महोत्तरी । आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन् । पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन् ।
किसानलाई मटिहानी नगरपालिका र हेफर प्रजेक्टको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले सोमबार डाले घाँसको बीउ वितरण गरेको हो । विभिन्न समूहमा आबद्ध महिला किसानलाई जनही मेनदोला-५५०, बकाइनो-१५० र भटमासे-१२० ग्राम दिइएको परियोजना संयोजक महेश यादवले बताए । डाले घाँसको बीउ मटिहानी नगरक्षेत्रका २०० बढी महिला किसानले पाएका छन् ।
आफ्नै घरआगनमा पोसिलो घाँसको बीउ पाएपछि अब पशुबस्तुका लागि घाँस खोज्न चिन्ता हराएको बीउ लिएका महिला बताउँछन् । “प्रतिकूल मौसममा पनि घाँस काट्नुपथ्र्यो” मटिहानी-२ की पशुपालक किसान विमला खत्वे भन्नुहुन्छ, “अब आफ्नो घर नजिकको बारीमा घाँस हुर्काएपछि निकै सजिलो हुनेछ ।” खत्वेजस्तै मटिहानी–३ की ललितादेवी मण्डल र मटिहानी–९ की बच्चीदेवी साफीले पनि घरपालुवा पशुबस्तुलाई आफ्नै बारीमा उत्पादित पोसिलो घाँस ख्वाउन पाइने बताइन् । मटिहानीमा विभिन्न समूहमा आबद्ध महिला किसानले परियोजनाको सहयोगमा उन्नत जातका बाख्रा र कोरली पाल्दै आएका छन् ।
महिला किसानलाई आय आर्जनमा उत्प्रेरित गर्न यो परियोजनाले सघाउ पु¥याएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउँछन् । पशुपालनमा लागेपछि उनीहरू आर्थिक रूपमा आत्मनिर्भर भएका छन् । मटिहानी नगरपालिकाले बर्सेनि कृषिलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । विगत पाँच वर्षदेखि बर्सेनि मौसमअनुसारका फलफूल, तरकारी र अन्नका बीउबिरुवासँगै प्रविधिक सहयोग पनि प्रदान हुँदै नगरप्रमुख मण्डलले बताइन् । पछिल्लो समयमा परियोजनाको सहयोगले हौसिएका नगरका महिला बाख्रा, कोरली पालनमा जुटेका छन् । “हामी अब आफै केही गर्न सक्ने भयौँजस्तो लागेको छ” मटिहानी-२ की पशुपालक किसान सुजिता यादव भन्छिन्, “परियोजनाले हामीलाई आत्मनिर्भर बनाउँदैछ ।’’
यसैगरी सोमबार नै परियोजनाले सातवटा महिला सहकारी संस्थालाई अभिलेख राख्न सहयोग पुग्ने उद्देश्यले ल्यापटप, प्रिन्टरसहितका सामग्री प्रदान गरेको छ । महिला सहकारीलाई उत्पादित फलपूmल र तरकारी सुरक्षित राख्न र बजारसम्म पु¥याउन ‘क्यारेट’ पनि उपलब्ध भएको छ ।
रासस
वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:५९ मा प्रकाशित






























