काठमाडौँ । मानिसहरू यो संसारमा जन्मन्छन् र आफ्नो राष्ट्रका लागि केही विशेष योगदान दिन्छन् । उनीहरूले आफ्नो सम्पूर्ण जीवन मातृभूमिको सेवामा समर्पित गर्छन् र कहिल्यै विलासी जीवनको अपेक्षा गर्दैनन् । यस्ता महान व्यक्तित्वहरूमध्ये एक हुनुहुन्थ्यो पुष्पलाल श्रेष्ठ, जसले आफ्नो जीवनभर देश र जनताको सेवा गरे । उनका लागि देश र जनताको स्वतन्त्रता, लोकतन्त्र र प्रजातन्त्र नै सबैथोक थियो । उनले कहिल्यै घाम, पानी, सुख र आफ्नो परिवारको कुरा गर्नुभएन । उनको यस्तै बलिदानको कारणबाट आज उनलाई नेपाली राजनीतिमा एक महान व्यक्तित्वको रूपमा लिने गर्दछौँ । उनको त्याग र समर्पण आज पनि सबैका लागि प्रेरणाको स्रोत बनिरहेको छ ।
विसं २००७ को क्रान्तिकालमा त्रिपक्षीय दिल्ली सम्झौताविरूद्ध पुष्पलालले नेतृत्व गर्नुभई राष्ट्रीयताको पक्षमा सङ्घर्ष चलाए । त्यो सङ्घर्षले नेपालमा कम्युनिष्ट आन्दोलनका लागि पर्याप्त सहयोग पुर्यो । नेपाली कम्युनिष्ट राजनीतिमा उनको उपस्थिति र भूमिकाले नै नेपालमा कम्युनिष्ट पार्टी स्थापना र उक्त सङ्गठन विस्तारका लागि उत्प्रेरकको भूमिका निर्वाह भएको थियो । माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे । यसका संस्थापक सदस्यहरूमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठ आदि थिए । पुष्पलालले नेपालमा कम्युनिष्ट विचारधाराको व्यापक प्रचार–प्रसार गर्न कार्ल माक्र्स र फेडरिक एंगेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणा-पत्र’ नेपाली भाषामा अनुवाद गरे । सो घोषणा पत्र माक्र्सवादी विचारको नेपाली भाषामा पहिलो साहित्य हो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रमाथि ‘कू’ गरेपछि भारत निर्वासित भएका थिए । निर्वासनकै क्रममा उन गम्भीर रूपमा विरामी हुनुभयो । उपचारकै क्रममा २०३५ साउन ७ गते भारतस्थित नयाँ दिल्लीमा उनको निधन भयो । नेपालका कम्युनिष्ट र नेपाली काङ्गे्रस मिलेर संयुक्तरूपमा जनआन्दोलन गरेमा नेपालमा प्रजातन्त्रको बहाली हुन्छ भन्ने उनको विचार थियो । पुष्पलालको नेतृत्वको क्षमता अतुलनीय थियो भन्ने बुझिन्छ । त्यतिबेलाको नेपाली समाजमा एउटा उदाउँदो चम्किलो नेताको रूपमा आफ्नो छवि स्थापना गरेका थिए । उनमा सशक्त नेतृत्वदायी क्षमता थियो । उनी समाज परिवर्तनको प्रवर्तक थिए । उनले राणा विरोधी आन्दोलन, प्रजातान्त्रिक सुधार र निरंकुश शासनको अन्तका लागि सशक्त नेतृत्व गरेका थिए । आज पनि पुष्पलालको विचारलाई विश्लेषण गरेर भन्ने हो भने नेपालका कम्युनिष्ट र नेपाली काङ्ग्रेस दुवै मिलेर जनताको भावना अनुरूपको समृद्ध नेपाल निर्माण गर्न अगाडि बढ्ने हो भने मुलुकले निश्चय नै विकासको ठूलो फड्को मार्नेछ । देश समृद्ध हुनेछ र नेपाली जनता सुखी हुनेछन् ।
