काठमाडौं । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये दुई विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले निर्माण गरेका उक्त पुस्तकालय भवनहरुमा पुस्तकालय समुद्घाटन गरिएको छ ।
बैंकद्वारा कोशी प्रदेशको बुद्धशान्ती गाउँपालिका-२ झापामा रहेको श्री आदर्श माध्यमिक विद्यालय रे गौरीगञ्ज गाउँपालिका-३मा रहेको श्री गौरीगञ्ज माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेका पुस्तकालय भवनमा यही असोज ४ गते स्थानीय तह, विद्यालय र बैंकका प्रतिनिधिहरुको उपस्थितिमा पुस्तकालय समुद्घाटन गरिएको बैंकले जनाएको छ ।
श्री आदर्श माध्यमिक विद्यालयको पुस्तकालय समुद्घाटन समारोहमा बुद्धशान्ती गाउँपालिकाका अध्यक्ष मनोज प्रसाँई र श्री गौरीगञ्ज माध्यमिक विद्यालयको पुस्तकालय समुद्घाटनमा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलबती राजवंशीको उपस्थिति रहेको थियो भने उक्त दुवै कार्यक्रममा यस बैंकका कोशीप्रदेश प्रमुख दिवाकर भट्टराई र सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
बैंकका अनुसार यी पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका करिब दुई हजार पाँच सय विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यस अघि बैंकले सुदूरपश्चिम प्रदेशको जोशीपुर गाउँपालिका-१ कैलालीमा रहेको श्री मोहन्याल माध्यमिक विद्यालयमा निर्माण गरेको पुस्तकालयको समुद्घाटन भइसकेको छ ।
त्यसैगरी, मधेश प्रदेशको भगवानपुर गाउँपालिका-१ सिराहामा रहेको श्री बाला सुन्दरी माध्यमिक विद्यालय र पर्सा स्थित वीरगञ्ज महानगरपालिका-१४मा रहेको श्री सिद्धार्थ माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहु स्थित बन्दिपुर गाउँपालिका-१ मा रहेको श्री पवित्रा माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको सियारी गाउँपालिका-४ रुपन्देहीमा रहेको श्री पब्लिक सेकेन्डरी स्कुल र बाग्मति प्रदेशको चितवन स्थित राप्ती नगरपालिका-७मा रहेको श्री विरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिसकेको बैंकले जनाएको छ ।
बैंकले यी पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल रू. दुई करोड पाँच लाख ३० हजार बजेट विनियोजन गरेको जनाएको छ । बैंकका अनुसार यी पुस्तकालय भवनहरु निर्माण पछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
वि.सं.२०८१ असोज १० बिहीवार १२:३५ मा प्रकाशित






























