काठमाडौं । पछिल्लो सयम मिथिला चित्रकलालाई युवा कलाकारहरूले आफ्नो ‘करियर’ अर्थात जीविकोपार्जनका रूपमा अङ्गाल्न थालेका छन् । यसमा महिलाहरूको सङ्ख्या झनै आशालाग्दो छ । मिथिला चित्रकलाको ख्याति अन्तर्राष्ट्रियस्तरसम्म फैलिएसँगै चित्रकारहरूले पनि यतिबेला देशभित्र मात्रै सीमित नरहेर अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो पहिचान स्थापित गर्दै लगेका छन् । मिथिला चित्रकलाको प्रदर्शनी, ग्यालरी सञ्चालन, क्राफ्ट निर्माणलगायत विभिन्न निजीदेखि व्यापारिक भवनसम्ममा चित्रकला गरेर चित्रकारहरूले राम्रो आम्दानी गर्नुका साथै मान–सम्मान र प्रतिष्ठा पनि आर्जन गरिरहेका छन् ।
चित्रकलालाई आफ्नो ‘करियर’ बनाएर मिथिला–मधेसकी हजारौं महिलाकी नमूना भनेकी युवा चित्रकार सुनयना ठाकुरको नाम अग्रपङ्क्तिमा आउँछ । जनकपुरधाममा मिथिला पेन्टिङसम्बन्धी आफ्नो आर्टग्यालरी सञ्चालन गरेर एक दशकअघि नै सुनयनाले आफ्नो भविष्यको बाटो कोरेका थिए । सानो छँदा चित्र कोर्न मन पराउने सुनयनालाई आफूले कोरेको चित्र मिथिला चित्रकला हो भनेर थाहा थिएन । उनले घरमा र टोलछिमेकमा आमा–काकीहरूले विभिन्न विधि–व्यवहारमा कोर्नुभएको चित्रलाई नै आफ्नो क्षमताले कोर्नुभयो । तर त्यही प्रतिभाले आज देश–विदेशमा एक परिचित अनुहार मात्र नभएर आर्थिक रूपमा पनि सक्षम र आत्मनिर्भर बन्न सफल भएको छ । कक्षा ८ पढ्दै गर्दा विवाह भएकी सुनयनाले सफलताको शिखर आफ्नै आँट र सुझबुझले चढे ।
त्यस्तै मिथिला चित्रकलालाई आफ्नो करियर बनाएर सफलताको उडान भर्ने अर्की कलाकार हुनुहुन्छ रन्जु यादव । रन्जुले पनि भर्खरै ललितपुरमा आफ्नो ग्यालरी सञ्चालनमा ल्याउकी छिन् । राजविराज, थलहा गाविस, सुरुङ्गा नगरपालिका–१० की रन्जु पनि मिथिला चित्रकलामा एक स्थापित नाम हो । यसैगरी भक्तपुरको राधेराधेमा लक्ष्मण मण्डल र सरिता मण्डल यसै क्षेत्रमा लागेका छन् । श्रीमान–श्रीमतीसमेत रहेका उनीहरुले आफ्नो कलालाई जीविकोपार्जनसँग जोडेका छन् । यसबाहेक, मिथिला चित्रकलामा यतिबेला पूजा साह, दीपा कर्ण, सुलेखा साह, मुन्नी खातुन, संगीता मण्डल, सुनिता साह, मनतोरियादेवी, विनिता भारतीलगायतका प्रतिभाहरुले यस क्षेत्रमा आफ्नो करियर बनाउँदै छन् ।
घरबाट बाहिर गएर मिथिला चित्रकलालाई पूर्णकालिक अङ्गाल्नेको सङ्ख्या थोरै रहे पनि यो क्रम बढ्दो रहेको चर्चित एवम् वरिष्ठ चित्रकार एस।सी। सुमन बताउछन् । उनी भन्छन् “मिथिला चित्रकला आफ्नो फरक ढङ्गको चित्रकारी र शैलीकै कारण विश्वविख्यात हुँदै गएको छ । त्यति मात्र नभएर पारम्परिक चित्रकलालाई यतिबेलाका युवाहरूले समसामयिकतासँग जोड्दै लगेको हुनाले पनि मिथिला चित्रकलाको माग र आकर्षण बढ्दो छ ।”
