गणेश लोहनी
चितवन, हाल-काठमाण्डौ
१.
छिनालियो कठै ! गर्दन रगत बगिरह्यो
मारखानेका अश्रु–धारा फगत बगिरह्यो
अहिंसाको बुद्ध–शिक्षा भालुलाई पुराण
रक्त–रञ्जित प्रवाहमा जगत बगिरह्यो ।
२
उटपट्याङ बहानामा भाषा खाए भेष खाए
जे जे खान मिल्छ सारा नराखेर शेष खाए
बाँदरको हातमा नरिवल, पछुताएर के गर्नु
छद्मभेषी लुटेराले लाजै नमानि देश खाए ।
३
विष्टा खाने किन नहोस् कागका पुजारी हामी
प्राणघातक विषालु जीव नागका पुजारी हामी
विवेकशिल बन्नै नसकेका हामी सदावहार बुद्धु
गृहस्तीमा कलहको बिज रागका पुजारी हामी ।
४
वनझाँक्रीको मन्त्र पनि निष्प्रभावी बनाए
आफुफस्ने मुद्दामा स्वयंलाई हावी बनाए
बदमासी उदाङ्गो पार्न प्रतिबद्ध पात्रहरूलाई
फायलकै चाङ मुनि दबाउने चाबी बनाए ।
५
सङ्ग्रहको लालचले नै दुःख खेप्छ माहुरीले
मान्छेहरूलाई उडाई रहेछ तिर्सनाकै हुरीले
तृष्णाबाट बच्न सके सहज हुन्थ्यो जिजीविषा
जिन्दगीभर बिना खोज्दै दुःख पायो कस्तुरीले ।
वि.सं.२०८१ मंसिर ८ शनिवार ०५:०२ मा प्रकाशित