back
CTIZAN AD

पाल्पामा थपिए ९७ उद्योग

वि.सं.२०८१ साउन ३२ शुक्रवार

921 

shares

रामपुर (पाल्पा) । पाल्पामा आर्थिक वर्ष २०८०/८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक आठ, कृषि तथा पशुपालन ४४, पर्यटन ३०, सेवासम्बन्धी १५ गरी ९७ वटा उद्योग दर्ता भएका हुन् ।

दर्ता भएका उद्योगमध्ये ‘प्राइभेट फार्म’ ९३ र साझेदारी फार्म चारवटा छन् । गतवर्ष ४३ महिला र ६० पुरुष गरी एक सय तीन जना उद्यमी थपिएका छन् । एक सय ८० महिला र दुई सय २७ पुरुष गरी चार सय सात जनालाई रोजगारी सिर्जना भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

एक वर्षमा कार्यालयमा दर्ता भएका उद्योगमा रु २१ करोड ९८ लाख बराबरको पुँजी लगानी र सो उद्योगबाट रु १५ लाख ६४ हजार पाँच सय बराबरको कुल राजश्व प्राप्त भएको उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए । उनका अनुसार गत आवमा चार सय ८३ उद्योगको नविकरण, एक सय ७७ उद्योगको लगत कट्टा, ८९ उद्योग पुँजी वृद्धि, ३३ उद्योगले प्रतिलिपि लिएको, तीनवटा उद्देश्य थप तथा परिवर्तन, नौ वटा नामसारी तथा ठाउँसारी गरिएको छ ।

कार्यालय स्थापनादेखि हालसम्म जिल्लामा तीन हजार आठ सय १७ उद्योग दर्ता भएका थिए । जसमध्ये उत्पादनमूलक छ सय पाँच, कृषि तथा पशुपालनसम्बन्धी एक हजार तीन सय ६८, पर्यटनसम्बन्धी एक हजार ३३ छन् ।

सोही आवमा वाणिज्य फार्म ९१ वटा दर्ता भएका छन् । जसमध्ये किराना र खाद्यान्नसम्बन्धी २७, हार्डवयर आठ, फेन्सी तथा कपडा १४, कस्मेटिक तथा जुत्ता १०, मदिरा तथा सुर्तिजन्य चार, भाँडाकुँडा तथा एलपि ग्याँससम्बन्धी दुई, कृषिसम्बन्धी दुई, सुनचाँदी चार, फर्निचर र फर्निसिङ्ग दुई, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स छ र अन्य १२ रहेका छन् । दर्ता भएका यी वाणिज्य फार्ममा रु १८ करोड १२ लाख बराबरको कुल पुँजी लगानी रहेको छ भने रु २१ लाख ३६ हजार सात सय कुल राजश्व प्राप्त भएको छ ।

गत आर्थिक वर्षमा छ सय ८९ वटा वाणिज्य फार्म नविकरण, एक सय ८६ लगतकट्टा, एक सय ५० पुँजी वृद्धि, ५१ वटा प्रतिलिपि, उद्देश्य थप र परिवर्तन २६, नामसारी र ठाउँसारी १० वटा रहेका छन् । गत आर्थिक वर्ष सम्ममा दर्ता भइ सञ्चालनमा रहेका फार्मको सङ्ख्या चार हजार तीन सय ३३ रहेका छन् । उद्योगतर्फ तीन हजार आठ सय १७ गरी कुल आठ हजार एक सय ५० फार्म रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७९÷८० मा एक सय ४३ उद्योग खारेज भएका थिए । उद्योगतर्फ एक सय ४३ र वाणिज्यतर्फ एक सय ९४ फर्म खारेज भएका हुन् । आव २०७८÷०७९ मा एक सय ८८ उद्योग र दुई सय ३९ फार्म खारेजी भएका थिए ।

जिल्लामा उद्योग व्यवसायदर्ता गर्ने भन्दा खारेजी गर्नेको सङ्ख्या बढ्दै गएको छ । रु पाँच लाखसम्मको लगानीका उद्योग तथा व्यवसाय दर्ताको अधिकार स्थानीय तहलाई भएकाले व्यवसायीले घरेलु तथा साना उद्योग कार्यालयमा बन्द गरेर स्थानीय तहमा दर्ता गर्ने गरेका छन् ।

कृषि तथा पशुपालनमूलक, पर्यटन उद्योग बढी मात्रामा खारेजी भएका छन् । आर्थिक मन्दीलगायत कारणले उद्योग व्यवसाय खारेजी भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्दा साधारण नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने दलित, महिला र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुट सुविधा उपलब्ध छ ।

प्रदेश सरकारले जारी गरेको कानुन बमोजिम रु पाँच लाख भन्दा कम पुँजीलगानी भएका उद्योग तथा वाणिज्य फार्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा दर्ता भई सञ्चालनमा आएका उद्योग, व्यवसाय लगत कट्टा गरिन थालिएको हो । कार्यालयले सम्बन्धित उद्योगी, व्यवसायीलाई दोहोरो करको मारमा नपरुन् भनी जानकारी गराउँदै आएको छ ।

घरेलु कार्यालयसँग लघु, घरेलु तथा साना उद्योग मात्र दर्ता गर्न पाउने अधिकार छ । रु दश करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, दश करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला र २५ करोडदेखि माथिकालाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ । दश करोड माथिका पुँजी भएमा उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ ।

 

वि.सं.२०८१ साउन ३२ शुक्रवार १२:१४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...