मिथिला चित्रकलालाई संस्थागत गराउन मधेस प्रदेशस्थित राजर्षि जनक विश्वविद्यालयमा स्नातकमा फाइनआर्ट अध्ययन–अध्यापनका लागि पहल भइरहेको वरिष्ठ चित्रकार सुमन बताउँछन् । यससम्बन्धी पाठ्यक्रमलाई जीवनयापनसँग जोडिनुपर्ने उनकोे भनाइ छ । उनी भन्छन् , “हाम्रो पुस्ताले सोखको रूपमा चित्रकारी सुरु गरेका थियो तर अबको पुस्ता फाइन आर्टमा मिथिला पेन्टिङ्ग पढेर करियर बनाउँछन् । भविष्यमा मिथिला चित्रकला जीवनयापनका लागि स्थायित्व प्रदान गर्ने राम्रो र सबल माध्यम बन्न सक्छ ।”
ग्यालरी सञ्चालन गरी आत्मनिर्भर बन्ने प्रथम महिला
युवा चित्रकार सुनयना ठाकुर, देश र मधेसभरिमै ग्यालरी सञ्चालन गरेर मिथिला चित्रकलामा आत्मनिर्भर बन्ने प्रथम महिला पनि छिन् । ‘सुनयना आर्ट’ २०६८ सालमा खुल्यो, जो मिथिला ग्यालरीको नामले पनि परिचित छ । उनी भन्छिन् , “जानकी मन्दिरको प्राङ्गनमा ग्यालरी सञ्चालन गर्दा धेरैले ग्यालरी भनेको के हो नै बुझेका थिएनन् । ग्यालरी सञ्चालन गर्न मैले धेरै अप्ठयाराहरू भोगेँ । शुरुमा कन्सेप्ट बुझाउनै गाहे थियो तर चित्रकलामा नै समर्पित हुन्छु भनेर धार्मिक नगरी जनकपुर घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै जानकी मन्दिरसँगैको प्राङ्गणमा ग्यालरी सञ्चालन गरेँ । ग्यालरी एउटा कलाकारको सपना हुन्छ । मैले देश–विदेश घुम्दा ग्यालरीको महत्व बुझेँको थिएँ । र आज यसैले मेरो जीविका पनि चलाइदिएको छ ।” उनले कागजदेखि माटोको भाडोमा चित्र कोर्दाकोर्दै क्यानभासको यात्रा तय गरे ।
चित्रकार सुनयनाले जलेश्वर, जनकपुर हुँदै पोखरा, काठमाडौंैमा दर्जनौ एकल प्रदर्शनी गरिसक्नुभएको छ । भने विदेशमा मात्र पाँच वटा प्रदर्शनी लगाइसकेको छन् । उनले सन् २०१६ मा अमेरिका, जापानलगायत नेपालका विभिन्न स्थान र विदेशमा पनि उहाँले एकल र सामूहिक प्रर्दशनी गर्दै आएकी छिन् । महोत्तरीको सुगा गाउँकी सुनयनाले जनकपुरदेखि काठमाडौँको ठमेलसम्म आफ्नो आर्ट ग्यालरीको विस्तार गरेको पनि लामो समय भयो । उनले आफूजस्तै थुप्रै चित्रकारलाई रोजगार पनि दिउका छन् । उनले आफ्नो एउटा पेन्टिङ अमेरिकामा १७ डलरमा बेचेका थिए भने नेपालमा पनि एक लाखदेखि माथिका पेन्टिङहरू बिक्री भएका छन् ।
विद्रोही चित्रकार रन्जुको उडान
युवा चित्रकार रन्जुले सुरुदेखि नै सामाजिक विषयलाई आफ्नो चित्रकलामा उतारिन् । एउटा विद्रोह थियो उनीभित्र । उनी भन्छिन् “कलाको सीमा हुँदैन । मिथिला चित्रकलाको जुन जग छ, त्यसमाथि नै टेकेर मैले विषयवस्तु परिवर्तन गरेर चित्रकला गर्छु । पारम्परिक र विषयगत चित्रकला नै मेरो निजत्व हो । चित्रकलाको माध्यमबाट पनि समाजको प्रतिविम्ब देखाउन सकिन्छ भन्ने मेरो मान्यता हो ।”
