back
CTIZAN AD

जनयुद्धका सहिदमाथि राज्यसत्ताको बज्र

वि.सं.२०८१ माघ १६ बुधवार

1.8K 

shares

काठमाडौँ । व्यक्तिगत वा पारिवारिक स्वार्थ भन्दा माथि उठेर समाज, राष्ट्र, देश र जनताको भलाइका लागि आफ्नो ज्यानको बलिदान दिने व्यक्ति सहिद हुन् । नेपालमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक परिवर्तनका लागि धेरैले आफ्नो बलिदानी दिएका छन् । प्रजातन्त्र स्थापना एवं पुनः स्थापनाका निम्ति भएको आन्दोलन तथा सङ्घर्ष, २०४६ सालको आन्दोलन, दश वर्षे जनयुद्ध, २०६२/६३ को संयुक्त जनआन्दोलन, मधेस आन्दोलन र त्यसपश्चात् पनि विभिन्न परिवर्तनका लागि विभिन्न व्यक्तिहरूले प्राणको आहुति दिएका छन् । विभिन्न कालखण्ड र परिस्थितिमा जनता र देशको भलाइका निम्ति प्राण आहुति दिने सहिदहरूलाई समान दुष्टिकासाथ सम्मान गरिनु राज्य र जिम्मेवार राजनीतिक दलहरूको कर्तव्य हो । यद्यपि दश वर्षे जनयुद्धमा माओवादीको तर्फबाट भएका सहिदहरूप्रति भने वर्तमान सरकार र विभिन्न राजनीतिकदलहरू अनुदार देखिन्छन् ।

विसं २००७ पछि प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिन्छ । प्रजातन्त्र स्थापना एवं पुनः स्थापनाका निम्ति ज्यान गुमाएका सहिदहरूको सम्झनामा मात्र माघ १६ गतेलाई दिवसका रूपमा मनाउने गरिएको किमार्थ होइन । सहिद दिवसमा प्रजातन्त्र स्थापना एवं पुनः स्थापना निम्ति ज्यान दिएका सहिदहरूलाई जति महत्त्व दिइन्छ त्यति महत्त्व त्यसपश्चात् भएका सहितदहरूलाई पनि दिनु राज्य र जिम्मेवार राजनीतिकदलहरुको दायित्व हो ।

माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्ध र जनयुद्धको जगमा भएको २०६२/६३ को जनआन्दोलनले ऐतिहासिक रूपमै नेपालमा सबैभन्दा ठुलो राजनीतिक परिवर्तन ल्यायो । यो परिवर्तनले दुई सय ४० वर्षीय सामन्ती राजतन्त्रलाई घुँडा टेकायो भने लाखौँ, उत्पीडित,, दलित, महिला, मुस्लिम, मधेसी, आदिवासी जनजाति, अल्पसङ्ख्यक समुदाय अधिकार सम्पन्न भए । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक, समावेशी स्थापना भयो । तर, राज्य यही महान् परिवर्तनका क्रममा भएका सहिदहरूप्रति वर्तमान सरकार र विभिन्न राजनीतिक दलहरुले सौतेनी व्यवहार गर्दै आएका छन् ।

संसारमा भएका ठुला ठुला परिवर्तनका क्रममा रगत बग्ने गरेको छ । भनिन्छ, ‘नवीन निर्माणका लागि पुरानो भत्काउनुपर्छ’ । त्यस्तै जस्तो नेपालमा पनि माओवादी जनयुद्धका क्रममा भौतिक तथा मानवीय क्षति अवश्य भएको छ । तर, दिगो शान्ति, विकास, समृद्धि र सामाजिक न्यायका लागि जनयुद्धले अतुलनीय भूमिका छ । यदि जनयुद्धका सहिदहरूले रगत नबगाएको भए हालको परिवर्तन सम्भव हुने थिएन । शान्ति प्रक्रियामा सहमति गर्दा होस् या नेपालको संविधान २०७२ जारी गर्दा सम्मको अवस्थामा होस् जनयुद्धलाई हिंसात्मक भनिएको छैन । जनयुद्धलाई गलत भनिएको छैन । जनयुद्धमा मृत्यु भएका विभिन्न व्यक्तिहरूलाई सहिद घोषणा गरिएको छ । उनीहरूलाई सहिद घोषणा गरिनु उनीहरू मर्नुको उद्देश्य सहित थियो भन्नु हो । तर, वर्तमान सत्ताको नेतृत्वकर्ता र सत्ता पक्षका विभिन्न नेताहरूले पूर्वाग्रह साँधेर जनयुद्धलाई हिंसात्मक भन्दै अपमान गरिरहेका छन् । यदि जनयुद्ध हिंसात्मक थियो भने त्यस क्रममा मृत्यु भएका व्यक्तिहरूलाई सहिद स्वीकार गर्नु पनि गलत हो ।

