Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रचण्डको ४० वर्षको सक्रिय जीवन, अबको बाटो के ?



himlal-pandey

माओका रेड बुकका पानाहरु पल्टाउँदै गर्दा प्रचण्डको मनमा एउटा हुटहुटी जाग्थ्यो– नेपालमा पनि यस्तै गर्न पाए । दुःखी, निमुखा गरीब जनताको पक्षमा क्रान्ति गर्न पाए ।

यही हुटहुटीले चौथो महाधिवेशनमा प्रचण्डको तिख्खर आवाजमा प्रस्तुत हुन पुगे । उनीभन्दा राजनीतिकरुपमा निकै सिनियर मोहनबिक्रमदेखि निर्मल लामाहरुका अगाडि ३५ वर्ष पनि नकटेको युवाले क्रान्तिका कुरा गर्दा नेतृत्वलाई अपाच्य हुनु स्वभाविकै थियो । निर्मल लामाहरु उदारवादी क्रान्तिकारी व्यवहार देखाउँथे । पञ्चायती चुनाव पनि उपयोग गर्नुपर्ने अडानसहित । यता प्रचण्डहरु रेडबुकबाट प्रभावित थिए । क्रान्तिकारी साहित्यका पात्रहरुमा कता कता आफूलाई उभ्याउँथे ।

चौथो महाधिवेशन फुट्यो । मोहनबिक्रम र प्रचण्ड बैद्यहरु एउटा पार्टीमा लागे । तर त्यो पनि बढी टिकेन । शास्त्रीयतावादी मोहनबिक्रमसँग प्रचण्डहरु सहमत हुन सकेनन् । अध्ययनका दृष्टिले र अनुभवका आधारमा मोहनबिक्रमहरु अगाडि थिए, भावना र जोशका हिसाबले प्रचण्डहरु । युवा वयको जोश, केही गर्ने हुटहुटी । हुँदाहुँदै २०४२ तिर उनीहरु मोहनबिक्रमका किताबी क्रान्तिको प्रयोगशालाबाट अलग भए र मोटो मशाल अन्तर्गत नयाँ जनवादी क्रान्तिको रुपरेखा कोर्न शुरु गरे ।

यो क्रम २०५२ सम्म चल्यो । त्यो बीचमा अहिले प्रचण्डसँगै रहेका नारायणकाजीहरु अलग भए । उनीहरुले पनि क्रान्तिमा होमिने साहस राखेनन् । पुस्तकमा, लेख रचनामा उनीहरुले क्रान्तिका शब्द निकै खर्चिए । तर व्यवहारमा क्रान्तिको जोखिमपूर्ण बाटो उनीहरुले पनि पहिल्याउने आँट गरेनन् । वैद्य थिए, प्रचण्ड थिए, बाबुराम थिए मोहनबिक्रमलाई छोडेर आएका । एउटा सानो समूह । बाबुरामले आफूलाई चे ठान्थे ।

यो सानो समूह एकता केन्द्रबाट अलग भएर २०५२ फागुन १ गते युद्धमा होमियो । त्यो निर्णय एउटा भावना र केही नगरी हुन्न भन्ने आँटका साथ शुरु भएको थियो । यसको मुख्य नेतृत्व थिए प्रचण्ड । मुख्य आँट उनकै थियो । उमेरका हिसाबले मुश्किलले ४० कटेका थिए त्यतिबेला प्रचण्ड । ४० वर्षमा एउटा भीषण युद्दको नेतृत्व गर्ने आँट गरेका थिए प्रचण्डले । यो चानचुने कुरा थिएन । ठीक अहिले उत्तर कोरियाका ३५ नकटेका राष्ट्रपतिले अमेरिकालाई थर्काएजस्तै । प्रचण्डको नेतृत्वको युद्धले समते नेपाल मात्रै होइन अमेरिकाको सिआइएदेखि भारतको ‘र’ सम्मलाई थर्कमान बनाएको थियो ।

