प्रमोद भट्टराई ’प्रतीक’
कौशलटार, भक्तपुर
१.
मिल्ने भए देखि, एक अर्को जुनी माग्ने थिएँ
आफुसँग मिल्न सक्ने, साह्रै गुनी माग्ने थिएँ
अरूलाई त पटक पटक जाँचेर हेरि पनि सकेँ
अरू प्रति भएन भरोसा फेरि उनी माग्ने थिएँ ।
२.
आवश्यकता पर्दाखेरि मज्जाले खेल्न पनि हुने
आफ्नो अनुकूल भएन भनेदेखि पेल्न पनि हुने
मन जस्तो सजिलो खेलौना अर्थोक हुँदैन साथी
झेल्नै नसकिने भयो भने अन्यत्रै ठेल्न पनि हुने ।
३.
जीवनको गति जति जति ओरालो लाग्न थाल्छ
चम्किला दिन पनि, निख्खर कालो लाग्न थाल्छ
भित्र भित्रै असन्तुष्टिको बिउ उम्रिन थाल्यो भने
माकुराले बुने जस्तो मनभित्र जालो लाग्न थाल्छ ।
४.
मीठा कुरा गर्यो भन्दैमा, कसरी पो विश्वास गर्ने
मायाँ धेरैले दर्शाउँछन्, एउटा मात्रै हो रोज्नु पर्ने
विज्ञानले मन जाँच्ने उपकरण नबनाएरै दुःख भो
कसलाई स्वीकार गर्ने ? कसलाई पो आँखा तर्ने ?
५.
समर्पणमा मात्रै किन, त्यागमा पनि प्रेम लुकेको हुन्छ
शरीरले त्यागे पनि आखिर मन त त्यतै झुकेको हुन्छ
बेलुन जस्तै हो सम्बन्ध फुक्दा फुक्ने निचोर्दा खुम्चिने
आत्मियता र मित्रतामा मात्रै, मन पनि फुकेको हुन्छ ।
वि.सं.२०८१ मंसिर ८ शनिवार ०४:५२ मा प्रकाशित






























