back
CTIZAN AD

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

वि.सं.२०८१ असोज २३ बुधवार

1.2K 

shares

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ ।

इतिहासकार दिनेशराज पन्तले फूलपाती भित्र्याउने चलन मुख्यगरी राजामहाराजाको विजयी अभियानसँग सम्बन्धित रहेको बताए । “खेतीपाती, वर्षा र हिलोमैलो सम्पन्न भएको, जनतासमेत सबै किसिमले फुर्सद भएका अवस्थामा राजामहाराजाले गर्ने विजयी यात्रासँग फूलपाती जोडिएको छ”, उनले भने ।

फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ । गोपाल वंशदेखि नै फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ । नेपालको प्राचीन राज्य गोरखा दरबारमा पनि तत्कालीन राजा राम शाहले धादिङको सल्ल्यानटार विजय गरेपश्चात् त्यहाँबाट फूलपाती भित्र्याउने प्रचलन रहेको अभिलेखमा पाइन्छ ।

विसं १८२५ मा पृथ्वी नारायण शाहले काठमाडौँमा विजय गरेपछि काठमाडौँलाई राजधानी तोकियो । काठमाडौँबाट शासन सुरु भएपछि पृथ्वीनारायण शाहले गोरखाको भगवतीलाई हनुमान ढोकामा पनि स्थापना गरेका थिए । गोरखाबाट शाही पवित्रताका प्रतीक स्वरूप फूलपाती काठमाडौँको हनुमानढोका दरबारमा ल्याइने परम्परा सुरु गरिएको मानिन्छ ।

गोरखामा तयार गरिएका फूलपाती सप्तमीका दिनमा पैदल मार्गबाट काठमाडौँ ल्याइने प्रचलन रहे तापनि दूरी, भौगोलिक कठिनाइलगायत विभिन्न समस्याका कारण २०औँ शताब्दीको मध्यतिरबाट काठमाडौँ लैजान रोकियो । विभिन्न समस्याका कारण गोरखाबाट फूलपाती ल्याउन नसक्ने भएपछि नवपत्रिकाका बिरुवालाई काठमाडौँबाट करिब ३० किमी पश्चिममा रहेको धादिङको छत्रे देउरालीमा सारियो ।

विसं २०३७ मा गोरखा पृथ्वी राजमार्गसँग जोडिएर सडक सुविधा भएपछि इतिहास, परम्परा र संस्कृतिको जगेर्ना गर्न गोरखाका स्थानीय बासिन्दा तथा सरोकारवालाको पहलमा विसं २०४० को दशकबाट पुनः गोरखाबाट फूलपाती गाडीमार्फत हनुमानढोका ल्याउन थालियो ।

गोरखादेखि धादिङको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित हनुमान ढोका दरबार हेरचाह अड्डाबाट मगर जातिका छ र शार्दूल जङ्ग गुल्म (गुर्जु पल्टन) बाट दुई मगर पुजारी सहभागी भई ल्याउने प्रचलन छ । जीवनपुरदेखि काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छजनाले ल्याउने परम्परा रहिआएको छ । शार्दूल जङ्ग गुल्मबाट गुल्मपतिको ‘कमान्ड’मा बाजागाजासहित ‘इन्फिल्ड नाल’बाट सलामी दिई जमलबाट हनुमान ढोकासम्म ल्याउने गरिन्छ ।

उक्त फूलपाती भित्र्याउने कार्यमा निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जु पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्यान्डबाजा, पञ्चेबाजा, नेपाल ‘क्याभ्लरी’बाट घोडा, स्थानीय निकायका पदाधिकारीको उपस्थितिमा सिङ्गारिएका कल्स्यौडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याई हनुमान ढोकास्थित नासाल चोकमा विधिपूर्वक दसैँ घरमा फूलपाती भित्र्याइन्छ ।

सेनाको सहभागितामा टुँडिखेलमा फूलपाती बढाइँ
सैनिक मञ्च टुँडिखेलमा हुने फूलपाती बढाइँ कार्यक्रममा मल्लकालीन अवस्थादेखि नै नेपाली सेनाको सहभागिता रहँदै आइरहेको छ । फूलपातीको दिनमा नेपाली सेनाका विभिन्न युनिटबाट फौजहरू खटी बाजागाजासहित नाचगानका साथसाथै सांस्कृतिक कार्यक्रम गरी बढाइँ दिई लावालस्करसहित उक्त पर्व धूमधामका साथ मनाउने गरेको पाइन्छ ।

राज्यकालीन अवस्थादेखि मगर पुजारी, बाजागाजासहित शार्दूल जङ्ग गुल्म (गुर्जु पल्टन) तथा नेपाली सेनाका अन्य युनिट सबयुनिट प्रत्यक्ष रूपमा सहभागी भई ऐतिहासिक फूलपाती भित्र्याउने कार्यले राष्ट्रिय पर्व संवर्द्धन र प्रवद्र्धनमा ठूलो भूमिका देखिँदै आएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसी बताउँछन् । सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ सकिएलगत्तै अत्यावश्यक बाहेकका जनशक्तिलाई दसैँको छुट्टी दिने परम्परा छ । रासस

 

वि.सं.२०८१ असोज २३ बुधवार १४:४३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...