युद्ध नयाँ अनुभव थियो प्रचण्डका लागि । रेडबुकदेखि सैन्य रचनासम्मका कुराहरुलाई नेपालको बस्तुगत धरातलका आधारमा सञ्चालन गर्नुपर्ने । तीनतिरबाट भारतसँग घेरिएको, अन्तर्राष्ट्रिय अवस्था प्रतिकूल भएको, आन्तरिकरुपमा सत्तापक्षीय राजा, एमाले र कांग्रेसहरुबीच त्यतिसारो अन्तरविरोध नचुलिएको अवस्था, सानो आकारको संगठन । कैयन् चुनौती थिए । तर प्रचण्डको नेतृत्व, आँट र साहसले शान्तिप्रक्रियासम्म आइपुग्दा माओवादी एउटा प्रमुख र प्रभावकारी शक्तिका रुपमा उदय भयो । प्रचण्डको नेतृत्व देशका लागि अपरिहार्य हुने अवस्था भयो ।

त्यतिबेला गिरिजाप्रसाद कोइराला राजनीतिक मियोका रुपमा स्थापित थियो । एमालेको भूमिका ढुलमुले थियो । उसको आफ्नो एजेण्डा केही थिएन । राजतन्त्र फाल्ने कुरामा समेत एमाले अग्रगामी थिएन । बरु राजतन्त्र स्वीकार्दै आएको कांग्रेसले समेत प्रचण्ड नेतृत्वले अगाडि सारेको नारालाई स्वीकार गरेर राजतन्त्र हटाउने निर्णय गरिसकेको थियो । अन्ततः २०५२ सालको युद्धको एउटा पहिलो उपलब्धिका रुपमा राजतन्त्र समाप्त भयो । युद्धकालमा कैयन गल्ती भए, एउटा ठूलो मानवीय क्षति भयो । प्रचण्डहरुले त्यसलाई निरन्तरता दिन सकेनन् । युद्ध सम्झौतामा रुपान्तरित भयो । क्रान्तिकारी माक्र्सवादी दृष्टिले यो ठीक थिएन । तर, बस्तुगत परिस्थितिका आधारमा हेर्दा यो एउटा उत्तम विकल्प थियो त्यतिखेर । र, यसले कम्तीमा नेपाली जनताको प्रधान अन्तरविरोध रहेको सामन्तवादको केन्द्रलाई जरैदेखि उखेल्न सफल भयो । यदि प्रचण्ड नेतृत्वमा युद्ध हुँदैनथ्यो भने नेपालमा राजतन्त्र यति चाँडै ढल्ने कल्पना पनि गर्न सकिने थिएन ।

त्यसपछिका दिनमा संसदीय राजनीति शुरु भयो । संसदीय राजनीतिको अनुभव नभएका प्रचण्डहरु । पहिलोपटक सरकारमा जाँदा संसदीय राजनीतिका दाऊपेच प्रयोग गर्न सकेनन् उनले । यसको परिणाम दोश्रो संविधान सभाको चुनावमा देखियो । प्रचण्डहरु तेश्रो स्थानमा झरे पहिलोबाट । तर राजनीतिकरुपमा यो संख्याले खासै अर्थ राखेन । पहिलो संविधान सभाले संविधान जन्माउन सकेको थिएन । प्रचण्डका अगाडि आफ्ना एजेण्डालाई संस्थागत गर्ने, धर्म निरपेक्षता, समावेशी समानुपातिक राज्य संरचना निर्माण गर्ने, सिंहदरबारको शक्ति गाउँमा विकेन्द्रीत गर्ने र द्वन्द्वकाललाई एउटा निक्र्यौलमा पुर्याउन संविधानको निर्माण र कार्यान्वयन अनिवार्य शर्त थियो । आफू तेश्रो स्थानमा भएपनि उनको भूमिका त्यसपछि पहिलो स्थानको पार्टी नेतृत्वको जस्तै भयो ।