रन्जु सुनाउँछिन् , “घरमा छोरा–छोरीमा भेदभाव थियो । घर बाहिर र भित्र पनि अनेक हस्तक्षेपहरू थिए, जसले मनमा विद्रोह उत्पन्न हुन्थ्यो । जब मिथिला चित्रकलालाई अङ्गालेँ अनि मैले समाज, देश र परिवेशमा सदियौंदेखि विद्यमान कुरीतिहरूको विरोधमा चित्र कोर्न थालेँ । मैले चित्रकलालाई जनचेतनासँग जोड्ने सोच बनाएँ । चित्र कोर्दा स्वतः दाइजोविरोधी, छुवाछूत विरोधी चित्रहरू कोर्नथालेँ । पारम्परिक त बनाउँथे नै तर त्यो भन्दा पनि सन्देसमूलक चित्र कोर्नतिर स्वतः अग्रसर हुँदै गएँ ।” उनले चित्रकलामार्फत पारम्परिकबाट हटेर समाजको प्रतिविम्ब कोर्नुले पनि थुपै्र चित्रकारको विरासत हल्लाएको थियो । धेरैले उहाँलाई निरुत्साहित गर्न खोज्थे, कतिपयले के यस्तो पनि मिथिला पेन्टिङ हुन्छ र भन्ने गरेको स्मरण गर्दै उनी भन्छन् , “कलाको कुनै सीमा हुँदैन, यो अभिव्यक्तिको माध्यम पनि हो । आधार मात्र बलियो हुनुपर्छ ।”
मैथिली भाषामा स्नातकोत्तर रन्जुको पहिलो चित्रकला प्रर्दशनी २०७४ मा भएको थियो । नेपाल राष्ट्रिय ललितकला प्रदर्शनीमा दाइजोविरुद्धको चित्रकला प्रदर्शन गरेकी थिईन् । त्यस प्रदर्शनीमा रन्जुलाई अवलोकनकर्ताहरूबाट राम्रो प्रतिक्रिया आएको थियो । त्यही उत्साहमा सन् २०१९ को अप्रिलमा उनकोे पहिलो एकल कला प्रदर्शनीमा २९ वटा विभिन्न विषयवस्तुसहितका चित्र रहेका थिए । यसमा दाइजो, छुवाछूत, भ्रूणहत्याजस्ता सामाजिक विकृतिविरुद्ध उहाँले चित्रकलाको माध्यमबाट आवाज बाहिर ल्याउने प्रयास गरे । त्यति मात्रै नभएर महिला सशक्तीकरणका विषयवस्तुसहित ‘कलर्स अफ चेन्ज’ थिमका साथ उपस्थिति जनाईन् । प्रकृतिमाथिको एउटा चित्रकलाको रु एक लाख १० हजार पाउँदा रन्जुको उत्साह झनै बढ्यो । काठमाडौंमै उनले त्यो चित्र बेचे । उनले अवस्था हेरेर विधि–व्यवहारसम्बन्धी चित्रकला १० हजारमा समेत उपलब्ध गराउँदै आएका छन् ।
मिथिला चित्रकलाको शुरुआत
रामायणकालमा मिथिला चित्रकलाको हुरुवात भएको मान्यता रहेको छ । राजा जनकले छोरी जानकीको बिहेमा घर, आँगन र भित्ताहरूमा चित्रकोर्न लर्गाएका तिए , जो मिथिला चित्रकलाको रूपमा रहेको छ । चित्रकार रन्जु भन्छन् , “ग्रामीण भेगका महिलाहरूले आफ्नो घर र भित्ता सजाउन जुन चित्र कार्छिन् , त्यो नै मिथिला चित्रकला हो । यसलाई लोककला पनि भनिन्छ । पहिले भूइँमा र भित्तामा चित्र कोर्ने गरिन्थ्यो, पछि क्यानभाससम्म आइपुगेको हो ।”
