आ; कोजान्छ यार क्याम्पस ? क्लास पनि हुँदैन पूरा ! खास मान्छे गाउँ गए कि छे फेरि ! बोरिङ हुन्छ यार ! म जान्न ! तर कर गर्यो सुभासले क्याम्पस जान । प्राक्टिकल कामको छलफल गर्नु छ; जाउ भन्यो । गए उसको लागि क्याम्पस म !
अत्यन्त मेहनत गरेर प्राक्टिकल काम गर्यो सुभासले । फिल्डमा तथ्यांक संकलन गर्न गयौ हामी ! सुभास, म, रुचि र बनिता ! ४ जना ! सुभासलाई बनिता र मेरो बारे थाथ्यो । पढ्ने बेला भौतारिएर नहिड् भन्थ्यो । गाली गर्थ्यो । एक कानले सुनेर अर्को कानले उडाई दिन्थे म उसका कुरा । तथ्यांक संकलन भन्दा पनि रमाईलोको लागि उनिसग घुम्नु मेरो उद्धेश्य थ्यो । अरु बेला घुम्न जादा पनि हराई दिन्थ्यौ हामी ! बनिता संसारकै सुन्दरी लाग्थ्यो मलाई । हुन पनि कम्तिकी राम्री थिईन ! उ बिनाको दुनियाँ कल्पनै गर्दैन्थे म । रुचि र सुभासलाई आपत पर्थ्यो रे ! दुबै रिसाउथे हामीसँग !
तथ्यांक संकलन पछि रिपोर्ट बन्यो हाम्रो । काम सबै जसो सुभासले गर्यो । जो पायो त्यहिसँग हेलमेल नगर्ने बानी थियो सुभासको । पढाई भने हाम्रो ग्रुपमा उसैको राम्रो ! सरहरुले भने राम्रोसँग चिन्नु हुन्थेन उसलाई ! सरकारी क्याम्पसमा त्यस्तै हो । इन्टोभर्ट टाईपको मान्छे थियो उ ।
प्राक्टिकलको भाईवा डेट फिक्स भो । भाईबाको अघिल्लो दिन अचानक सरलाई बाटोमा भेटे मैले ! सर चिया खाउ ? अनुरोध गरे मैले ! हतार छ भन्नू भो । कर गरे मैले ! मान्नु भो सरले । होटल पस्यौ नजिकैको !
कहानी रहेछ सरको पनि ! पार्ट टाईमै बित्यो जिन्दगी ! १५ बर्षसम्म पार्ट टाईम !! सरले भन्नू भो त्यही दिन । नत्र यस्ता कुरा हामी विद्यार्थीलाई के थाहा ? थाहै हुन्न । जिन्दगी पार्ट टाईमै बित्यो भनेर गुनासो गर्नु भो मसँग । बिचरो म बबुरो के गर्न सक्थे र ? सेवा आयोगले नियमित काम गर्न नसक्दा धेरै सरहरुको हालत उस्तै छरे !! सर निराश देखिनु भो !!
सर के खाउ ? चिया ? चिसो वा अरु केही ? अन्कनाउनु भो ! साझको बेला थ्यो मैले हातको इसारामा एक …..भने ! खानेर भन्नू भो ! आ ! सर केहि हुन्न कर गरे मैले । मेरो जिद्दीमा सर हार खानु भो ।
तान्दे मैले पनि ! बेलुकाको सात बज्यो । ल्याङ भएको नाटक गरे तर ल्याङ थिईन म ! प्राईभेट कलेजबाट हो क्यारे फोन आयो । सर कता हो ? आज क्लास हुन्न कि क्या हो ? अनलाइनमा विद्यार्थी कुरी बसेका छन् ।
बोली लर्बरियो ! बल्ल तल्ल भन्नु भो ! ‘अलि सन्चो भएन’। फोन गर्नेले था पायो पाएन याद भएन मलाई । बिल तिरे मैले ! इन्ड्राईभ बोलाए । बल्ल बल्ल पुर्याई डेरा । डेरा भने चिन्नु भो ! गेटैमा छोड्दे मैले । पसिन भित्र !
रातै पर्यो ! हतार हतार कोठा पुगे म । खानाको चक्कर छोडिदिए । सरलाई साथ दिदा रमरम थिए म पनि । बेड्मा पल्टेको भुसुक्कै ।
भाईवाको डेट थियो भोलिपल्ट ! बनिता र मसगै क्याम्पस पुग्यौ । तर बनितासग तर्किन खोजे त्यो दिन । सास गनाएको था पाई भने गाली गर्छे भन्ने लाग्यो । अलि मापाकी छे त्यो । आम्ने साम्ने नै पुग्न खोजिनँ । मेरो व्यबहार देखेर अनौठो मानी त्यो दिन ! सुभास र रुचि पनि आए । सुभास बाहेक अरु डराए । के सोध्नु हुने हो ? भन है सुभास ! तिम्रै भर हो । अरु हामी सबै हाउडे तालमा !
भाईवा हुने कोठामा पुग्यौ हामी ! सरले मतिर हेर्नू भो । रुघा लाग्न लाग्यो भनेर माक्स लाईदे मैले ! हास्नु भो मुसुक्क सर । अघिल्लो दिनको याद आयो क्या रे ! नमस्कार गर्यौ सबैले । बस्न सङ्केत गर्नु भो सरले । बस्यौ हामी ! सोध्न शुरु गर्नु भो । अन्कनाए म । भन्न सकिनँ ! रुचि, र बनिताले भन्न खोजे; तर सकेनन प्रष्ट भन्न ! सुभासले भन्यो । उ नै थियो समुहको लिडर !
बित्दै गयो समय ! चार हामी घनिष्ट साथी बन्यौ । रुचि सुभासलाई मन पराउछे रे । एकदिन बनिताले भनेकी थिई मलाई । सुभासले भने बालै दिदैन रे ! गुनासो थियो उसको !
रिजल्ट आयो १२ महिनापछि बल्ल ! ३ जना हामी पास ! बनितालाई ब्याक लाग्यो । सम्झाए मैले धेरै ! परिक्षामा फेल भए पनि तिमीसगै छु् म पनि भने ! सम्झाए उनलाई । झन बढ्यो घनिष्टता ! प्राक्टिकल नम्बर सबैभन्दा बढी मेरो आयो । सुभास रिसायो । दुख गर्ने र काम गर्ने म ! नम्बर तेरो बढी ! गुनासो गर्यो मसग ! विद्यार्थीले सरहरुलाई धम्क्याएर बढी नम्बर हाल्न लगाएको ! कामै नगरी नम्बर हाल्न लगाएको सुनेको थिए । म दुबै परिन क्यारे ! गमे मनमनै ! गुनासो सरसँग पनि गर्यो सुभासले ! बाह्य परिक्षकलाई देखाउनु भो दोष । उम्कनु भो ! मैले भने होटलमा सरसँगको त्यो साझ सम्झे ! सुभासलाई भने कहिल्यै भनिनँ यो कुरा ! सबै आत्मा खोल्ने सुभासलाई आजसम्म पनि त्यो कुरा गोप्य राखे ! गल्ती थियो वा सहि ? अहिलेसम्म था भएन ।
वि.सं.२०८१ असार २२ शनिवार ०७:२२ मा प्रकाशित





























