कञ्चनपुर । कञ्चनपुरको झलारी बजार छेउको सडकमा बसेर फाटेका जुत्ता, चप्पल सिउने, चम्काउने काम गर्दै आएका ६६ वर्षीय डम्बर सार्कीको दुई दशक बितेको छ । सार्कीेको जुत्ता चप्पल सिउने पुख्र्यौली पेसा भएकाले यही पेसाबाट भएको कमाइले जीविकोपार्जन हुँदै आएको छ ।
नगर प्रहरीले बस्दै आएको ठाउँबाट हटाउन थालेपछि उनलाई पेसा जोगाउन सास्ती हन थालेको हो । नगर प्रहरीले जुत्ता चप्पल सिउने सामग्री जफत गरेर लगेपछि उनी जस्तै छजना सार्की समुदायका व्यक्तिको जीविकोपार्जनमा समस्या हुन थालेको छ ।
“वर्षौँदेखि सडक छेउमा बसेर जुत्ता चप्पल सिउँदै आएका हौँ”, डम्बरले भने, “कहिल्यै कसैले हटनुपर्छ भनेन्, एकाएक आएको नगर प्रहरीले सिउने सामानसहित दिनभरको कमाइ रु आठ सय कमिजको खल्तीमा थियो, गर्मी भएकाले कमिज खोलेर सिउने सामानसँग राखेको थिएँ ।” सोही कमाइबाट चामल, दाल र तरकारी किन्ने योजना रहेको बताउँदै रकम लगेपछि भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको उनले दुःखेसो पोखे ।
काम गर्ने सामान जफत गरेर लगेपछि रोजीरोटी खोसिएको डम्बरको भनाइ छ । डम्बर जस्तै जुत्ताचप्पल सिउने कार्यमा संलग्न कमले सार्कीको पनि सामान नगर प्रहरीले लगेको छ ।
सामानसँगै रु दुई हजार र ग्राहकले सिउन दिएका तीन जोर जुत्ताचप्पल पनि जफत गरेर लगेको कमलेले बताए । “ग्राहकले सिउन भनेर दिएका समान लगेपछि कहाँबाट उपलब्ध गराउने भन्ने पिरलो छ”, उनले भने, “दैनिक जुत्ता चप्पल सिलाइबाट भएको कमाइले परिवारको दुई छाक टर्छ, ग्राहकको सामान दिनुपर्छ, दिन नसके पैसा दिनुपर्छ, कहाँबाट ल्याउने ।”
पुर्खौँदेखि यही पेसा अगाल्दै आएको बताउँदै धनबहादुर सार्कीले अरु काम गर्ने सीप नहुँदा यसलाई निरन्तरता दिइएको उल्लेख गरे । “यसरी सामान लगेर हामीलाई जीविकोपार्जनमा समस्या भयो, हाम्रो रोजीरोटी खोसियो”, उनले भने ।
सडक छेउमा बस्न नदिने भए व्यवस्थित स्थान तोकि सोही अनुसारको व्यवस्था स्थनीय सरकारले गर्नुपर्ने धर्मे सार्कीले माग गरे । “यसरी हामीलाई कामबाट बञ्जित गर्न हुदैन । निश्चित स्थान तोकेर सहज रुपमा काम गर्न पाउने वातावरण बनाउनु स्थानीय सरकारको दायित्व हो”, उनले भने ।
झलारी बजारका बासिन्दा जयबहादुर ऐरले सडक छेउमा बोरा बिछ्याएर जुत्ता सिलाइ गर्ने बृद्ध सार्की समुदायका व्यक्तिले कमाएको रकम र जफत गरिएको सामान नगरपालिकाले फिर्ता गर्नुपर्ने माग गरे ।
“दैनिक काम गरेर जीविकोपार्जन गर्ने समुदायको काम गर्ने सीप खोसिएको छ, नगरपालिकाले निश्चित ठाउँको व्यवस्था गरी जफत गरिएका सामान फिर्ता दिएर काम गर्ने वातावरण बनाउनु पर्छ”, उनले भने । नगरपालिकाले उहाँहरुको व्यवसायलाई आधुनिकीरण गरी बजार क्षेत्रमा स्थान छुट्ट्याएर काम गर्ने वातावरण कायम गर्नुपर्ने ऐरले उल्लेख गरे ।
वर्षौँदेखि झलारी बजारमा जुत्ता सिउने, चम्काउने कार्यमा संलग्न सार्की समुदायका व्यक्तिको रोजीरोटीको वैकल्पिक व्यवस्था नगरी जफत गर्ने कार्य मानव हधिकार विपरित भएको दलित अधिकारकर्मी सिबी लुहारले बताए । “समाजमा पछाडी पारिएका परिवारको चुलो बन्द गर्न पाइँदैन”, उनले भने, “नगर प्रमुखलाई भेटेर यसबारे छलफल गर्छौँ, जफत गरिएका सामान र नगद रकम फिर्ता गरी उनीहरुको दैनिकी सहज बनाउन सहजीकरण गर्नेछौँ ।”
नगर प्रवक्ता लालबहादुर ऐरले जफत गरिएका सामान फिर्ता गर्न आवश्यक छलफल गरी पहल गर्ने बताए । “रोजीरोटी कसैको खोसिनु हुदैन, वैकल्पिक कुन ठाउँमा बस्न दिने भन्नेबारे छलफल गरी समन्वय गर्नेछौँ”, उनले भने, “सडकको क्षेत्राधिकार पनि मिच्नु हुदैन ।”
वि.सं.२०८१ भदौ २७ बिहीवार १४:३० मा प्रकाशित






