वरिष्ठ चित्रकार सुमनका अनुसार मिथिला पेन्टिङ कुनै समयमा करियरका लागि नभएर विधि व्यवहारसम्म मात्रै सिमित थियो । भारतीय मिथिला क्षेत्रमा सन् १९६० को दशकमा भित्ताबाट कागजमा सो चित्रकला उतारिएको मान्यता छ । नेपाली मिथिला क्षेत्रमा भने सन् १९९० तिर यसले थोरै व्यावसायिक आकार ग्रहण ग¥यो । २०५१ सालमा जनकपुरमा नारी विकास केन्द्रको स्थापना विदेशी महिला क्लेयर बर्केटले गरेक तिए । मिथिला चित्रकलालाई व्यावसायिक रूपमा अघि बढाउने उद्देश्यले सो संस्थाको स्थापनापश्चात् नै मिथिला चित्रकलालाई व्यावसायिकरूपमा लिन थालिएको हो ।
मिथिलाकी महिलाहरू सानैदेखि आफ्नो घर–आङ्ग र भित्ताहरूमा चित्र कोरेको देख्दै हुर्केका हुन्छन् । मिथिलाञ्चलमा मनाइने प्रायः प्रत्येक पर्व र विवाह आदिमा विधि–व्यवहारसम्बन्धी चित्र कोर्ने विशेष परम्परा रहेको छ । त्यस्तै धार्मिक अनुष्ठानका अरिपणलगायत विभिन्न चित्र अनिवार्य प्रायः भएकाले मिथिलाका चेलीहरूले चित्रकलाको ज्ञान एकप्रकारले विरासतमै पाएका हुन्छन् । यसबाट आर्थिक आम्दानी पनि राम्रो हुन थालेपछि युवा पुस्तामा मिथिला चित्रकलालाई आफ्नो करियरको रूपमा अगाडि बढाउने क्रम बढेको छ ।
अग्रजहरूका पदचाप पछ्याउँदै
झण्डै दुई दशकअघि वरिष्ठ चित्रकार मिथिलादेवी यादवले चित्रकलालाई आफ्नो जीविकोपार्जनको आधार बनाएकी थिईन् । उनी भन्छिन्, “त्यतिबेला मिथिला पेन्टिङलाई व्यावसायिक रूपमा खासै हेर्ने गरिएको थिएन ।” सानो उमेरमा बिहे गरेर साधारण परिवारमा गएकी मिथिलादेवीले अशिक्षाको अध्यारो आकाशलाई चित्रकलाको प्रकाशले दीप्त बताए । रङ र कुचीले आफ्नो सुनौलो भविष्य कोरे । परिवार पाल्नुपर्ने जिम्मेवारी अनायास आइलागेपछि उनले चित्रकलालाई नै जीविकाको माध्यम बनाउने आट गरिन् र सफल भईन पनि । उनले व्यावसायिक रूपमा मिथिला चित्रकलाको शुरुआत गर्दा थुप्रै महिलालाई यसमा जोडिन् । उनी नेपाल ललितकलाको प्राज्ञ परिषद सदस्यसमेत भइकेकी छिन् ।
त्यस्तै मिथिला चित्रकलालाई दशकौंअघि आफ्नो रोजगारको माध्यम बनाउनु भएको अर्को ख्यातिप्राप्त वरिष्ठ चित्रकार छन् विजयदत्त मणि । उनले जनकपुरमा बसेर मिथिला चित्रकलाको साधनामा जीवनयापन गर्नुभयो र आज पनि उत्तिकै सक्रिय हुनुहुन्छ । अर्का चर्चित वरिष्ठ चित्रकार अजित साह पनि चित्रकलामै स्थापित भएका छन् ।
महिला सशक्तीकरण, हिंसा र यातनाबारे अभिव्यक्त हुँदै कलाकार