जनयुद्धका सहिदको सम्मानका विरुद्ध संवैधानिक निकाय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि २०७९ माघ २९ गतेको मन्त्रिपरिषद्ले फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरेको थियो । प्रचण्डको त्यो निर्णय सबै जनआन्दोलन, दश वर्षे जनयुद्ध र विभिन्न क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहीद, शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितलाई न्याय एवं उचित सम्मानको प्रतिकका रूपमा थियो । तर, गएको पौष ५ गते सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न भनेर आदेश जारी गर्यो । त्यसपश्चात्को बजेटमा सङ्घीय सरकार र मधेस सरकारले ‘जनयुद्ध’ शब्द प्रयोग गरेपछि अधिवक्ता ज्ञानेन्द्र आरणले दायर गरेको रिटमा पनि सर्वोच्चले सरकारी कामकाजको भाषामा जनयुद्ध शब्द प्रयोग नगर्नू भनेर आदेश जारी गर्यो । यसरी जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चले दिएको आदेश जनयुद्धका योद्धा, शहीद, शहीदका परिवार, बेपत्ता योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितहरूको सम्मानका विरुद्धमा छ ।

जनयुद्धप्रति सत्ता पक्षकाे खेदो : सहिदको अपमान

माओवादी जनयुद्धलाई संविधानले सशस्त्र विद्रोह भनेर परिभाषा गरेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई होच्याउँदै पटकपटक अभिव्यक्ति दिँदा जनयुद्धलाई ‘हिंसात्मक द्वन्द्व’ भन्ने गरेका छन् ।  गएको साउनमा पनि फेसबुकमा एक स्ट्याटसमार्फत नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले संविधानले ससत्र युद्ध भनेको माओवादी जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनेका थिए ।

उनको स्ट्याटस थियो, ‘हिंसात्मक द्वन्द्वलाई अन्त्य गरी बृहत् शान्ति सम्झौता भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा आज मुख्य दलहरूबिच सहमति भएको छ ।’ ओलीले त्यसै स्ट्याटसमा थपेका थिए, ‘संसद्को यसै अधिवेशनबाट विधेयक पारित भएपछि त्यस अनुरूपका आयोग बन्नेछन् र पीडादायी विगतलाई हामी शान्तिमा बदल्ने छौँ । नेपाललाई शान्त बनाउन सबै पक्षको साथ र सहकार्य जरुरी छ । सहकार्यका साथ हामी अघि बढ्ने छौँ ।’

यस अघि पनि प्रधानमन्त्री समेत रहेका ओलीले प्रतिनिधि सभाको रोस्टमैबाट संविधानले सशस्त्र विद्रोह भनेको जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनेका थिए । उनीसहित सत्ता पक्षका विभिन्न नेता, राजावादी दलका नेताहरूले समेत पटकपटक माओवादीले सञ्चालन गरेको जनयुद्धप्रति कटाक्ष गर्दै अभिव्यक्ति जनयुद्धलाई हिंसात्मक द्वन्द्व भन्ने गरेका छन् । सत्ता पक्षका नेताहरूको यो अभिव्यक्ति संविधानको मर्म र भावना विरुद्ध छ । जनयुद्धका सहिदहरूको सपना विरुद्ध छ । जनयुद्धमा मृत्यु भएका विभिन्न व्यक्तिहरूलाई सहिद स्वीकारेको अदालत र जनयुद्धमा मृत्यु भएका विभिन्न व्यक्तिहरूलाई सहिद भनेर घोषणा गरेका दलहरूले जनयुद्ध शब्द स्वीकार नगर्नु नैतिकता पतन हुनु हो ।

सहिद दिवसका दिन जनयुद्धका सहिदहरूको सम्मानका लागि राज्यले गरेका कार्यक्रमहरू पर्याप्त छैनन् । उनीहरूका सम्मानका लागि राज्यले थुप्रै विशेष कार्यक्रमको आयोजना आयोजना गर्नुपर्छ । राजनीतिकदलहरू पनि जनता, आफूले गरेको सहमति, पार्टीको नीति र नियतप्रति इमानदार छन् भने बृहत् शान्ति सम्झौतामा समेत स्वीकार गरेको जनयुद्धलाई गौरवका साथ जनयुद्ध भन्न सक्नुपर्छ । यदि जनयुद्धका क्रममा भएका सहिदहरूको पक्षमा विभिन्न कार्यक्रमसहित प्रचारप्रसाद गरिँदैन भने जनयुद्धका सहिदप्रति गरिएको घोर अपमान र उनीहरूको टाउकोमा राज्यले बज्र प्रहार गर्दैछ भन्दा पनि अत्युक्ति नहोला ।

वि.सं.२०८१ माघ १६ बुधवार १६:४६ मा प्रकाशित

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

नेपाल सनातनी कालदेखि नै कृषिप्रधान मुलुकका रूपमा परिचित छ ।...

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

आजको आधुनिक युगमा मानिसको जीवनशैली जति सहज बन्दै गएको छ,...

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

अहिले नेपाली कम्युनिस्ट पार्टी र एमाले विच प्रदेश स्तरमा सहकार्य...