काठमाडौँ । सरकारले फेरि मोटरसाइकल चालकसहित यात्रुले पनि सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था खारेज भएको १८ वर्षपछि फेरि लागू गरिने भएको हो ।
सरकारले २०६१ सालदेखि मोटरसाइकलका चालकसहित अन्य सवार यात्रुले अनिवार्य हेल्मेट लगाउनुपर्ने व्यवस्था गरेको थियो । तर, २०६२–०६३ को जनआन्दोलनपछि गठित सरकारले ‘सम्पूर्ण शाहीकालीन आदेश तथा निर्देश खारेज हुने’ भनी एकमुष्ट निर्णय गरेपछि दुई हेल्मेटको व्यवस्था खारेज भएको थियो ।
सरकारले संसदमा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा त्यस्तो व्यवस्था गरेको छ ।
‘सडक यातायात सेवालाई सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई सर्वसाधारण जनतालाई सरल, सुलभ र गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन वाञ्छनीय भएकोले’ उक्त विधेयक अगाडि बढाइएको प्रस्तावनामा उल्लेख छ ।
विधेयकको दफा ४२ को उपदफा ३ मा ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख छ ।
उपदफा ४ मा त्यस्ता सवारी साधनमा यात्रा गर्ने १० वर्षमुनिका वा १३५ सेन्टिमीटरभन्दा कम उचाई भएका बालबालिकाका लागि छुट्टै सीट (चाइल्ड रिस्ट्रेन्ट) को व्यवस्था गर्ने उल्लेख छ । उपदफा ५ ले त्यस्ता सवारी साधन चलाउँदा बालबालिकालाई अगाडिको सीटमा राख्न नपाइने व्यवस्था गरेको छ ।
मस्यौदामा के छ पढ्नुहोस्
वि.सं.२०८१ फागुन २० मंगलवार १३:१४ मा प्रकाशित






























