आज राति निद खलबलियो । असहज भो, धेरै कुरा खेले मनमा । मिना जी संग दिउसो नै कुरो खोल्छ्ु भन्दा बिर्सेछु । तर आज दर खाने दिन बिहानै उनलाई सुनाए । ‘ती छोरी रुंदै रुंदै कहा पुगि होलिन’ । गरिवीका समस्या सुनाउदा मिनाजीलाई त्यति रमाईलो लाग्दैन । नभनेर पो के गरु, उनलाई थोरै भने अनि, लेख्न पनि मन लाग्यो ।
हिजो अर्थात् २०८१ भाद्र १९ का दिन मध्यान्ह तिर एअरपोर्ट नजिकै संचारग्रामको सुचना बिभागबाट प्रेस कार्ड नविकरण गरेर चक्रपथको बसमा ओम अस्पताल चावहिल तर्फ जादै थिए । मेरो मध्यभागको सिटका ठिक अगाडी एक महिला सुंकसुक गर्दै थिइन । यसो हेरे, उनको सिटसंगै एक अधबैशे बुढा पनि थिए । रुने महिलाको स्वरले मलाई मात्र होईन, अरुलाई पनि तानेकै थियो । उनी सकभर स्वर दवाउन कोशिस गरेको पनि देखिन्थ्यो तर उनको आवाजले मलाई उनको हुलिया जान्न र समस्या थाहा पाउन घच्घचायो ।
ठिक त्यसैबेला उनको मोवाईलमा घण्टि आयो । उताबाट आवाज थियो । ‘कहाँ आईपुगिस’ उनको रुदै उत्तर गयो ‘म गौशालाबाट यता लाग्दैछु, माछापोखरी’ । किन रोएको पैसा भएन र फेरी उनले उत्तर दिइन, मसँग ७०० थियो हिजो कहाँं हराएछु । रामदाईले १ हजार दिन्छु भनेर वचन दियो, अहिले मोवाईल नै उठाएन । उमा दिदीले पनि ५०० रुपियाँ ट्रान्सफर गर्दिन्छु भनेको अहिले मोवाईल अफ छ । मसंँग १०० रुपिया मात्र छ आमा । कसरी आउने, यता छोरी रुदैगर्दा उता आमाको सूकसुक पनि सुनिन्थ्यो । आमाले भनिन् ‘मेरो मोवाईलटी पैसो पठाउन जान्दिन । खोई कसरी कसलाई भन्नु, स्वयम्भुको कारखानाचोकमा सानोमामाको छोरो बच्चे थियो ।’ आमा छोरीका बिचमा यस्तै कुरा चल्दै थियो । म मौन रहन सकिन । १८, १९ को उमेर देखिने उनलाई ‘ भन ,छोरी समस्या के हो, उनले जवाफ दिईनन् । संगै सिटमा रहेका अर्का ब्यक्तिले भने ‘भोलि तिजको दरखान गाउ जान खोजेकी, पैसो रहेनछ नानीसँग ।’
मैले फेरी भने ‘छोरी, मसंग गोजीमा ५०० रहेछ, लौ लिए । पुगेन भने गाडि चढेपछि ड्राइृभर वा कण्डक्टरलाई भन । मेरो नम्बर लैजाउ । मानेनन भने म उनीहरुलाई ट्रान्सफर गर्दिउला ।’ उनी रुदै प्रतिवाद गरीन् ‘नचिनेका लोग्नेमान्छेसंग पैसा लिन्न भन्दै ठाडो जवाफ उनको आयो । पल्लो सीटका दुई दिदीबहिनीले भनेपछि मान्छीन की भन्ने सोचेर उनीहरुलाई अनुरोध के गरेको थिए । उनीहरु नसुनेको झै गरे । ती नानी आशुबाट मुक्त थिईनन् तर म ओम अस्पताल काटेर उता जान सकिन । कमलो मन मेरो, अस्पतालको शौचालय पुग्दासम्म धेरै कुरा खेलाए । देश, परीवर्तन, हाम्रो संस्कृति र अवस्था गम्दै उमा दिदीको मोबाईल खोलीएर वा कार्खानाचोक पुगेर नानीलाई घर पुग्ने पैसा आएको होस भन्ने कल्पना गरे । तीजले हाम्रो समाजमा पारेको गहिरो प्रभाव, रसुवा घर बताउने उनी जसरी पनि घर जाने चाहना, आमाका बाध्यता, मजदुरी गर्ने अन्य आफन्तका आफनै पीडा, सबै पुरुषहरुलाई नकरात्मक ठान्ने सोचाई र तीजले तन्काएको लर्कोका वरीपरी ती छोरीको स्मरण गर्दैछु ।
