back
CTIZAN AD

कविता : मित्र

वि.सं.२०८१ भदौ १५ शनिवार

1K 

shares

महेश श्रेष्ठ, धरान
तिम्रो वैभवताको महल ठड्याउन
खनिएका जगहरुमा
भेटिएका कंकालहरु
मेरा पुर्खाहरुको हो
तिमीले त वेवारिसे लास सम्झिएछौ
घोचीघोची दुर्गन्धित बनाएछौ
मटितेल छर्केर जलाएछौ
तिमीलाई थाहा हुनु पथ्र्यो
उनीहरु एक मुठी प्राण रहँदासम्म लडेका थिए
उनीहरु माटो जोगाउदा शहीद भएका थिए,

मित्र
तिम्रो वैभवताको महल रंगाउन
मेरा पुर्खाको कला, संस्कृतिमा
मेरा पुर्खाको सभ्यतामा
तिमी लुटुपुटु भएर हुर्केका थियौ
तिमी लडिबुडी गरेर बढेका थियौं
तिमीले फेर्ने प्रत्येक श्वासमा
मेरा पुर्खाले रोपेको प्राणवायु संचारित छ
तिमीले पिउने प्रत्येक थोपामा
मेरा पुर्खाले जोगाएको प्राणजल प्रवाहित छ
तिम्रो भोजनको प्रत्येक गाँसमा
मेरा पुर्खाको रगतपसिना सिंचित छ
तिम्रो वैभव महल र तिम्रो सुकोमल शरिरमा
मेरा पुर्खाको त्याग र बलिदान छ.

मित्र
तिमीले थाहा पाउनु पर्ने हो
तिम्रो महल र वैभव ठडिएको स्थानमा
तिमी गर्वका साथ उभिएको जमीनमा
उहिले उहिले त्यहाँ हिंस्रक जिवजन्तु घुम्थे
उहिले उहिले त्यहाँ मान्छे खाने किराहरु उड्थे
उहिले उहिले त्यहाँ मान्छेले मान्छे खान्थे
उहिले उहिले त्यहाँ जंगलामुलुक हुन्थे.

मित्र
आदिम ईतिहास पल्टाएर हेर
मेरा पुर्खाले त्यहीं दर्शन ढुंगा ठोकेर आगो बाल्यो
मेरा पुर्खाले त्यहीं ढुंगे हतियारको प्रादुर्भाव गर्यो
माटो खनेर हेर
मेरा पुर्खाको हाडखोर
हिंस्रक जिवजन्तुसंगै दबिएको छ
मेरा पुर्खाको रगत पसिना
झरना र नदीहरुमा अझै बगिरहेको छ.

मेरा पुर्खाको छातीभरी
बाघले दारेका
भालुले कोतरेका
अजिंगरले टोकेका
हात्तीले पछारेका
मेरा पुर्खाको हाडखोरभरी अझै चोट र दागहरु छन्
मेरो पुर्खाको चोटहरु अझै दुख्छन मभित्र पीडा भएर
मेरो पुर्खाको आक्रोस अझै बल्झन्छन्
मभित्र भतभती पोल्ने आगो भएर .

मित्र
त्यति मात्रै होईन
मेरा पुर्खाले माटो जोगाउन
तरवार चाटेको
गर्दन काटेको
कानो, नकटो
खरण्डो, अन्धो
आदि आदि भएर
माटोको सीमा भरी
मेरा पुर्खा चटान भएर गाडिएका थिए
मेरा पुर्खा निष्ठाका पहाड भएर उभिएका थिए.

तर
तिम्रो युगमा
ईतिहास हुन नसकेका
ती त्याग र बलिदानका कथाहरु
अझै ती चोटका पीडाहरु
मभित्र चहराउछन्
अझै ती दागहरु
मेरा शरिरभरी भेटिन्छन्
अझै ती घातहरु
मेरा मस्तिष्कभरी दुख्छन्
ती न्याय नपाएका मेरा पुर्खाहरु
अझै मभित्र युगौं युगदेखि जीवित छन्.

मित्र
म महाभारत दोह¥याउन चाहान्न
म भत्काउन चाहान्न तिम्रो वैभवताको महल
म टुक्राउन चाहान्न तिम्रो धड्किने कोमल हृदय
तिम्रो वैभवताको महलमुनि समाधिस्थ
मेरा पुर्खाको ईतिहास लेखिदिए पुग्छ
तिम्रो वैभवताको महलले दबाएको माटोमा
मेरा पुर्खाको बलिदान सम्झिदिए पुग्छ
मेरा पुर्खा सम्झन
मलाई अलिकति ठाउँ दिएपुग्छ
मलाई मेरा पुर्खाको सम्मान दिए पुग्छ.

मित्र
धुप दीप बालेर नमन गर्दै
मेरा माटोमा गर्वले उभिन
मेरो पुर्खाको त्याग र बलिदान सम्झदै
श्रद्धाका अक्षरहरु कोरेर अपर्ण गर्न
म अत्यन्तै लालायित छु
मेरा माटोमा पुर्खाहरुको श्रद्धा गर्न
म यतिखेर तिमीसंग
पाँच पाण्डवले जस्तै
मात्रै पाँच गाऊँ मागी रहेको छु
हो, म महाभारत दोह¥याउन चाहान्न
तिम्रो टुप्पी समाउदै गरेको दृश्य
सम्प्रेषण नहोस् रगतको आहालबाट ।

 

वि.सं.२०८१ भदौ १५ शनिवार ०५:२० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...