स्वर्ण शिखा, दाङ
नरोऊ तिमी अश्रु–गङ्गा बगाई
गरी याद भक्कानिँदै पितृलाई ।
भए दाह संस्कारका पूर्ण काम
जल्यो देह बाँकी रह्यो पुण्य नाम ।।१
भयो पूर्ण यौटा कथा जिन्दगीको
जलेको दियो निभ्छ साँचो यही हो ।
निभेको छ बत्ती बगेको छ सोला
गरी शोक रोएर फर्किन्न चोला ।।२
तिमी बाँच्नलाई छ सिङ्गो समाज
अझै छन् बचेका निकै कामकाज ।
यही शोकलाई बनाएर ज्वाला
पु¥याऊ अँधेरा कुनामा उज्याला ।।३
छ संसार बाँकी बचेको अगाडि
दुखी छौ तिमी व्यर्थ हेर्दै पछाडि ।
यहीँ गर्न बाँकी छ कर्तव्य तिम्रो
नयाँ भेट्नुपर्ने छ गन्तव्य तिम्रो ।।४
अझै भिर्न बाँकी गह्रुङ्गो छ भारी
अझै जोस गर्दै छ नौलो तयारी ।
अझै पर्खिँदै लक्ष्य छन् पूर्ण बन्न
अझै छन् तिमीले समस्या निखन्न ।।५
ढल्यो आत्मको देह कारा ठिकै हो
हुने आखिरीमा सबैको त्यही हो ।
तिमीमात्र बेग्लै कहाँ छौ धरामा
तिमीझैँ सबै छन् अनेकौँ धरामा ।।६
भए लोक नौलो छ पक्कै तिलस्मी
त्यहीँ घामको झन् सुनौलो छ रश्मि ।
बिदा यो धराबाट जो छन् भएका
निसन्देह जम्मै त्यहीँ छन् गएका ।।७
नयाँ देहको वस्त्र लाएर बस्छन्
त्यहाँ ती असाध्यै रमाएर बस्छन् ।
थियो चाह जे त्यो पुगेकै छ के भो
तिमी अश्रु झार्दै बस्यौ अर्थ के भो ।।८
तिमी ओठ मुस्कानले फुल्न देऊ
सबै वेदना नेत्रले भुल्न देऊ ।
भुलोस् दृष्य मस्तिष्कले दुःखदायी
भनी काम देऊ नयाँ चित्तलाई ।।९
छन्द : भुजङ्गप्रयात
गण : य य य य
सङ्केत : lSS lSS lSS lSS
वि.सं.२०८१ असार २९ शनिवार ०८:३६ मा प्रकाशित






























