आज बिहान चाबहिल तरकारी बजारको छेउनेरको चियापसलमा बसिरहेकै बेला दुईजनाले फेसबुक देखाउदै ‘प्रचण्डको बर्थ डे’ भनेको र सकरात्मक तथा नकरात्मक दुबै टिप्पणी सुनेपछि मैले पनि डाटा खोलेर हेरेँ । त्यसपछि सरासर हाडिगाउँ डेरामा पुगेर केहि लेखेरै शुभकामना दिने जमर्को गरेँ ।
क. प्रचण्डको जन्मदिनको अवसरमा सम्भवत सम्माननिय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले पनि सरप्राइज गिफ्ट वा केही टोकन दिनसक्नुहुन्छ वा भौतिक भेट नभए फोनबाट सौहार्द सम्पर्क गर्नुहुनेछ भन्ने आशा गोकर्ण भेटले संकेत गरेको छ । थाहा पाएको भए भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको पनि आउला । कांग्रेस सभापति लगायत सम्भवत सबै, स्थायी समिति, केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला, स्थानीय तह र वडा तथा टोल समितिमा रहेका हजारौ कमरेडहरुले उहाँको सु–स्वास्थ्य र प्रगतिको कामना गर्दै हुनुहुन्छ होला नै । त्यसबाहेक क. प्रचण्डको राजनीतिक जीवनको त के कुरा, व्यक्तिगत जीवन नै सिध्याउन खोजेकाहरुबाट पनि आज उहाँको जन्मदिनमा सुंस्कारित वाणिहरु सम्प्रेषण हुने नै छन् र अहिले अस्वभाविक पनि होईन । यस्ता शुभकामनाको भव्यताका विचमा मेरो यो अन्तरआत्माको पुष्पगुच्छा सम्प्रेषण गर्दैछु । लामो सहयात्री (२०४२ देखि अविचल र लगातार संगै ) को हिसाबले मेरो पनि यो शुभेच्छा सहितको शुभकामना ।
प्रिय कमरेड,
नेपालमा लामो समयदेखि थाति रहेको नेपाली जनताको मुक्तिको चाहना सम्बोधनका लागि तपाईले नेपालको सन्दर्भमा निकै ठूलो आँट, साहस र दृढता देखाउनु भयो । कमरेड पुष्पलाल लगायतका अग्रज संस्थापकहरुले रोपेको विरुवालाई हुर्काउँदै सहि उत्तराधिकारीका रुपमा आफूलाई स्थापित पनि गर्नुभयो । नेपाली जमिनमा नक्कली विरुवा हुर्कन दिनुु हुँदैन भनेर तपाईले नयाँ आँट गर्नुभएकै हो र हामीले सघाउने अवसर पाएकै हो । समाजको वर्गस्वरुप, राजनैतिक–सामाजिक संघर्ष तथा वर्गसंघर्षका प्रयास र अभ्यासको विशिष्ट शष्लेषण गर्दै दीर्घकालिन जनयुद्धको नेतृत्व गर्नुभयो । नेपाल मात्र होइन, संसारैलाई थर्काउने, हल्लाउने र देखाउने गरी राजनैतिक छलाङका दृश्य संप्रेषण गराउन सक्नु भयो । त्यतिमात्र होइन, तपाई आफैंले शान्ति प्रक्रियाको अर्को मोर्चा खोलेर दुनियालाई चक्मा पनि दिनुभयो ।
