मनीषकुमार शर्मा ‘समित’
मध्यपुर, थिमी
शिक्षक –।कोठामा दुई शिक्षिकाहरू गफमा व्यस्त थिए । एकले अर्कीलाई गुनासो पोखिरहेकी थिइन्– ‘हेर्नुस् न मेडम त्यो प्रिन्सिपलले जहिले पनि मेरो छातीमा गिद्धे नजर लगाइ रहन्छ ।’
अचानक मेरो प्रवेशले उनीहरूको चुप भइ एक अर्काको मुख हेर्न थाले ।
‘के हो मेडमहरू म आउने बित्तिकै चुप हुनु भयो कतै मेरो कुरा काट्नु भएको त हैन ?’, कुर्सीमा बस्दै मैले मौन स्थितिलाई चिर्ने कोसिस गरें ।
दुबैको अनुहार अलि रातोपिरो भयो । मैले थप दबाब दिन चाहिन । स्कुलको घण्टीले अर्को कक्षामा जाने निर्देश गर्यो । म उठ्नै लाग्दा एक शिक्षिकाको बोली फुट्यो , ‘सर एउटा कुरा सोधुँ है ?’
मैले हुन्छ भन्ने भावमा टाउको हल्लाएँ ।
‘सर ! यदि तपाईंको अगाडि एउटी युवती देखा परिन् भने तपाईंको पहिलो नजर केमा पर्छ ?’, साहसका साथ प्रश्न तेर्साईन् ।
नसोचिएको प्रश्नले म आवक थिएँ । मैले कुरा बुझिसकेको थिएँ , ‘यसै भन्न सकिन्न । त्यो त परिस्थितिमा भर पर्छ मेडम । कपाल लामो भएमा कपालमा नजर पर्छ । यदि खोल्चाउँदै हिंडेकी भए खुट्टामा पर्छ । अटपटिदोँ शृङ्गार गरेमा मुहारमा । शारीरिक बनोट अनुसार शरीरको जुन भाग नमिल्दो छ, त्यसैमा पर्छ ।’,सहजरुपमा उत्तर दिदैँ म पढाउन कक्षाकोठा तिर लागे । तर मेरो मष्तिस्कमा भने पातलो शरिरमा सामान्यता भन्दा अलि ठूलो र पोटिलो आकृति सलबलाइ रहेको थियो ।
वि.सं.२०८१ कात्तिक २४ शनिवार ०५:२० मा प्रकाशित