गिरिजाप्रसाद कोइरालाको अवसानपछि प्रचण्डले त्यही राजनीतिक मियोको भूमिका खेले । एमालेको भूमिका त्यो रहेन न त हुनसक्थ्यो नै । नेपाली कांग्रेसभित्र सुशिल कोइरालाले सहयोगी भूमिका निर्वाह गरे । प्रचण्ड प्राथमिक भूमिकामा थिए । ३३ दलको आन्दोलन छोडेर १६ बुँदे सहमतिसँगै उनले संविधान जारी गर्न एउटा अहम् भूमिका निर्वाह गरे । यो प्रचण्डको राजनीतिक जीवनको एउटा मुख्य सफलता थियो ।

संविधान निर्माणदेखि अहिलेसम्म आउँदा प्रचण्डका थुप्रै बिरोधी भए, थुप्रै समर्थक जोडिए । आफ्नै टाढा भए, टाढा भएकाहरुनजिक भए । राजनीतिकरुपमा यति धेरै उतारचढाव सम्भवतः नेपाली राजनीतिको कुनै पनि नेताले भोग्नु परेन होला । यति जटिलता, यति आलोचना, यति समर्थन, यति चर्चा, यति सक्रियता । ४० वर्ष निरन्तर सक्रियता सामान्य हुन सक्दैन कसैको जीवनमा ।

यो निरन्तर सक्रियताको परिणामस्वरुप नै अहिले पहिलोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचन सम्पन्न हुन त्यति सजिलो थिएन । सत्ता सम्हालेदेखि नै प्रचण्डको बिरोधमा निरन्तर एउटा अभियान सञ्चालन भएको थियो । उनले गरेका हरेक कामहरु आलोचित थिए । उनले जति राम्रा काम गर्न खोजेपनि त्यसलाई बदनाम गर्ने, अपब्याख्या गर्ने कामहरु भएका थिए । तर तथ्य र तर्कका अगाडि यी आलोचनाहरु मत्थर हुँदै गए । एमालेहरुले एक हप्ताअघिसम्म पनि चुनाव गर्न नसक्ने भनेर सरकारलाई गाली गरिरहेका थिए । तर चुनाव अन्ततः भयो । शान्तिपूर्णरुपमा भयो । सबैले स्वीकार गरेर भयो । कुनै हिंसा भएन । ७३ प्रतिशत जनताले मतदान गरे ।यो एउटा ऐतिहासिक निर्वाचन थियो ।

यो अर्थमा प्रचण्डको राजनीतिक जीवन सफल देखिएको छ । निर्वाचनको परिणामले प्रचण्डको कदलाई प्रभावित गर्न सक्दैन । भनिहाले, उनी पहिलो हुन या चौथो, नेपालको राजनीति पछिल्लो २० वर्षमा प्रचण्डको वरिपरि घुमेको छ । उनले हुर्काएको माओवादी स्कूलिङको वरिपरि घुमेको छ । उनका एजेण्डाहरुको वरिपरि घुमेको छ । बीचमा केही मोडहरुमा प्रचण्डले गल्ती गरे, आफ्नैहरुले धोका दिए । चिरा चिरामा पुग्यो उनको यो माओवादी स्कूल । तर पनि विचलित नभइकन उनले नेतृत्वदायी भूमिका निर्वाह गरे, देशको एउटा जिम्मेवार नेतृत्वका रुपमा ।

एकातिर मधेसी मोर्चाको आन्दोलन, अर्कोतर्फ प्रमुख प्रतिपक्षीको निरन्तरको आलोचना र असन्तुष्टि । अर्कोतिर नेपाली जनतामा आम जनजीविकाका अपेक्षाहरु । पार्टी निर्माण हुन नसकेको अवस्था । यी सबै चुनौती झेल्दै उनले एउटा सम्मानजनक अवस्थामा पार्टीलाई उभ्याए । जनताका बीचमा केही ऐतिहासिकरुपमा नै गणना गर्न मिल्ने कामहरु अघि बढाए ।निर्वाचनको माहौल तयार गरे । संविधानको सर्वस्वीकार्यताको जग बसाले । चीन र भारत दुबैसँग समदूरीमा सम्बन्धको नयाँ मियो बनाउन सफल भए । सरकार सञ्चालन गर्दा कतिपय कोणबाट आम दुखी गरिबका लागि विशेष र उल्लेख गर्न नसकिएपनि यसले उनीहरुका पक्षमा, लोककल्याणकारी राज्यका पक्षमा आधार खडा गर्ने काम भने उनले गर्न सफल भए ।