तीजका नाउमा पार्टी प्यालेस बुक, रेष्टुरेण्टहरुको भीड, तारेहोटलको जमघटलाई अहिले हामी संस्कृतिकै पाटोको रुपमा बुझेका छौ । भड्किलो तीजः कति संस्कृति ? कति विकृति भनेर हामीले बर्षौदेखि बहश गरेपनि त्यसलाई समाज बिकास र परीवर्तनको लागी चेतना संप्रेषणको माध्यम बनाउन सफल भएनौ । हिजो परिवर्तनको नेतृत्व गरेका भन्ने अहिलेका केहि पैसावालहरुले तीजको भ्रष्टिकरण गर्दा आफैलाई उदेक लागेर आएको छ । तीजमा अनावश्यक हाउभाउ, भडकाव मात्र होईन पारीवारीक र सामुदायिक सभ्यता नाघ्रने अराजकताहरु देखा परेका छन । स्वतन्त्रताका नाममा बढेका ब्यक्तिगत अराजकताका पराकाष्ठाहरुले टीम र समुहमा समेत समस्या पैदा भएका छन ।
साडी र चोली लाउँदिन मत जवानी छेकिन्छ ।
छोटो छोटो कपडा लगाउँदा क्या सेक्सी देखिन्छ ।
यो भन्दा उरेन्ठेउला गीत बढेका छन अहिले । तीजका गीत भन्दै पुरुष नाचेको देख्दा महिलाहरुको महान चाड भनिँदै आएको तीज पर्व अब पुरुषहरुको लागि मनोरञ्जनको गजबको अवसर बन्दै गएको छ । तीजको बहानामा महिला दिदीबहिनीहरुको बीचमा हिरो भएर नाँच्न पाइने हुँदा पुरुषलाई पनि यो पर्व उत्सब नै बनेको छ । तीजको नाचगान आफ्ना संगीसँग, दिदीबहिनीसँग हुनु पर्ने हो तर आजकलका तीज गीत रत्यौली भन्दा उच्छृंखल छन । तीजका गीत भनेर निकालिएका यस्ता गीत र भिडियोले तीज पर्वको उपहास मात्र गरेको छैन, तीज पर्वको स्वत्व र संस्कृति माथि ठूलो प्रहार गरेको छ । यस्ता गीत र भिडियो हेर्दा यस्तो लाग्छ, हिजो विभिन्न बन्धनमा राखिएका महिलाहरु आज बिस्तारै स्वतन्त्र हुन पाउँदा बाँधेर राखेको साँढे फुत्किएको झैँ भएका छन् ।
छाडा गीत र नृत्यहरुको हाकाहाकी प्रतिस्पर्धाहरु भएका छन । स्वतन्त्रताका नाममा यौन उन्मत्ता ब्यक्त गर्न र छाडापनको सुसेली हाल्न अहिले तीज कुर्न पर्दैन । डे क्लव र नाईट क्लव मात्रै होईन, आण्टी र च्याण्टी क्लवहरु खोलेरै रमाईलो गर्न पाईएकै छ । त्यसैले अलिकति बुझेका मानिसहरुले तीजको गरीमा बचाउन तीजलाई तीजमात्रै हुन दिउ ।
अहिले समाजको सचेत समुह गंभिर बन्न जरुरी छ । तीजकै गीतको लयमा “हे बुढी तीज आयो टिभी खोल त, कलाकारले कस्ता गित गाए होला त ?, अहिलेका नयाँले त जस्ता पनि गाउने, परिवारसँग बसेर हेर्नै लाज लाउने ।” पशुपति शर्माले केहि बर्ष पहिले यो मर्म बोलेका थिए । हुन पनि उनले भने झैँ टेलिभिजनमा बजेका तीजका गीत परिवारसँगै बसेर हेर्न नसकिने खालका छन् । छाडा यस्ता गीतहरुले तीज संस्कृतिलाई विकृतितर्फ धकेलिरहेको छ ।
निश्चय पनि तीज पुरातन मात्र हुनुहुदैन । गीत, संगीतका लयहरु समाजका घटना बिशेषमा लक्षित हुने गर्दथे । घर परिवार र समाजका उत्पीडन गीत बनेर आउदथे । तर अहिेले बिकृति र बिसंगति चिर्न तिज चाहिएको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका प्रश्न झन पेचिलो बनेका छन । महगी बढेको छ । बालिकाहरुलाई बलत्कार गर्ने यौनपिपासुको संख्या अहिले पनि बढेकै छ । गरीव मानिसको तीजलाई पीडाले पोलेको छ । नेपालमै उत्पादन हुनसक्ने दुध, दहि, तरकारी, फलफुल माछामासुमा खरबौको ब्यापारघाटा बढेकै छ ।
अनि तीजको दरखाने अघिल्लो दिन बाटाखर्च नभएर नानीहरु रुन परेकै छ ।
वि.सं.२०८१ भदौ २० बिहीवार ०७:५३ मा प्रकाशित





























