
काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार गरिएको छ ।
दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई नेपालीहरूको नेपाली दूतावासको सहयोगमा उद्धार गरिएको हो ।
नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथूमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेकोे बताइएको छ ।
उनीहरुलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएको र गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस एयरलाइन्सको फलाइट नं. टिके २७४ मार्फत माल्दोवाबाट उडेर शुक्रवार दिउँसो काठमाडौँ आइपुुग्ने गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्रि केसीले जानकारी दिएका छन् ।
‘उहाँहरूको उद्धारको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँल लगायत, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दछु ।’ डा. केसीले भनेका छन् ।
वि.सं.२०८१ माघ २५ शुक्रवार १७:३४ मा प्रकाशित