उत्तम विचार, नुवाकोट
रैछ धागो यही वा सियो के भनूँ
जिन्दगी यत्नमा अल्झियो के भनूँ ।
फल्छ अमृत भनी रोपियो रोप्न त
विष फुल्यो वृक्षमा हुर्कियो के भनूँ ।
दिन्छ न्यानो भनी जिन्दगीभर कुरेँ
साँझको घामझैँ टाढियो के भनूँ ।
लाग्छ सानै छ जो बालबच्चा सरी
हुर्कियो जिन्दगी मातियो के भनूँ ।
जिन्दगी दुःखको देशमा हुर्कियो
चोट पर्याय नैँ भैदियो के भनूँ ।
बहर : मुतदारिक मुसम्मन सालिम
अर्कान : फ़ाइलुन, फ़ाइलुन, फ़ाइलुन, फ़ाइलुन
वजन : २१२, २१२, २१२, २१२
वि.सं.२०८१ असार २९ शनिवार ०८:४१ मा प्रकाशित






