पुष्पलालका विचार र सिद्धान्तले नेपालको राजनीतिक बहसलाई आज पनि निरन्तर प्रभाव पारिरहेको छ । अबको नेपाली जनताको मुक्तिमार्ग पुष्पलालको सिद्धान्त र नीतिबाहेक अर्को विकल्प छँदैछैन । आगामी पुस्ता र राजनीतिककर्मीहरू लागि सामाजिक परिवर्तन र प्रगतिको दिशामा अग्रगतिमा बढ्न चाहनेहरूले पुष्पलालको सिद्धान्त र नीतिलाई प्रेरणा तथा मार्गदर्शनको स्रोतको रूपमा लिनु अत्यावश्यक छ । समग्रमा नेपालको राजनीतिक र वैचारिक परिदृश्यमा पुष्पलालको योगदान गहिरो र दूरगामी छ । उनले नेपाली समाजमा पूर्ण प्रजातान्त्रिक (जनवाद) मूल्य र मान्यताको स्थापना र सामाजिक न्यायका लागि जीवनभर आन्दोलनमा होमिए । उनी जहिले पनि श्रमिको हित र विशेष गरेर समाजको पिछडिएको वर्गको हितको बारेमा सोच्थेँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्यहरूमध्ये एक र समाजवादी सिद्धान्तहरूको प्रखर अधिवक्ताको रूपमा, पुष्पलालले सामाजिक कल्याण, आर्थिक समानता र श्रमिक वर्गको अधिकारको वरिपरि केन्द्रीत राजनीतिक बहसका लागि आधार तयार पारेका थिए । श्रमिकवर्गको अधिकार र सामाजिक न्यायमा केन्द्रीत उनको प्रारम्भिक सक्रियताले निष्पक्ष र समतामूलक समाज खोज्ने धेरै नेपालीको आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित भएको थियो ।
आफ्ना समकालीन नेताहरूभन्दा फरक पुष्पलाल राजनीतिक कर्महरूमा मात्र सीमित भएनन् । उनले नेपाली समाजको अध्ययन गर्ने, नेपाली इतिहासलाई माक्र्सवादी-भौतिकवादी दृष्टिकोणले केलाउने र त्यसको आधारमा नेपाली क्रान्तिको कार्यक्रम तय गर्ने ऐतिहासिक जिम्मेवारी वहन गरे । नेपाली समाजको विश्लेषणको क्रममा पुष्पलाल नेपाली समाज अर्धसामन्ती र अर्ध–औपनिवेशिक रहेको निष्कर्षमा पुगेका थिए । २०२५ को तेस्रो सम्मेलनबाट नयाँ जनवादी कार्यक्रम पारित गर्दा उनी दीर्घकालीन सशस्त्र किसान क्रान्ति संघर्षमार्फत् नयाँ जनवाद स्थापना गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।
यसबाहेक, पुष्पलालको प्रभाव राजनीतिक आन्दोलनहरूमा प्रत्यक्ष संलग्नताका साथै दार्शनिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत नेपाली समाजमा वर्गहरूको स्थिति विश्लेषण माक्र्सवादी चिन्तनको आधारमा गरेका थिए । समाजवाद र नेपालको राजनीतिक परिदृश्यमा लेखिएका लेखहरूसहित उनका बौद्धिक योगदानले युवा कार्यकर्ता र बुद्धिजीवीहरूका लागि मार्गदर्शन गर्ने कार्य गरेको थियो र आज पनि गरिरहेको छ । उनले छाडेको विचारधारा आज पनि उत्तिकै सान्दर्भिक र समसामयिक छ । आजको सन्दर्भमा पुष्पलालको विरासत जीवित र सान्दर्भिक छ । लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक कल्याण र आर्थिक समानताका लागि उनको वकालतले नेपालमा वामपन्थी राजनीतिक दलहरूको नीति र प्राथमिकताहरूलाई आकार दिन ठूलो टेवा पुर्याएको छ । सामाजिक न्याय, समावेशी विकास र लोकतान्त्रिक शासन व्यवस्थाका लागि चलिरहेको आन्दोलनमा उनको स्थायी छाप कहिले पनि मेटिने छैन ।
