
माया माल सामानजस्तो तुलोमा
जोखी किन्न पाइन्न रोजेर छानी ।
गजल -७
कुमार थापा उमेश गौरी गाउँले
हेर्दा लाग्छ हरदम बगेको छ पानी
मेची दुख्छ काली रसाएर नानी
हो संसारकै दिव्य भू–स्वर्ग भन्दै
यै नेतृत्वले हो सुनाको कहानी
सारै मूर्ख भैयो सधैँ बात सुन्दै
व्यर्थै बातमापो बिताएँ जवानी
चिन्तन् संम्म गर्ने भएनन् कसैले
घाटामा छ यो देश हाम्रो लगानी
लेख्ने गर्छु मैँले दुखेको कुरामा
लेख्दा पोल्छ यस्तै नराम्रो छ बानी।
गजल- ८
पद्मा रिजाल
तिम्रो काख मेरो बनेमा सिरानी
पीडाका सबै मेटिने छन् निसानी
दुःखीको मलम बन्न खोज्दा म आज
ऊ भन्दै छ व्यर्थै बित्यो जिन्दगानी
सुखमा छिन् उनी भन्ने लाग्थ्यो परन्तु
उनले पनि सुनाइन् दुखैका कहानी
तिम्रो प्रेम प्रस्ताव कसरी सकारूँ
लुटिँदै छन् जहिल्यै हजारौँ जवानी
पलमै हुन्छ गायब जवानीको रङ्ग
सेखी गर्दछ्यौ व्यर्थ नबुझेर नानी ।
गजल -९
रमा खतिवडा मैनशिखा
जाली भ्रष्ट नेता जिताएर के भो ?
भाषण मात्र चर्का सुनाएर के भो ?
भित्री गन्दगीको भकारी छ मान्छे
हरदिन गण्डकीमा नुहाएर के भो ?
चोखो प्यार मेरो तिमीलाई नै हो
तिम्रो साथ मैले नपाएर के भो ?
पीडा जिन्दगीका घटेनन् कहिल्यै
पलपल आँसु मैले बगाएर के भो ?
पर्दा दुःख टाढा भयौ साथ छोडी
धेरै धन तिमीले कमाएर के भो ?
गजल -१०
धनसिंह गिरी
जब बस्दैन माया लजाएर के भो
आँखा मात्र हरदिन जुधाएर के भो
ऊ अपराध गर्दै हिँड्यो झन् निडर भै
कानुनका दफाले डराएर के भो
कानुनबाट उम्के ती दोषी थिएनन्
झुट्ठा व्यर्थ मुद्दा लगाएर के भो
जो बुझ्दैन केही नराम्रो र राम्रो
घोकाएर पुस्तक पढाएर के भो
जीवनभरको साथी नबन्ने भएमा
पलभर मात्र माया बसाएर के भो ।
गजल -११
मीरा ज्ञवाली (आस्था)
मान्छेभित्र राम्रो नराम्रो छ बानी
राम्रो कर्म गर्दै बितोस् जिन्दगानी
हामी बन्न सक्छौँ यहाँ शिष्ट पात्र
बोलौँ मिष्टवाणी सधैँ बाबुनानी
भोग्दै बस्छु पीडा म यो जिन्दगीभर
लेखे बन्न सक्थेँ सुनौला कहानी
मान्छे देख्छु मैले कुनै दुष्ट जस्तो
पाएँ भिन्न धेरै ऊ मनको छ दानी
मेरो लक्ष्य पूरा बनाएर सारा
बाँचू जिन्दगीभर बनी स्वाभिमानी ।
गजल- १२
स्पन्दन विनोद
खोज्यौ किन्न माया को मालिक छ तिम्रो
किन माया किनेको कहाँ टिक्छ तिम्रो
यौटासँग ग¥यौ नृत्य अर्को फसायौ
गर्छौ काम जो धूर्त बेठिक छ तिम्रो
ढाक्यौ झ्याल पर्दा लगायौ नसामा
सस्तो हुन्छ माया कहाँ बिक्छ तिम्रो
चर्चा गर्न थाल्यौ स्वयम् घात गर्दै
कसले पो अहम् जात सिक्छ तिम्रो
होला फैसला के बुझेनौ तिमीले
मुद्दा लाम लागेको तारिक छ तिम्रो ।
गजल -१३
कुशलनाथ योगी
गर्दै सोह्रशृङ्गार आएर के भो
अन्धाको अगाडि लजाएर के भो
मनमा पाप तिम्रो नराम्रो छ चिन्तन
गङ्गाको जलैले नुहाएर के भो
जाऊ दूर मन छैन अनुहार हेर्न
आई सामु घुम्टो हटाएर के भो
आफू भेट्न कहिल्यै यहीँ आउँदैनौ
बाडुल्की हजारौँ पठाएर के भो
बाँच्दै छौँ नदीका किनारा बनेर
आखिर प्रेम चोखो लगाएर के भो ।
गजल -१४
मिलनकुमार ढुङ्गाना
मान्छेभित्र पर्याप्त ईर्ष्याहरू छन्
ज्यादै नै नगन्य शुभेच्छाहरू छन्
अल्छी गर्छ जसले कुनै काम गर्न
सुन्दै छौँ उसैका बहानाहरू छन्
कानुनको नियमको छ राम्रै व्यवस्था
आँखा छल्न खप्पिस लुटेराहरू छन्
माला बोकी भ्रष्ट पुग्यो राजधानी
मानौँ माथि उसका विधाताहरू छन्
सत्ताधारी भन्छन् भए काम धेरै
जनताका अनेकौँ गुनासाहरू छन् ।
बहरः घनु
अर्कानः मफ्ऊलातु फैलुन् फऊलुन् फऊलुन्
वजनः २२२१ २२ १२२ १२२
वि.सं.२०८० चैत ३० शुक्रवार १४:४४ मा प्रकाशित






