युवा चित्रकार सुनयनाका अनुसार मिथिला चित्रकलालाई व्यावसायिक रूपमा अँगाल्ने महिलाहरूको सङ्ख्या बढ्दो छ । पहिले पारम्परिक विधि–व्यवहारका पेन्टिङ बनाउने महिलाहरूले यतिबेला महिला सशक्तीकरण, महिला हिंसा र यातनाबारे पेन्टिङमा बोल्न थाल्नु भएको छ । कला अभिव्यक्तिको माध्यम हो, हामी जुन समय र समाजमा बाँचेका हुन्छौं त्यसको सकारात्मक र नाकारात्मक दुवै पक्ष हाम्रो चित्रकलामा पनि अभिव्यक्त भएर आउँछ नै । हामी युवा छौं र हामीले भोगेको, देखेको र चाहेको परिवर्तनलाई नै आकार दिने हो । कुनैबेला स्वतःस्फूर्त रूपमा नै पारम्परिक चित्रकला आफैँ कोरिदैजान्छ क्यानभासमा भने संस्कृति र वातावरण पनि हाम्रो चित्रकलामा आउँछ । अहिलेका युवाहरूको चित्रकलामा प्रायः जनचेतना, परिवर्तन र विद्रोहको झल्को पाइन्छ । तर पारम्परिक चित्रकलाको आफ्नो मौलिक आकर्षण छदैँछ । यसले आयआर्जन पनि दिएको छ ।
अर्की युवा चित्रकार रन्जु सुनाउँछिन् , “मैले शुरुआत गर्दा यो क्षेत्रमा व्यावसायिकरूपमा लोगकी महिलाको सङ्ख्या न्यून थियो तर यतिबेला ह्वात्तै बढेको छ । समर्पणका साथ लाग्ने हो भने मिथिला चित्रकलाले नाम, दाम र आत्मसम्मान सबै दिन्छ । साथै अन्य कलाकारहरूले पनि आफ्नो फाइन आर्टमा मिथिलाको स्वाद दिने प्रचलन बढेको छ । उनी भन्छिन् , “मिथिला चित्रकला विश्वप्रसिद्ध भइसक्यो । फाइन आर्टका अन्य चित्रकलाहरू कुनै न कुनै कलासँग मेला खाइरहेको आभास पाउछौँ तर मिथिला चित्रकला अन्य कुनै कलासँग मिल्दैन । यो छुटै प्रकृतिको चित्रकला हो । अन्य समुदायबाट आएर मथिला चित्रकला गरिरहेका कलाकारहरूले भने विशुद्ध व्यावसायिक रूपमा गरिरहेका छन् ।”
मधेसको सकारात्मक विम्ब पनि
युवा कलाकार रन्जु सम्झिन्छन् , “मेरो एकल प्रदर्शनी अवलोकन गर्न बबरमहलस्थित आर्ट ग्यालरीमा आउनुभएको पूर्वमन्त्री मात्रिकाप्रसाद यादवले समाजिक विषयवस्तुमाथि यत्रो चित्र कोर्नुभयो तर विदेश जाने युवाहरूलाई समेट्नुभएन भन्नुभएको थियो । मधेसमा विदेश जानेको लर्को लाग्ने गर्छ, पुरुष त कमाउन विदेश उड्छन् तर उनको श्रीमती बालबच्चासहित दूरदराजमा कसरी बस्छिन् रु बच्चा बिरामी पर्दा कसरी अस्पताल पु¥याउँछिन् रु त्यही विषयमाथि मैले चित्र कोरेको थिएँ । मैले महिलाले साइकलमा बसाएर बच्चालाई स्कुल पु¥याएको र एक्लै खेतबारीमा काम गर्दैगरको चित्र मैले उनीलार्ई देखाउँदा उनले ताली बजाए ।
रन्जु भन्छिन् , ‘डिजास्टर टुरिज्म’ थिमको चित्रकलालाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्नुभएको थियो । खासमा मैले चित्रमा, बाढीले जलमग्न मधेसको अनुगमनमा नेता र मन्त्रीहरू हेलिकप्टरमा आउने र माथिमाथिबाटै उडेर फर्किने गरेको दृश्य कोरेको थिएँ । यो दृश्य हामीले प्रत्येक वर्ष बोहोर्ने गरेका छौं । मानौँ, मधेस ‘डिजास्टर टुरिज्म‘को एउटा केन्द्र नै हो । पूर्व प्रधानमन्त्री माधव नेपालले पनि फोन गरेर मलाई बधाई दिएका थिए । रन्जुको विदेशमै तीन वटा एकल प्रर्दशनी भइसकेका छन् भने थुप्रै समूहिक प्रर्दशनी पनि गरिसकेका छन् ।