हो कमरेड । जिते संसार, हारे हत्कडी अर्थात् मृत्यु या मुक्तिको शपथ खाँदै र बलिदानीका अनेकौ किर्तीमानी कायम गर्दै रुदारुदै हाँस्ने र हाँस्दा हाँस्दै रुने प्रचण्डपथीय विशिष्टता संप्रेषण गरेर नेपालको राजनैतिक आन्दोलनलाई गणतन्त्रसम्म तपाईले नै ल्याएको हो । वर्तमान गणतन्त्र संबैधानिक गणतन्त्र मात्र हो वा सामान्तवादी गणतन्त्र हो वा पुँजीवादी गणतन्त्र हो वा दलाल गणतन्त्र हो वा प्रगतिशील गणतन्त्र हो भन्ने बारेमा हाम्रो समाजमा अहिले पनि मतभेद छन् । नेताहरुमा देखिएको कतिपय व्यक्तिवादीता तथा आचरण र व्यवहारले हामी कस्तो गणतन्त्रको अभ्यास गर्दैछौं भन्ने प्रश्नलै सबैलाइ छोएको कामरेडलाइ विदितै छ । व्यवहारमा आएका अस्वभाविक दृश्यहरुले द्धिविधा बढाइरहेका छन् । नाउँ गणतन्त्र तर व्यवहारमा सामान्तवाद अझै हावी छ । यसको निदान गरेर गणतन्त्रलाई व्यवहारमै जनपक्षिय बनाउन तपाईले गरेका प्रयास र अभ्यास जनस्तरसम्म पुर्याउन जरुरी छ । झण्डै ४० वर्षदेखि एउटै राजनैतिक यात्रामा हिँडेको र सबै प्रकारका जोखिम भोगिसकेको एक सहयात्रीका हिसावले तपाईको यो जन्मदिनका अवसरमा केही कुरा राख्न चाहेको मात्र हो ।
कमरेड प्रचण्ड तपाई देवता होइन । तपाईलाई थाहा छ, बिगतमा देवता बनाउनेहरुले नै राक्षस पनि भने । कम्युनिष्टहरु देवता र राक्षसका दुवै अतिवाद मान्दैनन् भन्ने भौतिकवाद तपाइले नै सिकाएकोले मैले तपाईलाई देवता कहिल्यै पनि मानिन र पशुपतिनाथसम्मलाई पनि मानेको छैन । कसैलाई देवता मान्दिन भन्दा कैयोले खप्कि पनि कैयौपटक खानु पर्यो होला तर दुई वर्ष अगाडि देवता ठान्नेहरुले अर्को दुईवर्षमै राक्षस भनेको सुन्दा तपाई पनि पक्का हाँस्नु भयो नै होला । यस्ता यावत विज्ञान विरोधि चिन्तन र संस्कृृतिहरु हाम्रो आन्दोलनमा अहिले पनि उत्तिकै जव्बर छन् । नेतृत्व भनेको वास्तवमा आफ्नो वर्ग, जनता, राष्ट्र, क्रान्तिको बाँकी कामको मुटु र त्यसको योजना दिने मस्तिष्क हो । यहि भावनाका साथ कमरेडलाई मनका गुच्छा अर्पेको मात्र हो । तपाईको यो जन्मदिनको पावन अवसरमा हाम्रो आन्दोलन समाज र राष्ट्रमा थाँतीरहेका बाँकी कार्यभार छिचोल्न अझै बढि उत्प्रेरणा थपियोस् भन्ने पनि हो ।
तपाईकै विश्वासमा नेतृत्वको नियत प्रति शंका नगरी सघाईरहने हजारौ कार्यकर्ता तथा लाखौं मतदाता र शुभेच्छुक यो आन्दोलनको ठूलो सम्पत्ति भएको, वर्ग निष्ठामा प्रतिबद्ध ठूलो संख्याका क्रान्तिकारी अहिलेसम्म पनि माओवादी केन्द्रमै बढि भएको अर्थात् छोटो भाषामा भन्दा माओवादी आन्दोलन र तपाई ‘प्रचण्ड’ नै अझसम्म ब्राण्ड रहेको सत्य हो ।
हजारौको बलिदानी एवं लाखौंको त्याग र सक्रियताबाट तपाइको नेतृत्वमा प्राप्त गणतन्त्रलाई जनपक्षिय (आलोचना त के सुझाव टक्रयाउँदा पनि रिसाउने र निषेध गर्ने संस्कृतिलाई हटाउदै ) बनाउन मुख्यत नेतृत्वको टिमबाटै रुपान्तरण देखाउने उर्जा अझ थपिने र पार्टी भित्र नीति, विधि र पद्धति भन्दा माथि कोही नहुने कुरालाई स्थापित गर्न तपाईको रुची र क्रियाशीलता अझै बढ्ने विश्वास बढाउन जरुरी छ । आन्दोलनको कुल योग जनहित भएको र समृद्धिबाटै मात्रै सुखी अनुभुती हुने भएकाले राष्ट्रको समृद्धि र जनताको सुखलाई प्रमुख कार्यभार ठान्नु भएका तपाईले बैज्ञानिक समाजवादको मार्ग स्पष्ट पार्दै माटोलाई माया गर्ने संस्कृतिको विकास, उत्पादनमैत्री वातावरणको निर्माण, उत्पादन, आत्मनिर्भरता, स्वाधीन पुँजीको निर्माण र समाजवादी राज्य प्रणाली निर्माणको विषयमा प्रष्ट मार्गचित्र संप्रेषण गर्ने जाँगर तपाईमा अझै बढ्ने विस्वास गरीएको छ । ‘नीजि पुँजी र निजी परिवार’ का विषयले हाम्रो आन्दोलनमा परेको नैतिक धब्बाका बारेमा नेतृत्व पंक्तिको तहगत रुपान्तरणको सिलसिला हुँदै आम मानव समुदायसम्मको संप्रेषण गर्ने नयाँ कोर्ष बनाउन तपाईमा थप उर्जा बढ्ने विस्वासको संबोधन हुनेछ । वर्तमान निर्वाचन प्रणाली समाजवाद भन्दा उल्टो (धनी र पैसावाल मात्रै चुनाव लड्न सक्ने) रुपमा विकसित हुँदै गएकाले समाजबादमैत्री निर्वाचन प्रणाली बनाउन र त्यसका लागि नयाँ तरंग फैलाउन, समाज, आन्दोलन र पार्टी जीवनमा देखिएको अपारदर्शि जीवन प्रणालीले हाम्रो यात्रामै आशंका बढाएकाले काम गरेर खाने संस्कार बनाउन तथा भेदभाव, अन्त्य र शोषण (भित्र तथा बाहिर) रोक्न तपाईको रुची र क्रियाशीलता अझै बढ्ने अपेक्षा राखिएको छ ।
विशिष्ट राजनैतिक पहिचान बोकेको माओवादी आन्दोलनले नेपाली धर्तीमा मालेमावाद र प्रचण्डपथको बिचार श्रृंखला बिकास गरी यसको रक्षा, प्रयोग र बिकासको अभ्यासका क्रममा नेपाली मौलिकताको गाउँबाट शहर घेर्ने दीर्घकालीन जनयुद्धका माध्यमबाट सामान्तवादलाई कमजोर बनाउँदै, अन्तरबिरोधहरुमा निशाना साँध्दै, जनयुद्ध र जनआन्दोलनको कलात्मक समायोजनबाट लोकतान्त्रीक गणतन्त्र स्थापनासम्मको मुख्य योगदानमा तपाईकै कौशलता रहेको, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता तथा राज्यको समावेशि प्रवाहिकरण यसैको योगदान भएको, संविधानमा समाजवाद उन्मुख राज्यप्रणालीको कुरा लेखाएर बैज्ञानीक समाजवादको गन्तब्यतर्फ ढोका खुला गराउने काम पनि यहि आन्दोलनले गरेको, लक्ष्यका लागि लचकताको पराकाष्ठामा वहनसक्ने र देशको राजनीतिलाई अहिलेसम्म आन्दोलनको वरीपरी नै घर्षण गराइरहने खुवि तपाई क. प्रचण्डकै हो । तपाईकै विश्वासमा नेतृत्वको नियत प्रति शंका नगरी सघाईरहने हजारौ कार्यकर्ता तथा लाखौं मतदाता र शुभेच्छुक यो आन्दोलनको ठूलो सम्पत्ति भएको, वर्ग निष्ठामा प्रतिबद्ध ठूलो संख्याका क्रान्तिकारी अहिलेसम्म पनि माओवादी केन्द्रमै बढि भएको अर्थात् छोटो भाषामा भन्दा माओवादी आन्दोलन र तपाई ‘प्रचण्ड’ नै अझसम्म ब्राण्ड रहेको सत्य हो ।
क. प्रचण्ड तपाई समझदार र लचकदार नेता हो भन्ने बिषयमा कतै दुई मत छैन । हाम्रो भु–राजनीतिको धरातलीय यथार्थतामा रहेर तपाईले विकास गर्न खोजेको त्रिदेशिय अवधारणा परीपक्व बनाउन जरुरी छ भन्ने कुरा पनि शुभकामनामा मिसाउन चाहान्छु । सकल पंक्तिको रुपान्तरण र जनतासंगको गठबन्धन गर्नुपर्ने अनिवार्यतालाई पार्टी जीवनमा मात्र होइन जनताको दैनीकीमा अनुभुति गराउनु पर्ने भएको छ । यसका लागि अहिले सामाजिक न्याय सहित राष्ट्रिय पुँजिको विकास हुनका लागि दलाल पँुजीको नियन्त्रणका बिषयमा प्रष्ट गराउनुपर्ने, बिज्ञान तथा सूचना प्रबिधिको चमत्कार, रोबोटीय युगको हुँकार र बित्तिय पुँजीको चक्रलाई राष्टिय पुँजी निर्माणमा उपयोग गर्ने अवसरलाई उत्तिकै ध्यान दिइनुपर्ने बाहेक खेतका गरा, बारीका पाटा, कान्ला र भीर (भीरमा समेत मौरी पाल्न सकिने) गरी सस्तो दाममा बाहिरीएका बलिया पाखुराको उपयोगमा पनि हाम्रो ध्यान जान जरुरी छ भन्ने कुरा यो जन्मदिनका अवसरमा थप स्मरण गराउन चाहान्छु ।
‘पुँजिको न्यायिक बितरण बिना समाजवादको कल्पना गर्न सकिंदैन, स्वाधिन पुँजिबिना न्यायीक बितरण सम्भव नै छैन, आत्मनिर्भरता बिना स्वाधिन पुँजी बन्नै सक्दैन,उत्पादन बिनाको आत्मनिर्भरता सोेंच्न पनि सकिंदैन, उत्पादनमैत्री बातावरण बिना उत्पादन हुनै सक्दैन । नीतिनिर्माण तहमा रहनेहरुले यसको श्रृंखला नबुझेसम्म उत्पादनमैत्री बातावरण नै बन्दैन’ भन्ने कुरा पार्टीको पंक्तिमा मनन गराउनु हनेछ भन्ने आशा पनि ब्यक्त गर्न चाहान्छु । यसैगरी अवस्था सुहाउदो सास्कृतिक क्रान्तिको प्रक्रिया’ लाई बढाउन र निराशाले चिथोरीएका मनमा मलम लगाउने विधि बनाउन पनि क प्रचण्डलाई जागर बढने बिश्वास गर्दछु ।
पालिका सरकारहरुमार्फत पालिका कृषि सहकारीको निर्माण, सबै घरधुरीलाई अनिवार्य सहभागीता र नागरिकहरुको स्वेच्छिक सहभागीता गराई ‘हाम्रो खेतवारी, हाम्रै सहकारी’ अभियान सचालन गरी सहकारी मार्फत पालिकाका वार्ड र टोलहरुमा उत्पादन सम्भावना(माटो जाँच र भौगौलीकता) अध्ययन गराउने, प्रत्येक घर धुरीमा पुगेर जनतालाई सुसुचित पार्ने, बाँझो राखेर खेर गएको जग्गा वा उत्पादन लागत पनि नदिएको अवस्था बुझाउदै र छलफल चलाउदै सहकारीले जग्गा लीजमा लिने वा दिने कार्यक्रम अघि बढाउने संरचना तयार गर्न तपाईको बिशेष रुचि बढन सकोस । जग्गा भाडाको कार्यबिधि,रोजगारीको कार्यबिधि, यान्त्रीकीकरण, उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्मको ब्यबस्थापन तयारी गर्ने र अभियानलाई मुर्त बनाउन तथा एकरुपता दिन तत्कालै एउटा केन्दीय कार्यशालाको आयोजना गर्ने काममा तपाईको ठोस पहल र निर्देशन हुन सकोस् ।
जनतासँगको गठबन्धनलाई सुदृढ पार्ने कार्यक्रम तय गर्न २०७९ मै मैले कमरेड समक्ष २८ बुदे सुझाव दिएको पुन स्मरण गराउन चाहान्छु । हरेक तहबाट शिक्षा, स्वास्थ,बिमा, उपचार, सुरक्षा लगायतका मानवीय सेवाहरु,बाटो, खानेपानी, ढल, बिजुली, सिंचाई लगायतका भौतिक बिकास, माटो जांचदेखि बीउ, मल, सिंचाई, प्रकोप रक्षा, उत्पादन, प्रशोधन, भण्डारण र बजारसम्मका उत्पादन श्रृंखलाभित्रका समस्या हल गर्ने प्रयास गर्नुपर्ने, पार्टीका तर्फबाट जनप्रतिनिधि, विज्ञ र कर्मचारीतन्त्रको सहयोग लिई जनगुनासा हल गर्दै जनतासंगको गठबन्धन सुदृढ गराउन कार्यविधि नै बनाउनुपर्ने कुरा पनि यो जन्मदिनका अवसरमा पुन स्मरण गराउन चाहान्छु ।
जनतासंग गठबन्धन गर्ने हाम्रो पछिल्लो महशुसकै कारण हामीप्रति सकरात्मक समर्थन बढेको छ । तर यसका आधारमा हौसिईहाल्न हुदैन । हौसिंदा, मात्तिदा र अहंकार ब्यक्त गर्दा जनताले हामीलाई संजाय दिएको पनि ताजै छ । अहिले देशमा जे जस्ता सकारात्मक सूचांकहरु देखा परेका छन् । त्यसमा मूलत तपाईको योगदान, कौशलता र सक्रियता छन् नै तर विचार र आचारका विचमा, संगठन र संघर्षको विचमा, राजनीति र संस्कृतिका विचमा तथा शब्द र कर्मको विचको अन्तर हटाएर सबै नेपालीको आत्मविस्वास बढाउन तपाईको भूमिका अझै बढ्ने विस्वास सहित आएका जन्मदिनको शुभकामना पनि मनन हुने नै छ ।
अहिले पनि भुइका मान्छेहरुको अभिभावकत्व तपाईले नै गनुपर्छ भन्ने धारणा प्रवल छ । निश्चय पनि इतिहासको धार बदल्ने नेता तपाई हो । कमरेड प्रचण्ड, तपाईले नै क्रान्तिको नेतृत्व गर्नुभयो अनि मौलिक शान्ति प्रक्रियाको पनि । नेपालको संदर्भमा संविधानसभा मार्फत संबिधानको निर्माण मात्र नभएर कार्यान्वयनको नेतृत्व पनि गर्नुभयो । सुशासनका संकेत मार्फत जनतालाई आत्मबल थप्नु भयो । तर यो पर्याप्त छैन भन्दै कोर्ष पुरा गरेर मात्र मर्ने कुरा सार्वजनिक गर्नुभएको छ अर्थात समृद्धि मार्फत अवस्था परिवर्तनको कुरा जोडसंग बोल्नु भएको छ र केहि उर्जा पैदा भएका छन । तर यसका लागी आन्तरीक र बाहय अवस्था सुदृढ गर्न जरुरी छ । यसका लागी गणतन्त्रलाई जहानीया बनाउन चाहानेहरुसंग सतर्क रहनैपर्छ । गणतन्त्र नरुचाएका रजौटाहरुले गर्नखोजेका सांस्कृतिक घेरावन्दि तोडनै पर्दछ । संगै बस्न सकिनेहरु, बिचार मिल्नेहरु र सहकार्य गर्न लायकहरुसंग तात्कालीन मोर्चा र पार्टी एकतासम्म गरेर कोर्स अगाडि बढाउनै पर्दछ । शुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई नेपाली जनताको साझा गंतब्यमा बदल्नुपर्दछ । ब्यबस्था बदल्ने नायक रहेका तपाईमा जनताको अवस्था बदल्ने उत्प्रेरणा र जांगर अझै थपियोस । जन्मदिनको असिम शुभकामना ।।
वि.सं.२०८१ मंसिर २६ बुधवार ११:११ मा प्रकाशित