काठमाडौँ । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित मिलनसार गेष्ट हाउसबाट ८ फिट २ इन्च लम्बाई र २ फिट २ इन्च चौडाई भएको चितुवाको जस्तो देखिने छाला १ थान सहित डोटी घर भएका २६ वर्षीय नरेश साउँदलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध अफिम सहित दुई जना पक्राउ
जीतपुरसिमरा उपमहानगरपालिका-२, बाट अवैध लागूऔषध अफिम करिब १३ किलोग्राम र नगद १ लाख ३३ हजार ६ सय ५५ रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने ५४ वर्षीय सुर्य बहादुर मोक्ताङ र मकवानपुर कैलाश गाउँपालिका–८ बस्ने ४५ वर्षीय भिम बहादुर मोक्ताङ रहेका छन् ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.२–०३–००१ प १६१४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा रहेको १३ वटा पोकाबाट उक्त अफिम फेला पारी चालक सुर्य बहादुर र स्कुटरमा सवार भिम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध गाँजा बरामद
जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब २७ किलो ९० ग्राम मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०२–०४४ प ६७५५ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा २ जना व्यक्तिहरूले मोटरसाइकल र झोला छाडी फरार भएपश्चात झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०८१ माघ ३० बुधवार ११:०० मा प्रकाशित






























