मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
उनलाई चौतर्फी दबाब आयो । सर्जकहरूको कथा, लघुकथा परिचर्चा गर्दा उनको एउटै विचार र सुझाव आउँथ्यो –
‘लेखन, नयाँ बोतलमा पुरानो रक्सी भयो । अब चिन्तन र नविनताको नितान्त अवश्यकता छ । नत्र ऐँजेरू पलाउँछ ।’
यही भनाइ अहिले उनका लागि गलपासो भयो ।
सबै पाठक र सर्जकहरूबाट एकै चुनौती आएको थियो –‘लौ गुरु एउटा उदाहरणार्थ कथा लेख्नु प¥यो ।’
दिमागमा केही फुरेकै थिएन । कसरी गर्ने ? कसरी पार पाउने ? केही त फुराउनु नै पर्यो, सोच्दै थिए, झट्ट उनको दिमागमा बत्ती बल्यो । झटपट ल्यापटप खोले ।
‘नमस्कार ! भन्नुस्, के सहयोग गर्न सक्छु ?’, एउटा नयाँ एपको खोल्न साथ आएको सूचनाले उनको मन प्रफुल्लित भयो ।
‘मलाई एक रोमाञ्चक छोटो कथाको आवश्यकता छ ।’ , उनले एपसँग वार्तालाप सुरु गरे ।
‘कस्तो कथा ? समाजिक, राजनैतिक, व्यङ्ग्यपरक, पौराणिक….?’ , एपले प्रतिप्रश्न ग¥यो ।
‘यस्तो कथा, जो कसैले नलेखेको होस् ।’, विश्वस्त हुँदै जवाफ दिए ।
केही समयपछि एपले कथाहरूको ताँती लगायो र जवाफ दियो –
‘ तपाईंलाई यी कथाहरूले पक्कै सन्तुष्ट दिनेछन् ।’
उनले सबै कथाहरूको गहन अध्ययन गरे । कुनै चित्त बुझेन, फेरि अनुरोध गरे –
‘हैन , यी त सबै पुराना र लेखिएको कथा भए । यो लेख्यो भने सरासर चोरी हुँदैन र ?’
बिदा माग्दै एपले जवाफ दियो – ‘माफ गर्नुस् महाशय यहाँ चोरी नगर्ने को छ र ?’
वि.सं.२०८१ मंसिर ८ शनिवार ०४:५६ मा प्रकाशित