बजारको खोजी
वरिष्ठ चित्रकार एस।सी। सुमन भन्छन् , “बजारको विस्तार भइरहेको छ, यतिबेला मान्छेमा कलाप्रति सचेतना बढेको छ । अहिले मधेस अथवा मैथिलहरू मात्रै नभएर सबैले मिथिला चित्रकलालाई आफ्नो घरको भित्ता, पर्खाल, आँगन, होटल, अफिस, सरकारी कार्यालयदेखि सार्वजनिक धरोहरहरूमा समेत सजाउन चाहन्छन् । घरमा पुस्तक हुुनुजत्तिकै अहम् भूमिका चित्रकलाको पनि भइसक्यो । यसले हाम्रो कलाप्रतिको अनुराग पनि झल्काउँछ । त्यसैले यसको माग बढ्दो छ । एकल र सामूहिक चित्रकला प्रदर्शनी, ग्यालरी, स्वदेशी–विदेशी बजार र क्राफ्टको माध्यमबाट पनि मिथिला चित्रकलालाई बजारसँग जोड्दै जानुपर्ने देखिन्छ ।
चित्रकार सुनयना भन्नुहुन्छ, “मिथिला चित्रकलालाई उपयुक्त बजारको अभाव छ । यसमा धेरै काम गर्नु पर्ने बाँकी छ । यद्यपि यसको बजारीकणका लागि हामीले नीति बनाएर हिँड्न सक्यौं भने यो ठूलो बजार बन्न सक्छ । सरकारको सहयोग पनि उत्तिकै आवश्यक छ ।” उहाँले काठमाडौंको ठमेलमा पनि आफ्नो आर्ट ग्यालरी सञ्चालन गर्नुभएको छ । कोरानाको समयमो अन्य व्यापारजस्तै चित्रकलाको व्यापारलाई पनि प्रभावित पारेको उहाँ बताउनुहुन्छ । उहाँको ग्यालरीमा मिथिला चिलकलाको अम्बार छ, पारम्परिक चित्रकलादेखि लिएर नारी सशक्तीकरण, वतावरण, विभेदविरुद्धको हुँकारलगायतका चित्रकलाले सजिएको छ । यस अतिरिक्त मिथिला चित्रकलाका साडी, सल, खादा, कप, ब्यागलगायतका उपहार दिन मिल्ने वस्तुहरू पनि उपलब्ध छ । विदेशी पर्यटकहरु पनि आर्ट ग्यालरीमा आएर विभिन्न चित्रकला खरिद गर्ने गर्दछन् ।
चित्रकला क्यान्भासमा मात्रै नगरेर साडी, कुर्ता, सलमा गरेर पनि आयआर्जन गर्न सकिने सुनयनाको भनाइ छ । उनी भन्छन , “यसले धेरै गृहणी महिला जो मिथिला चित्रकलामा निपुण हुनुहन्छ उहाँलाई घर बसीबसी काम गर्ने वातावरण हुन्छ ।” सङ्घीय र प्रदेश सरकारको सहयोगका साथ अघि बढ्यौं भने मिथिला चित्रकलामा नेपाल बृहत बजार बन्न सक्ने उहाँको तर्क छ । मिथिला चित्रकलाका पारखीहरूले मात्र चित्र अथवा क्राफ्ट किन्ने उहाँको अनुभव छ । दश जना महिलाको समूहबाट कामको शुरुआत गर्दै यतिबेला सुनयनाले २५ जनालाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगार दिएकी छिन् ।
वि.सं.२०८१ पुस २५ बिहीवार १३:५४ मा प्रकाशित






























