back
CTIZAN AD

लम्सुवघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने झोलुङ्गे पुल निर्माण

वि.सं.२०८१ पुस १४ आइतवार

780 

shares

भोजपुर । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि निर्माण हुने भए पनि यहाँ भने मोटरसाइकल र तीन पाङ्ग्रे सवारी गुड्न मिल्ने गरी निर्माण गरिएको हो ।

कोशी प्रदेशका पहाडी जिल्लामा तीन पाङ्ग्रे सवारी साधन पार गर्ने सक्ने मापदण्डमा निर्माण भएको यो पहिलो पुल भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत कोशी प्रदेश सरकारको रु तीन करोड दुई लाख लागतमा पुल निर्माण भएको हो ।

लम्सुवाघाटमा सङ्घीय सरकारको लगानीमा २०६४ सालबाट पक्की पुल निर्माण थालिएको थियो । करिब रु चार करोड लागतमा सात वटा पिलर राखेपछि नदी बीचमा ठूलो चट्टान भेटिएसँगै यहाँ पक्की पुल निर्माण रद्द गरिएको थियो । प्राविधिक कारणले पक्की पुल निर्माण रोकिएपछि प्रदेश सरकारले स्थानीयको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरेको हो ।

झोलुङ्गे पुल पाँच फुट चौडाइ र दुई सय तीन दशमलव ८ मिटर लम्बाइको रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । “लम्सुवाघाटमा कुनै किसिमको पुल नहुँदा स्थानीयवासीको दैनिकी कष्टकर थियो”, प्रमुख रेड्डीले भने, “यहाँ पक्की पुल निर्माण ठेक्का रद्द भएपछि प्रदेश सरकारले झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणपछि जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता हटेको छ ।”

भोजपुरको षडानन्द नगरपालिका–६ कुमालटार र खाँदबारी नगरपालिका ९ जोड्ने यो स्थानमा पुल बनेपछि स्थानीयवासी, विद्यार्थीले काठको डुङ्गा तथा गाडीको ट्यूबको सहायताले नदी वारपार गर्नुपर्ने बाध्यता थियो । स्थानीयवासी हिउँदको समयमा काठको डुङ्गा तथा ट्युबको सहायताले नदी पार गरे पनि वर्षातको समयमा करिब तीनदेखि चार घण्टा घुमेर तुर्केघाट र सतिघाटबाट नदी तर्दै आएका थिए ।

आधारभूत विद्यालय मात्र रहेको षडानन्द कुमालटारका विद्यार्थीलाई अरुण नदी पार गरेर माध्यमिक शिक्षा लिन सङ्खुवासभाका विद्यालय जान समस्या थियो । पुल बनेपछि विद्यार्थी करिब आधा घण्टामा विद्यालय पुग्ने वातावरण बनेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले बताए ।

पुल निर्माणले षडानन्द नगरपालिका–६, ७, ८, १०, ११ र १२ का स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष विसुन्केले जानकारी दिए । “लम्सुवाघाटमा सङ्घीय सरकारको बजेटमा पक्की पुल निर्माणका लागि २०६४ सालमा शिलान्यास भएर काम सुरु भएको थियो”, वडाध्यक्ष विसुन्केले भने, “पुल बन्छ भन्ने आशामा हाम्रो करिब १७ वर्ष बित्यो । अहिले त्यो पुलको ठेक्का रद्द भएको अवस्थामा यहाँ झोलुङ्गे पुल निर्माणले हामीलाई राहत मिलेको छ ।”

नदीको बहावलाई ध्यानमा राखेर यहाँ ‘सस्पेन्सन एन’ डिजाइनमा पुल निर्माण गरिएको झोलुङ्गे पुल विषेशज्ञ तथा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयका सिभिल इञ्जिनियर लाल झाले बताए । यो पुलको ५० वर्ष डिजाइन अवधि रहेको उनको भनाइ छ ।

पुल निर्धारित समयमै निर्माण सम्पन्न भएको निर्माण कम्पनी अधिकारी अप्पर तामाकोशी मुकुल जेभीका प्रतिनिधि सुरेस कार्कीले बताए । विसं २०७९ पुस २६ मा सम्झौता भएको पुलको निर्माण अवधि २०८१ पुस २५ सम्म थियो । रासस

वि.सं.२०८१ पुस १४ आइतवार १२:१३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...