पुष्पलालको जीवन र योगदानलाई हेर्दा, हामीलाई एक सच्चा देशभक्तको परिभाषा थाहा हुन्छ । उनले आफ्नो सम्पूर्ण जीवन राष्ट्र र जनताको हितमा समर्पित गरे, स्वतन्त्रता र लोकतन्त्रका लागि अनवरत सङ्घर्ष गरे । उनको योगदानले नेपाली राजनीतिमा महत्वपूर्ण परिवर्तनहरू ल्यायो र आज पनि उनको सम्झना प्रेरणादायी छ । आज नेपाली जनताले पुष्पलालको योगदानलाई सम्झन थालेका छन् । उनका विचारहरूलाई चिन्तन–मनन गर्न थालेका छन् । पुष्पलाल श्रेष्ठले सिकाएको सन्देश स्पष्ट छ-आफ्नो मातृभूमिका लागि निरन्तर सेवा र त्याग गर्नुपर्छ । उनको जीवनीबाट हामीले राष्ट्रिय एकता, स्वतन्त्रता र जनताको अधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्छ भन्ने शिक्षा लिन सक्छौं । यसरी, कमरेड पुष्पलाल आफ्नो योगदानले नेपाली समाजमा एक अटल प्रेरणाको स्रोतको रूपमा रहेका छन् । पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिले नेपालमा सामन्ती राजतन्त्रको अन्त्य हुन पुगेको कुरा सबैले महसुस गरेकै हो । उनको योगदानले नेपालको राजनीतिक र सामाजिक संरचनामा अमिट छाप छोडेको छ । उनको विरासतले अझ न्यायपूर्ण, समतामूलक र पूर्ण प्रजातान्त्रिक (जनवाद) समाजका लागि चलिरहेको सङ्घर्षमा एउटा ठूलो कोषेढुंगाको रूपमा कार्य गरेको छ; जसले वर्तमान र भावी पुस्ताहरूलाई आफ्नो जीवनभरि एउटा प्रेरणादायक भूमिका निभाउन र पुष्पलाल देखाएको मार्गमा हिड्न सङ्घर्ष गर्दै अगाडि बढ्ने प्रेरक बनोस् ।
संक्षेपमा, पुष्पलालको सिद्धान्त, विचार र उनले देखाएको मार्गदर्शनमा आज हामी हिडिरहेका छौंँ या छैनौंँ आत्मलोचना गर्ने बेला आएको छ । कतै उनले देखाएको मार्गलाई बिर्सेर, बिलासितामा रमाउँदै, देश र जनताको आवश्यकतालाई पन्छाएर, आफ्ना बाचाहरू भूलेर ठूला–ठूला महल, महङ्गा गाडी र देश–विदेश शयर गर्ने त भएका छैनौं ? देशमा ठूला-ठूला आन्दोलन भए, राजतन्त्रको बिदाई भयो, देशमा गणतन्त्र आयो तर पनि जनताका समस्या जहाँको त्यहीँ हुनु, युवाहरू विदेसिनु पर्ने वा पलायन हुनुपर्ने अवस्था रहिरहनुपर्ने हो भने निश्चय पनि हामी पुष्पलालले देखाएको मार्गबाट विचलित भएका छौं भन्दा सायद गलत नहोला ।
२०४६ साल र २०६२/६३ को जनआन्दोलनमा जनताले किन र कसका लागि बलिदान दिए, शहीद भए, हजारौँ मानिस घरवारबिहिन भए, लाखौं मानिस विदेश पलायन भए ! यदि अझै पनि यसको लेखाजोखा नगर्ने, सत्ताको हानथापमा मात्र समय बर्बाद गर्ने हो भने, अनि आमजनताका मुद्दालाई थाँती राखेर नेताहरूले आफू र आफ्नाहरूको बारेमा मात्र सोच्ने हो भने पुष्पलाल, मदन भण्डारी र शहीदका आँशुले पिरोल्नेछ । मुलुक र राष्ट्रियतामाथि विदेशीको आँखा लाग्न नपाओस् । मुलुकको नेतृत्व गर्ने मानिसहरूमा राजनीतिक संस्कार, शिक्षा अध्ययन-अध्यापन पनि हुन सकोस् । यिनै विषयहरूलाई स्मरण गर्दै अगाडि बढ्ने बाचा गर्याे भने पुष्पलालको स्मृति दिवसको सार्थक हुनसक्छ । (लेखक वामपन्थी बुद्धिजीवी हुन्)
वि.सं.२०८१ साउन ७ सोमवार १६:४७ मा प्रकाशित





























