back
CTIZAN AD

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

वि.सं.२०८१ माघ १२ शनिवार

846 

shares

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन ।

बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उहाँहरूलाई निकै पिरोल्छ । यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् ।

सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहेकी छन् । चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न्यानो कपडासमेत नभएको उनले गुनासो गरिन् । खरले छाएको मुस्किलले चार जना टुसुक्क बस्न मिल्ने ठाउँमा पराल ओच्छ्याएर उनले बिस्तरा बनाएकी छन् । त्यसैमा उनको १० दिनको शिशु पनि सुताएकी छन् ।

दैनिक ज्याला मजदुरी गर्नु पर्ने परिवार चिसोका कारण बाहिर निस्कनसमेत नपाएका कारण दुई छाकको जोहोसमेत गर्न समस्या परेको उनकी सासु जितनी देवी माझीले बताइन् । “भुइको चिसो पनि आउँछ ।” सुत्केरी माझीले भनिन् “माथिबाट शीत चुहिरहन्छ । ओड्ने कुरा पनि राम्रो छैन् । बाँसको टाटीको प्वालबाट छिरेको चिसो स्याँठले मुटु छेडेर जान्छ ।”

जोनिताजस्तै सोही बस्तीकी २१ वर्षीया पुनीता माझीले पनि गत कात्तिकमा तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिइन् । सुरुमा चिसो कम हुँदा जसोतसो दिन रात कटाएकी उनलाई शीतलहर सुरु भएपछि भने समस्या भएको बताइन् । चिसोले रातभरि शिशु रोएर नसुत्ने उनले दुखेसो पोखिन् । चिसोका कारण आफू पनि निकै पटक बिरामी परिसकेको उनको भनाइ थियो ।

पुनिताका श्रीमान् पन्निलाल माझी र ससुरा हरिन्द्र माझी पनि मजदुरीका लागि पन्जाव पुगेका छन् । श्रीमान्ले कमाएर ल्याउलान र मिठो मसिनो खाने तथा बालबच्चा र आफूसमेतले न्यानो कपडा लगाउने आशमा रहेको पुनिताले बताइन् । कमाइ जम्मा भएपछि पठाउँछु भनेर श्रीमानले भनेको उनले सुनाइन् । सुत्ने ओछ्यान नजिकै बालेको घुर हेरेर रात कटाउने गरेको उनको दुखेसो छ ।

बस्तीकै अर्को कुनामा रहेको सानो बासको टाँटी र खरको मुस्किलले भित्र छिर्न मिल्ने छाप्रोमा २० वर्षकी विना माझी महिना दिनको छोरा च्यापेर बसिरहेकी छन् । “भुइमा राख्यो की चिसोले बच्चा रोही हाल्छ,” उनले भनिन्, “छातीमा च्यापी राख्यो भने न्यानो हुन्छ क्यार रुदैन ।” मङ्सिर अन्तिममा जन्मिएको छोराले पेटभरि दूधसमेत खान नपाएको उनले गुनासो गरिन् ।

चिसो बढेकाले परिवारको अन्य सदस्य मजदुरीमा जान नसक्दा आफूसमेतले कयैँन रात भोकै बस्नुपरेको भन्दै शिशुलाई खुवाउन दूध नआएको उनले सुनाइन् । बिनाका श्रीमान् पनि पन्जाबमा उखु काट्ने मजदुरको काम गरिरहेका छन् । सिजन सकिएपछि घर आउने उनको तयारी रहेको विनाले बताइन् । तर, आफू र शिशुलाई चिसोले धेरै सताइरहेको उनी गुनासो गर्छिन् ।

यस बस्तीमा चिसो सुरु भएपछि बच्चा जन्माएका अन्य आमा र शिशुको अवस्था उस्तै छ । न्यानो कपडा त परको कुरा दैनिक छाकको जोहोसमेत गर्न सबैको मुस्किल छ । अधिकांश परिवारका पुरुष कृषि मजदुरी गर्न भारतको पन्जाब गएका छन् । उनीहरु तीनदेखि चार महिनाको अन्तरमा केही कमाएर घर फर्कने गरेका बसवरिया गाउँपालिका–३, की वडासदस्य सिता देवी माझीले बताइन् ।

