रामशरण न्यौपाने, भक्तपुर
आफू वृद्ध हुँदै गए दिनदिनै बाबा र आमाहरू
उम्दा देह मकाउँदै छ अझ झन् बन्दै सुकेको तरु
लागी रोग अनेक भोलि थलिँदा को दिन्छ पानी बरा !
को पो रम्छ बधू र पुत्र तनया जाँदा विदेशी धरा ?।।१
सम्झी नित्य रसाउँछन् नजरमा वर्षादका निर्झरी
आन्द्रो भर्न विजोग हुन्छ सहसा त्यो भात पानीगरी
बाँझो बस्दछ काम गर्न नसकी गैह्री र टारी गरा
को पो रम्छ बधू र पुत्र तनया जाँदा विदेशी धरा ?।।२
आशा मर्दछ एक आपस मिठो माया दया पाउने
पर्दा सङ्कट हुन्न एक छिन नै आधार भेट्टाउने
गल्दै जान्छ शरीर नै दिनदिनै पस्दा बिमारी जरा
को पो रम्छ बधू र पुत्र तनया जाँदा विदेशी धरा?।।३
रोजै जान्न सकिन्न बात मनमा सन्चो बिसन्चो उता
आफू जान्छु कि बस्छु हुन्छ छिनमै पर्दा बिरामी यता
आए झैँ घर छेउ लाग्दछ सधैँ सन्देश बोकी चरा
को पो रम्छ बधू र पुत्र तनया जाँदा विदेशी धरा?।।४
संस्कारी हुनुपर्छ सभ्य नरले हाँकी गृहस्थी रथ
खेताला जसरी खटी पर सधैँ सुध्रिन्छ के आगत
पुग्छन् को हिमशैलमाथि सहजै फड्को नमारी दह्रा
को पो रम्छ बधू र पुत्र तनया जाँदा विदेशी धरा?।।५
छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : SSS llS lSl llS SSl SSl S
छन्द : शार्दूलविक्रीडित
वि.सं.२०८१ साउन २६ शनिवार ०८:२७ मा प्रकाशित






























