back
CTIZAN AD

कविता : के म, मभित्र छु ?

वि.सं.२०८१ चैत २३ शनिवार

2.4K 

shares

सिर्जना खनाल, श्रीकेश निवास, भैरहवा

जिन्दगीको
उकाली ओरालीमा
जन्मिएका भावसँगै
रचिएका कथा छन्
सुखको
प्रतीक्षा गर्दागर्दै
रन्थनिएका व्यथा छन्
कथाव्यथाले ब्यूँझाएका
अनगिन्ती रात छन्
हो, त्यही रात
जहाँ मभित्रको
म भेट्टाउन
मेरो मन कुदिरहेको छ
ठोक्किएर होस्
या हुत्तिएर
आशामा अडिग छ
एउटा याद बनेर
हराउन मन छ
भित्रभित्रै
मुटुको ढुक्ढुकीको
साथ छ
घडीको सुइले
लखेटेको छ
तर पनि
उद्देश्य अनुरूप चल्ने
साहस
बाहिरी आवरणमा
अटेको छ
भाका
भाषा
र आशा
अझै खासा लाग्ने
चिन्ता होइन
चिन्तनमा दाइएको अनुहार
मात्र ऐना बनेर
छर्लङ्ग देखिनुको सट्टा
बादल लागेको
परिवेश छ
दृश्यमा छाउने दृष्टिले
गिज्याइरहेको छ
सम्पूर्णमा पूर्णको
चाहना बोकेको
इसाराले घच्घचाइरहेको
बाहिरी संसारभन्दा
रित्तो भएर पनि
हृदयको पानामा
अदृश्य अक्षरद्वारा
भाव पोख्ने
मसीले दिने
आनन्द खोजिरहेको
मभित्रको मको
पालनहार बन्न सकूँ
जीवन
र मरणको
अन्तर बुझ्न सकूँ
मैले मेरो भित्री म
चिन्नु छ
भेट्नु छ
र हरेक प्रश्नका
उत्तर पनि
माग्नु छ
अनि त्यसैको आलिङ्गनमा
सदा सदाको निम्ति
हराउनु पनि छ
हलुका हावामा हिँडेर होइन
परम्परागत अन्ध वहावमा कुदेर होइन
सङ्कल्प समाधिका
अन्तर तर
अनन्त गहिराइमा
जहाँ कुनै भेदभाव हुन्न
सीमा रेखा रहन्नन्
कुनै आग्रह
पूर्वाग्रहका
समयकटानका पाना पल्टिन्नन्
त्यो पर्दाहीन
रङ्गहीन
तामझामविहीन
विना रङ्गरौसको
विना नृत्य नौटङ्कीको
अन्तराकाशभित्र पौडेपछि
प्राप्त मभित्रको म
सतह देख्ने आँखामा उभिन्न
यस यात्राको गहिराइ छाम्न
छुन ठम्याउन
के मेरा पाइला
कतै अग्रसर छन् र ?
के म, मभित्र छु ??

वि.सं.२०८१ चैत २३ शनिवार ०९:०६ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...