back
CTIZAN AD

कविता : नेपाल मेरो घर

वि.सं.२०८२ जेठ ३ शनिवार

3.2K 

shares

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’
बालाजु, काठमाडौँ

अग्लो श्वेत हिमाल सौम्य चुचुरो, कैलाशझैँ श्रेष्ठ छ ।
नेपाली शिरमा छ ताजसरिझैँ, नेपालको सान छ ।।
रातो चन्द्र र सूर्य अङ्कित छटा, झन्डा छ क्या सुन्दर ।
उम्दा तीर्थ महेशको महल हो, नेपाल मेरो घर ।१।

हाम्रो उत्तरपट्टि चीन छ बडा, सम्पन्नको देश हो।
साथै दक्षिणपट्टि भारत सधैँ, अर्को छिमेकी छ त्यो ।।
यस्ता अब्बल देशका निकटमा, नेपाल होस् सुन्दर ।
वार्ता मेल र शान्तिको गठन हो, नेपाल मेरो घर।२।

झर्ना झर्दछ बग्छ तीव्र गतिले, झङ्कार बाजा धरी ।
बाह्रैमास सुसाउँछन् नदनदी, जागेर यात्रीसरि।।
नाच्दै गाउँछ कोइली रहरले, मैनाचरी सुन्दर ।
डाँफे राष्ट्रिय चिन्ह हो गजबको, नेपाल मेरो घर ।३।

हात्ती डुल्छ मधेस उष्ण थलमा, गैँडा छ अर्कोतिर ।
कस्तूरी मृग रम्दछन् वनवनै, खेल्छन् जरायो वर ।।
चौँरी याक हिमालका प्रमुख हुन्, हुन्छन् बडा जब्बर ।
सारा जीव समस्तका चरन हो, नेपाल मेरो घर ।४।

किल्ला पर्वत दुर्ग जङ्गल बुटी, गुम्बा र छन् मन्दिर ।
हेर्छन् आज घुमेर पर्यटकले, पाखा कुना पत्थर ।।
गुर्जो जिम्बु सयौँ इलाज रस छन्, डाँडा र कान्लातिर ।
बोझो किम्बु गुराँसका सगर हो, नेपाल मेरो घर ।५।

सानो राष्ट्र छ भव्य गौरव उँचो, सङ्घर्षमा उच्च छ ।
धेरै वर्ग र जातिको मिलनको, उद्यानझैँ रम्य छ ।
योद्धा ती बलभद्र भक्ति जनका, कस्तो ! थियो जाँगर ।
सच्चा नायक वीरका जमिन हो, नेपाल मेरो घर ।६।

भाषा संस्कृति भिन्न धर्म र कला, छन् धेर नेपालमा ।
हाम्रा मानिस वेद मुन्धुमहरू, पढ्छन् सबै साथमा ।।
साझा आश्रम हो समस्त मुनिका, छर्छन् प्रभा भास्कर ।
ज्ञानी गौतम व्यासका विपिन हो, नेपाल मेरो घर ।७।

छन्द – शार्दूलविक्रीडित
गणः म स ज स त त गु
गण सङ्केत – SSS    IIS    ISI     IIS    SSI      SSI     S

वि.सं.२०८२ जेठ ३ शनिवार ०७:४२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...