दीनानाथ पोख्रेल
सुम्बेक, इलाम नगरपालिका –०२, इलाम
पथ जीवनको हितयुक्त हुँदा ।
गति उठ्छ उँभो शुभकर्म छुँदा ।।
हिँड उन्नतिको पथ योग्य खनी ।
मन सौख्य बटुल्दछ अर्थ गनी ।। ०१ ।।
मनताप हटीकन खुल्छ हियो ।
सुखशान्ति दिने मृदु बल्छ दियो ।।
छल, जाल र झेल नहुन् सबमा ।
मन हर्ष बटुल्छ खुली भवमा ।। ०२ ।।
मनचिन्तनले कृत योग्य टिपे ।
विधि बन्धनले युगसार खिपे ।।
गति उन्नत बन्दछ यत्ति बुझे ।
दिल उल्झन भाग्दछ कृत्य सुझे ।। ०३ ।।
हितका पथ छन् सय लाख थरी ।
शुभकर्म चुने सुख मिल्छ भरी ।।
परको अधिकार सुरक्षित होस् ।
मनको फल हात उपस्थित होस् ।। ०४।।
परले शुभ हो शत बार भनोस् ।
कृतकै फलले दर शान्त बनोस् ।।
यति पूर्ण गरूँ मनमा म भरूँ ।
शुभयोग्य छ यो भवमा म छरूँ ।। ०५ ।।
दिलशूल कडा खुद भाग्छ डरी ।
सुखको नमुना घर छिर्छ भरी ।।
कृत पक्रनुपर्दछ चेत भनोस् ।
फल हात लिई सुखहार गनोस् ।। ०६ ।।
जलमा स्थलमा वन पर्वतमा ।
फल मिल्छ मिठो श्रम वर्गतमा ।।
उठ भाइ सबै जुट दाइसँगै ।
फल टिप्दछ हात जुटेर सधैँ ।। ०७ ।।
जुट साथ उठी मन रम्छ खुली ।
सुख डुल्छ सधैँ बह कष्ट भुली ।।
श्रम सागरमा खुद पौड डटी ।
मन रम्छ सधैँ बहताप हटी ।। ०८ ।।
हित के ? खुद यो मन चिन्न गमोस् ।
कृतले घरमा सुखसार जमोस् ।।
गुणदुर्गुण के ? दिल देख्न सकोस् ।
कृत यो गुणको पथ नित्य बगोस् ।। ०९ ।।
छन्द : तोटक
गण : स स स स
सङ्केत :IIS IIS IIS IIS
वि.सं.२०८१ मंसिर १ शनिवार ०५:०४ मा प्रकाशित





