प्रचण्डले केही अन्तर्वार्तामा भनेका छन्– माओवादी स्कूलिङ नै नेपालको राजनीतिक परिवर्तनको मुख्य संवाहक हो । हरेक कालखण्डमा यसले नै नेपाली राजनीतिको गतिलाई धक्का दिने गरेको छ । अहिले निर्वाचनको परिणामको मुखमा आइपुग्दा प्रचण्डको यो भनाई सफल देखिएको छ । समाजको पीँधमा रहेकाहरुका मुद्दा सतहमा देखिएका छन् । वर्षौंदेखिको जड नेपाली सामन्तवादी समाजमा उथलपुथल मच्चिएको छ र यसले निकास खोजिरहेको छ । यो निकास अब भने सामाजिक समतासहितको आर्थिक समृद्धिमा लुकेको छ ।

सैद्धान्तिकरुपमा हेर्दा एकअर्थमा माओवादी जनयुद्द सम्झौतामा टुंगिएर असफल भएको हो । तर विश्वका अन्य असफल क्रान्तिपछि क्रान्तिकारी कि पुरै सिद्दिएका छन्, कि पुरै रुपान्तरित भएका छन् । नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ माओवादी क्रान्तिले पूर्णता हासिल गर्न नसकेपछि क्रान्तिकारी एजेण्डाहरुलाई स्थापित गर्न सफल भएको छ । नेतृत्व पुरै समर्पणवादी भएको छैन । जनताको आन्दोलनमा पुरै धोका भएको छैन । कम्तीमा राजतन्त्र ढल्नु र संविधानमार्फत सामान्तवादलाई टिकाइराख्ने एकात्मक, धर्मसापेक्ष राज्यको अन्त्य हुनु यो क्रान्तिको उपलब्धि हो । यस्तो विश्वका अन्य देशमा देख्न पाइन्न । यो अर्थमा पनि प्रचण्डको नेतृत्वलाई जस दिनुपर्ने कतिपयले बताउने गरेका छन् ।

अहिले निर्वाचनको परिणाममा प्रचण्ड नेतृत्वको पार्टीले दोश्रो संविधानसभा भन्दा राम्रो मत प्राप्त गरेको छ । कतिपय अवस्थामा उनको पार्टीको पक्षमा लहर चल्न सकेन । यसका पछाडि कैयन् आन्तरिक र बाह्य कारणहरु होलान् । तर पनि निर्वाचन सफल हुनु, देशमा संविधान कार्यान्वयन हुनु, आर्थिक समृद्धिको आधार तयार हुनु, आर्थिक बृद्धि र सुसासनको अनुभूति हुनु नै प्रचण्ड नेतृत्वको सफलता हो । उनको ४० वर्षीय राजनीतिको सफलता हो ।

घुमाउरो बाटो भएपनि अबको बाँकी १० वर्ष प्रचण्डले फेरी २०५२ का पुरा हुन नसकेको एजेण्डाहरुतर्फ फर्किन सके, आम गरीब निमुखा जनताका पक्षमा राज्यसत्तालाई उपयोग गर्न लोककल्याणकारी राज्यको जग बसाल्न सके, सर्वाहारा अधिनायकत्व सम्भव नभएपनि लोककल्याणकारी समाजवादी राज्य निर्माणका लागि योगदान दिन सके उनी पूर्णरुपमा सफल राजनीतिज्ञ हुनेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै