back
CTIZAN AD

नेपाल–अंग्रेज युद्धमा ओझेलमा परेका सरदार डम्वरसिंह थापाको योगदान

वि.सं.२०८१ पुस ७ आइतवार

3.4K 

shares

वि.सं. १८२४ सिन्धुली पौवागढीमा नेपाल–अंग्रेजबीच भएको युद्धमा नेपाली सेनाले ब्रिटिस साम्राज्यवादलाई नराम्रोसंग हराएको थियो । वीर नेपाली सेनाले त्यस बखत छापामार शैली अप्नाई घरेलु हतियार जस्तै– भरुवा बन्दुक, घुयत्रो, गुलेली, खुडा, तरवार, खुकुरी, ढुङ्गामुडा र अरिङ्गालको गोलामा घुयत्रो हानी विषालु किरा समेत प्रयोग गरेर लज्जाजनक रुपमा ब्रिटिस साम्राज्यवादी सेनालाई धुलो चटाएको इतिहास ताजै छ । यस युद्धमा सरदार डम्बरसिंह थापा युद्ध मोर्चामा अघिल्लो पङ्तिमा रहि सक्रियतापूर्वक लडेका थिए । साथै उनले वडाकाजी अमरसिंह थापासंगै नेपालको पूर्वी क्षेत्र टिष्टा नदी देखि पश्चिम किल्ला काङगडासम्म बिटिश साम्राज्यवादका विरुद्धमा लडेका थिए । तर उनको कदर योगदान नेपालको इतिहासमा ओझेलमा परेको देखिन्छ । यस आलेखमानेपाल–अंग्रेजबीच भएको युद्धमा उनको त्याग, युद्ध कौसल र वीरताको उजागर गर्नेउद्देश्य राखिएको छ ।

सरदार डम्बरसिंह थापा सरदार जसराम थापाका जेठा सुपुत्र थिए । सरदार जसराम थापाका जेठीपट्टीका खलक डम्बरसिंह थापा हुन् उनी अमारेमा बसोबास गरे । डम्बरसिंह थापाका माहिला काका मसराम थापा चिशंखु, ओखलढुङ्गामा बसोबास गर्न गए भने साहिला परशुराम थापाका संतान चाँहि झाँगाझोली (थापा थुम्का) का बगाले थापा हुन् । धेरै पछिसम्म अमारे, झाँगाझोली (थापा थुम्का) र सिन्धुली, खुर्कोटका थापाबीच दशैंमा पूmलपाती र दाजुभाइ मर्दा वीचार आदान प्रदान हुने गरेको पाइन्छ । कान्छा काशीराम थापा भने भलुवाजोर, रामेछापमा बसोबास गर्न गएको कुरा हस्तलिखित वंशावलीमा उल्लेख भएको पाइएको छ । यसबाट के बुझिन्छ भने अमारेका थापा खलक मान्यजन बडाबुवा जसराम थापापट्टिका खलक हुन् । सरदार डम्बरसिंह थापाका सात भाइ छोराहरु थिए —
१. खम्बसिंह थापा (जेठा) — गौखर्क (सारीछाप)
२. निर्भयसिंह थापा (माहिला)— निसन्तान (सरदार)
३. हिमकर्णसिंह थापा (साहिला)— अमारे
४. अभयसिंह थापा (काइला) — अमारे
५.नवलसिंह थापा (ठाइला) –मोरङ्ग, विराटनगर
६. बक्तावरसिंह थापा (अन्तरे) — अमारे
७. बदलसिंह थापा (कान्छा) — गौखर्क (सारीछाप)

अभयसिंह थापा काइलापट्टीका एक भाइ छोरा श्री चित्रबहादुर थापा सिन्धुलीकै खुर्कोट राताटार बसाइसरेका थिए । साथै अर्का एकजना मर्दनसिंह थापा पनि खुर्कोट गई बसोबास गरेको देखिन्छ तर कसका छोरा हुन भन्ने कुरा यकीन हुन बाँकी छ । सिन्धुली खुर्कोट निवासी चित्रबहादुर थापा र मर्दनसिंह थापाका सन्ततिको विस्तृत वंशावली २०७६ सालमा नै तयार भइसकेको छ । परशुरामका छोरा पृथ्वीमान थापा अमारेबाट ग्वालटार बसोबास गर्न गएको देखिन्छ । त्यहाँ अहिले ३२ घरपरिवार ग्वालटार र ५ घर देउरालटारमा गरी जम्मा ३७ घर बसोबास गर्छन् । साथै डम्बरसिंहकै एक सन्तान रामेछापको भीरपानीमा पनि बसोवास गर्न गएको कुरा थाहा हुन आएको छ । त्यहाँ अहिलेपनि सात धुरी बगाले थापाहरुको बसोबास छ । सिन्धुली अमारे सरदार डम्बरसिंह थापाको स्थायी बसोबास क्षेत्र भएकोहुँदा त्यस ठाउँलाई नै केन्द्रविन्दु बनाई वि.स. २०७८ सालमा वंशावली तयार गरिएको छ । अमारेबाट त्यहाँका थापाबन्धुहरु नेपालका विभिन्न स्थानहरु तथा विदेशमा समेत बसाइसराई गरेको थाहा हुन आएको छ । यस भेगका थापाहरुको सबैभन्दा धेरै बसोबास तराई—मधेशको सर्लाही जिल्ला (४५ धुरी) र काठमाण्डौं उपत्यकामा भएको पाइन्छ । तथापि अन्य ठाउँहरु जस्तै सिन्धुली माढी, मरिणखोला, बर्दिया, विराटनगर, सुनसरी, धनुषा, रौतहट, मकवानपुर, हेटौडा, आदि स्थानमा पनि छरिएर बसोबास गरेको पाइएको छ । सर्लाही जिल्लामा मात्र मंसिरे बुद्ध पूर्णिमाको दिन कूलपूजागर्दा करिव ४,५०० घरपरिवारका बगाले थापा बन्धु भेला हुने गरेको पाइएको छ ।
सरदार डम्बरसिंह थापाका पुर्खौलीहरु वि.सं. १४०६ मा जयदेव मल्लको पालादेखि कान्तिपुर राज्यमा सेनामा सहभागि भएको पाइन्छ । बगाले थापाहरु वीर, साहसी, लडाकु र हेर्दैमा खाइलाग्दा थिए । शुरुदेखि नै सैनिक पेशामा संलग्न बगाले थापाहरु युद्ध कलामा निपुर्ण थिए । नुवाकोट युद्धमा जयप्रकाश मल्लका प्रधान सेनापति रहेका काशीराम थापा गोरखाली सेनासंग पराजित भएपछि राजा काशीराम थापासंग निकै रिसाएका थिए । पृथ्वीनारायण शाहसंग मिलेर युद्ध हारेको आरोप लगाई जयप्रकाश मल्लले सन १७४६ मा काशीराम थापा र उनका सातजना सहयोगीको हत्या गरे । काशीराम थापाको हत्याले जयप्रकाश मल्ललाई ठूलो सङ्कट उत्पन्न गरायो । यस घटनाले खस, मगर, तथा अन्य शक्तिशाली भारदारहरु पनि राजाका विरोधी भए (वैद्य, १९९४, पृ. ३४) ।

यस स्थितिबाट फाइदा उठाउन कूटनीतिज्ञ श्री ५ पृथ्वीनारायण शाहले काशीराम थापाका भतिजा परशुराम थापालाई वि.सं. १८०३ भदौं ९ गते नुवाकोट बोलाई जयप्रकाश मल्लसंग बदला लिन वार्ता गरे । साथै पृथ्वीनारायण शाहले अन्य सबै थापा परिवारका शक्तिशाली व्यक्तिहरुसंग छलफल गरी आफ्नो सेनामा सहभागी हुन आग्रह गरे । उनीहरुलाई विश्वास दिलाउन पृथ्वीनारायण शाहले गोरखाका तुलराम पाण्डेकी छोरीसंग डम्वरसिंह थापाको बिवाह गरिदिए र आजीवन सरदार पदवी पनि दिए । त्यसपछि सरदार डम्वरसिंह थापा सिन्धुलीगढीमा अंग्रेज विरुद्धको युद्धमा खटिए । त्यस सिलसिलामा उनी अमारेमा बसोबास गर्न आए । किनभने उनी पृथ्वीनारायण शाहसंग मिलीसकेपछि कान्तिपुरमा बस्न सक्ने अवस्था रहेन र उनी अमारे आउँदा सिन्धुलीगढीको बाटोहुँदै हात्ती पनि लिई आएका थिए । अमारेमा अहिलेसम्म हात्ती बाँध्ने कीलो मक्कियर गए पनि हात्तीले पानी पिउने पोखरी र वरपिपलको चौतारो अझै देख्न पाइन्छ । यस क्षेत्रमावीर सरदार डम्वरसिंह थापा निकै लोकप्रिय रहेको पाइन्छ ।

सरदार डम्वरसिंह थापा युद्ध कलामा अत्यन्त निपूर्ण थिए । उनी हात्ती माथि चढेर दुश्मनको विरुद्धमा लड्ने क्षमता राख्दथे । सिन्धुलीगढीको युद्ध हुनुभन्दा पहिला पृथ्वीनारायण शाह ६ महिना जति सरदार डम्वरसिंह थापाको घरमा बसेर त्यस भेगको अध्ययन गरेर अंग्रेजसंग लड्ने रणनीति तयार गरेका थिए । त्यहाँका जाजिफकार व्यक्तिहरुका अनुसार अंग्रेजसंग लड्ने रणनीति तयार पार्न सरदार डम्वरसिंह थापा र उनका बाबु सरदार जसराम थापाले महत्वपूर्ण सल्लाह तथा सुझावहरु दिएका थिए । अंग्रेजको फौज निकै शक्तिशाली भएकोहुँदा उनीहरुलाई हराउन छापामार शैलीको युद्ध कला अपनाउनु पर्नेकुरा उनलेनै पृथ्वीनारायण शाहलाई सुझाएका थिए । यसै रणनीतिक योजनाको आधारमा वि.सं. १८२४ साउन महिनामा नेपाली सेनाले अंग्रेज विरुद्धको युद्धमा विजय हात पारेको थियो । यस युद्धमा सरदार डम्वरसिंह थापाले बहादुरीका साथ युद्ध मोर्चा सम्हालेका थिए भन्ने कुरा स्थानीय जानिफकार व्यक्तिहरुको भनाइ छ । तर यस बारेमा कतै पनि स्पष्टसंग इतिहासमा उल्लेख गरिएको पाइदैन् । सिन्धुलीगढीको युद्धमा बडाकाजी अमरसिंह थापाले तनहुँ, कास्की, लमजुङ लगायत पश्चिमका किल्ला काँगडासम्मको एकीकरण युद्धहरुमा उनले नेतृत्व दिएका थिए । त्यसैगरी, नेपाल—अंग्रेज युद्धको पूरै नेतृत्व लिएका थिए भने दोस्रो चरणमा सिन्धुलीगढीमा रहेर युद्धको तयारीमा बसेका थिए ।

सरदार डम्वरसिंह थापाले आफ्नो सेनामा खस क्षेत्री (बगाले थापा, गोदार थापा, पुवार थापा, बस्नेत, कार्की, कुवर, पाँण्डे, खड्का आदि), मगर, गुरुङ, राई, लिम्वु, हायु, सुनुवार, तामाङ, विश्वकर्मा, दमाई, सार्की, माझी, दनुवार, भुजेल, थारु, बाहुन आदिलाई समावेश गरेका थिए । उनले आफ्ना सिपाहीहरुलाई उच्च मनोबलकासाथ परिचालन गरेको कुरा स्थानीय बुढापाकाहरुको भनाई रहेको छ । उनलाई युद्धको वेलामा स्थानीय जनताको ठूलो सहयोग हुन्थ्यो । उनको युद्ध कुशलताले गर्दा स्थानीय जनताले हरतरहले रसद पानीको व्यवस्था मिलाउन समेत नेपाली सेनालाई मद्दत गर्दथे । सिन्धुलीगढीको युद्धमा स्थानीय जनताले आफ्नो घर नै ताल्चा लगाएर बन्द गरी पूर्ण रुपमा गाउँ नै खाली गरेर नेपाली सेनाको पक्षमा तन, मन र धनले सहयोग जुटाएका थिए । यो एउटा अविस्मरणीय क्षण थियो जसको कारणले अंग्रेजको फौज हार खाएर धोती न टोपी भएर भाग्न वाध्य हुनुप¥यो । यस युद्धमा अंगे्रजका अन्दाजी १६०० जना सेना मारिएका थिए भने करिव ३०० जना जति नेपाली सेनाले वीरगति प्राप्त गरे भन्ने कुरा इतिहासमा उल्लेख भएको पाइन्छ । नेपाल—अंग्रेज युद्धमा मरेका वास्तविक सेनाका संख्याको हकमा भने शंका गर्ने ठाउँ छ । सरदार डम्बरसिंह थापा हरिहरपुरगढीको नेपाल–अंग्रेज युद्धमा पनि सक्रिय रुपमा भाग लिएका थिए । उनी सिन्धुली पौवागढी किल्ला हेर्ने उमराव पनि थिए । त्यसवेलाको प्रचलनअनुसार सामरिक महत्वको दृष्टिले महत्वपूर्ण मानिएका ठाउँहरुमा किल्ला या गढी बनाइन्थ्यो र त्यस्ता किल्ला वा गढीमा स्थायी रुपमा कुरुवा बस्ने व्यक्तिलाई “उमराव” भनिन्थ्यो । यस्ता यी उमरावहरुमाथि राज्यका निजामती प्रशासकहरुको हुकुम आदेश चल्दैन्थ्यो । उनीहरु युद्धको समय आफ्नो हेरचाह र निगरानीमा रहेका इलाकाहरुका उमेर पुगेका व्यक्तिहरुबाट आफ्नो सेनाको संगठन गर्दथे र भूमिकर उठाउने काम पनि गर्दथे । यिनीहरुको पोशाक ठूलो मोहता भएको सुरुवाल, त्यो माथि छोटो जामा र टाउकोमा पगरी हुन्थ्यो । उमरावहरु विविध श्रेणीका हुन्थे । लडाई परेको वेलामा उनीहरुले आफ्ना श्रेणीअनुसार निश्चित संख्याका तरवार भिर्ने सिपाही उपस्थित गर्नु पथ्र्यो ।

सरदार डम्वरसिंह थापाले सामाजिक सेवामा पनि हात बढाएका थिए । वि.सं. १८६९ मा उनले सिन्धुलीको खाल्टेचैनपुर (हाल सुनकाशी गाउँपालिका वार्ड नं. ६) मा शितलपाटीको निर्माण गरे । यो ठाउँ काठमाण्डौं ओहोर दाहोर गर्ने मुख्य नाका रहदै आएको छ । त्यसवेला त्यहाँ पिउने पानीको निकै अभाव हुन्थ्यो । बटुवाहरुको प्यास मेटाउन यो पाटीमा घ्याम्पो राखी सुनकोशी नदीबाट (अन्दाजी आधा किलो मिटर तल) पानी ल्याउन एक जना सेवकको बन्दोबस्त समेत मिलाएका थिए । त्यस घेम्पोबाट जो कोहीले विना छुवाछुत (भेदभाव) ट्वाकले उभाई पानी पिउन सक्थे । यस व्यवस्थाले त्यसवेलामा पनि छुवाछूतको अन्त्य गर्न समाजमा रहेको कुरीति र अन्धविश्वास हटाउने समानताको सन्देश प्रवाह गरेको थियो । सुनकोशी नदीबाट पानी ओसारी घ्याम्पोमा राखे वापत पारिश्रमिक उपलब्ध गराउन खुर्कोट माथिल्लो वेशी देवकोटा बस्तीमा (हाल गोलान्जोर गाउँपालिका वार्ड नं. ७) मा ४० मुरी माटो खेत गुठीकोरुपमा राखिएको थियो । मोहीबाट २० मुरी धान उठाएर पानी बोक्ने व्यक्तिलाई वार्षिक रुपमा पारिश्रमिक दिने चलन वि.सं. २०५३ सालसम्म चलेको देखिन्छ । धान उठाउने जिम्मा श्री गणेशबहादुर थापालाई दिइएको थियो । उन्को देहावसान भएपछि धान उठाउन जाने मानिस पनि कोही तोकिएन । धान उठाउन जाँदा वि.सं. १८६९ मिति उल्लेख गरिएको एउटा अधिकारिक पित्तलको झारी लिएर जाने चलन चलाइएको थियो । त्यो झारी अझै शंभु थापासंग (गौखर्क) भएको बुझिएको छ । माओवादी जनयुद्ध उत्कर्षमा पुग्न थाले पछि मोहीहरुले धान दिन छाडे । पछि त्यही ठाउँबाट वि. पी. राजमार्ग संचालन हुन थालेपछि यो शितलपाटी भत्काएर सडक योजनाकै सहयोगमा नै नयाँ पाटीको निर्माण गरियो र पिउने पानीको धारो समेत त्यस ठाउँमा स्थापना गरिएको हुँदा सुनकोशी नदीबाट पानी बोकेर ल्याउने झंझट स्वतः हट्यो । अहिले यो ४० मुरी खेत सोही ठाउँ निवासी विष्णु देवकोटा, मुक्ति देवकोटा, रमेश भुजेल, रमेश देवकोटा, चेत प्रसाद देवकोटा, पूर्ण बहादुर राई, ज्ञान बहादुर भुजेल, मानप्रसाद देवकोटा, देवदत्त देवकोटा, खडानन्द देवकोटा र शंभू देवकोटा समेत गरि जम्मा ११ जना मोहीले भोग चलन गर्दै आएको बुझिन्छ । सरदार डम्बरसिंह थापाले वटुवालाई बास बस्नकोलागि अर्को एउटा छुट्टै पाटीको पनि निर्माण गरेको थिए जुन वि.पी. राजमार्गको माथिल्लो पट्टी भागमा रहेको छ । यो पाटीको संरक्षण गर्न सरदार डम्बरसिंह थापाले वि.सं. १८७३ मा ४० मुरी माटो खेत गुठी राखेका थिए ।

२०७२ सालको भुकम्प पछि नेपाल सरकारको सहयोगमा यो पाटी पनि मर्मत संभार गरिएको छ । यी दुवै पाटीको फोटो तल प्रस्तुत गरिएको छ—सरदार डम्वरसिंह थापाले पशुपति क्षेत्रमा रहेको भुवनेश्वरी देवी मन्दिरको पूजा संचालनको लागि जोरपाटीस्थित मड्गाल हाल खगेन्द्र नवजीवन केन्द्र, हाड जोर्नी अस्पताल, एस.ओ.एस. आदि सामाजिक सेवामूलक संस्थाहरु रहेका ठाउँमा करिब १०० रोपनी जग्गा गुठी राखेका थिए । नेपालमा वि.सं. २०२१ सालमा भूमिसुधार लागू भएपछि त्यस गुठी जग्गा मालपोतमा कार्यरत एक जना वस्नेतले दावी गरे । त्यो कुरा थाहा पाएपछि नेपाली सेनामा कार्यरत देवीबहादुर थापा र चक्रबहादुर थापाले मुद्दा दायर गरे । तालुकदार अड्डाले प्रमाण माग गरे पछि सिन्धुली अमारेगाउँ गई मुखिया जहानसिंह थापासंग रहेको ताम्रपत्र ल्याई पेश गरे पछि मुद्दा जिते । तर त्यो गुठी जग्गा देवीबहादुर थापाले फगत आफ्नो स्वार्थ सिद्धिकोलागि वि.सं.२०२९ सालमा आफ्ना नाममा नामसारी गरी नीजि बनाएको पाइयो । तर त्यो सबै जग्गा खोसार्नी बारीका मोहीहरुले कमाएका थिए । देवीबहादुर थापाले आधा जमिन मोहीहरुलाई छुट्याई अरु बाँकी जग्गा कान्छी श्रीमती भवानीदेवीको नाममा दर्ता गरिदिए । जीवनको उत्तराद्र्धमा देवीबहादुर थापा र भवानी थापालाई कुष्ठरोगले संक्रमण ग¥यो भन्ने कुरा सुन्नमा आएको थियो । उनीहरु दुवैको मृत्यु भइसकेको छ । हाल देवीबहादुर थापाका जेठी श्रीमती, उनी पटीका दुई भाई छोरा (जेठा विश्वनाथ र कान्छा शैलेन्द्र) र कान्छी पट्टीका दुई भाई छोरा र दुई वैनी छोरी छन् । कान्छी पट्टीका सबै सन्तान अमेरिकामा बसोबास गर्छन ।

त्यस्तै पर्सा जिल्लाको वीरगञ्जमा रहेको ४०० विगाह जमिन पनि देवीबहादुरकै मिलेमतोमा चक्रबहादुर थापाले केही वर्ष भोगचलन गरी हिनामिना गरेको पाइएको छ । चक्रबहादुर थापा पनि पछि अर्धपागल भई सिन्धुली, अमारेमा गई बसे र पछि उनको पनि त्यहीं गाउँमै निधन भयो ।

झाँगाझोली थापाथुम्का बसोबास गर्ने परशुराम थापाका छोरा भैरबसिंह थापालाई सेनाको खजाञ्ची भएर काम गर्दा एउटा भ्रष्टाचारको मुद्दा लागेको थियो । त्यसबेला उनी झागाझोलीकै एउटा ओडारमा लुकेका थिए जसलाई भैरौं ओडार पनि भनिन्छ । तर पछि जाँचबुझ हुँदा निर्दोष सावित भए । पछि जागिर थामिए पनि उनले तत्कालीन नेपाल सरकारसंग वेखुश भई जागिरमा पुनः कार्यरत हुन चाहेनन् । उन्का सन्तानले भmाँगाझोली थापाथुम्का आसपासका गाउँमा भगवतीको मन्दिर र माध्यमिक विद्यालयको निर्माण गरी सामाजिक सेवा गरेको थाहा हुन आएको छ । भैरबसिंह थापाकै सन्तति क.प. वडाहाकिम गणेशबहादुर थापाले तत्कालीन पूर्व २ नं. हाल सिन्धुली, रामेछाप, दोलखा जिल्लाको सेनाको वडाहाकिम भइ कुशलताका साथ प्रशासनिक कार्य सम्पादन गरेका थिए । सरदार भैरबसिंह थापाका सन्ततिहरु सैनिक, प्रहरी र विभिन्न सरकारी सेवाहरुमा हाल पनि सेवारत देखिन्छन् ।

साथै मरिण गाउँपालिका (हाल काठमाण्डौं) का टिकाजङ्ग थापा पनि तत्कालीन जिल्ला पञ्चायत सिन्धुलीका सभापति र पछि राष्ट्रिय पञ्चायत सदस्यसमेत भएका थिए । खासगरीकन तत्कालीन पञ्चायत व्यवस्थमा सिंन्धुली जिल्लामा बगाले थापाहरुको राजनीतिमा राम्रै पकड रहेको थियो । तर पञ्चायत व्यवस्थाको अन्त्य भएपछि यिनीहरुको शक्ति कमजोर हुँदै गएको देखिन्छ । तथापि जो वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिएर सक्रियतापूर्वक मूलधारको राजनीतिमा लागे उनीहरुले देश र समाजको लागि राम्रो योगदान गरिरहेकै छन् । वर्तमान समयमा धेरै नयाँ पुस्ताका बगाले थापाहरु राजनीतिका साथसाथै अन्य समाजसेवा र आर्थिक क्रियाकलापमा पनि सक्रिय रुपमा लागेकोहुँदा सम्पत्रताको स्तरमा सुधार भएको देखिन्छ । वि.पि. लोकमार्गको निर्माण सम्पत्र भएपछि यस क्षेत्रको धेरै भौतिक, आर्थिक तथा सामाजिक विकास भएको पाइन्छ । पहिला बाटो घाटो, शिक्षा, स्वास्थ्य, बजारको सुविधा नभएको हुँदा स्थानीय जनताहरुलाई निकै असजिलो रहेको थियो । त्यहाँका मानिसहरु काठमाण्डौं आउन दुई–तीन दिन पैदल यात्रा गर्नु पर्ने स्थिति थियो ।

सरदार डम्बरसिंह थापा जस्ता वीर लडाकुलाई नेपालको इतिहासमा थोरै मात्र चर्चा गरिएको पाइन्छ । तथापी उनको नेपाल एकीकरण अभियानमा अतुलनीय योगदान रहेको पाइन्छ । नेपालको इतिहास अंग्रेजहरुबाट लेखन सुरु गरियो । तर उनीहरुले आफ्ना कट्टर विरोधीहरुको वीरताको इतिहास षड्यन्त्रपूर्वक नै लेखेनन् । तर पछि नेपाली इतिहासकारहरु समेतले अंग्रेजकै फेर समाएर इतिहास लेखन गरेको पाइन्छ । यस्ता वीर योद्धाको नाम सिन्धुली गढीको युद्ध संग्राहलयमा समेत राख्न छुटाइएको हुँदा उनको नाम समावेस गरीनेपाल राष्ट्र निर्माणमा उनले पु¥याएको योगदानको कदर गरियोस् ।

मितिः २०८१ पुष ७, काठमाण्डौं,
सम्पर्कः ९८५११ ४५४०३

 

वि.सं.२०८१ पुस ७ आइतवार १०:३० मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...