त्यति बेलासम्म परिवारले भोकै प्यासै बस्नुपर्ने वस्तीको बाध्यता रहेको उनले बताइन् । विपन्न परिवारका उनीहरूलाई सरसापटसमेत कसैले नपत्याउने भएकाले बनिबुतो यस बस्तीको एकमात्र जीवन धान्ने आधार रहेको वडासदस्य सिता देवीको भनाइ छ । वर्षामा पानीमा डुब्नु र हिउँदमा चिसोले कठ्याङ्ग्रिनु यस बस्तीको नियमित नियति रहेको उनले सुनाइन्

बस्तीका अन्य परिवारले पनि दिन रात घुर तापेर चिसो छल्ने प्रयास गरिरहेको बताएका छन् । व्यवस्थित बस्ने बाससमेत नभएका आफूहरूको लागि जाडो काल बनेर आउने गरेको स्थानीय मनवा देवी माझीले दुखेसो पाखिन् । गत वर्ष जाडोमा केही सामाजिक सङ्घ संस्थाले दिएका न्यानो कपडाको भरमा जाडो छलिरहेको उनको भनाइ थियो । “पहिला पाएको केही ओढ्नेले यस वर्ष पनि चिसो छेक्दै छु ।” उनले भिन् “यस पटक पाएको छैन्, चिसो धेरै भयो भने निन्द्रा लाग्दैन । रात भरी आगो तापेर जागै बस्छु ।”

स्थानीय पालिकाले विपन्नलाई राहत दिँदा सम्पन्नले पनि माग्ने भन्दै नदिने गरेका लक्षुमनिया देवीको भनाइ छ । गाउँ पालिकामा माग्न जाँदा भएकाले पनि माग्छन् । तिमीलाई कसरी दिनु भनेर त्यसै फर्काउने गरेका उनको गुनासो छ । आफू सबै ठाउँबाट चपेटामा परेको भन्दै विपन्न मुसहर परिवारले कष्टपूर्ण तरिकाले चिसोको करहबाट बाच्ने उपाय गरिरहेको उनले बताइन् ।

यता गाउँपालिकाले विगतमा राहतको व्यवस्था गरेको भएपछि यस पटक केही ढिला भएको पालिका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए । मुसहर परिवारको अवस्था दयनीय रहेको कुरा जानकारी नआएको भन्दै अध्यक्ष रायले त्यस्तो अवस्था भए बुझेर राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । विपन्नका लागि ल्याएको योजनामा विपक्षी र सम्पन्नले काम नै गर्न नदिने गरेको उनको गुनासो थियो ।

“यस गाउँका पाँच परिवारको घर गत चैतमा आगोले जलेर नष्ट भयो ।” उनले भने, “हामीले सिफारिस गरेर पठायौँ । पछि राजनीति गरेर अनेक गरेपछि उहाँहरूसमेतले जिल्ला विपद्मार्फत पाउने घर बनाउने पैसा पाउनुभएको छैन् । सुरुमा पालिकाले १०÷१० हजार नगद र केही खाद्यानन्न दिएका थियो ।” मधेशमा काम गर्न नदिने र गरेन भनेर बदनाम गर्ने प्रवृत्ति व्यापक बनेको उनले बताए ।
आगलागीबाट घरबार गुमाएका परिवार अहिले पनि चिसोमा आफन्तको कहाँ बसिरहेका छन् । आगोले उक्त वस्तीमा रहेको विन्देश्वर माझी, रामविश्वास माझी, दिनेश माझी, जोखु मुखिया र गुलरी देवीको घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । भने, रासनारायण माझी, मिश्री माझी, हरिनु माझी, नरेश राय, राजकिशोर मुखिया र गोपी मुखियाको घरमा आंशिक क्षति पुगेको वडा सदस्य सितादेवी माझीले बताइन् ।

 

वि.सं.२०८१ माघ १२ शनिवार ०५:५१ मा प्रकाशित

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...