काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतलाई बिजुली बेच्दा सकेसम्म अधिक मुल्यमा बेच्ने र भारतबाट किन्नुपरेमा सकेससम्म न्युनतम मूल्यमा किन्ने रणनीतिका साथ उर्जा व्यापार सुरु गरेको छ । देशमा आवश्यकता भन्दा बढी बिजुली उत्पादन हुँदा भारत र बंगलादेशलाई बेच्ने र नपुग्दा भारतबाटै किन्ने गरिएको छ ।
प्राधिकरणले गत जेठ ११ गते दिउँसो भारतको उर्जा विनिमय बजार अइएक्सको रियल टाईम बजारमा बिजुलीको भाउ प्रति मेगावाट घण्टा सरदर ७२ पैसा भारतीय रुपैया भएका बेला हाल सम्मकै सबैभन्दा सस्तो दरमा ३ हजार ८ सय ४० मेगावाट घण्टा बिजुली किनेको थियो । सोही दिन बेलुका भने भारतलाई भारतीय रुपैया ६.६०को दरमा मा ५ सय २७ मेगावाट घण्टा बिजुली निर्यात गर्न प्राधिकरण सफल भयो ।
नेपाल र भारतबीचको उर्जा किनबेच प्रचलित अन्तर्राष्ट्रिय प्रणालीहरु रियल टाइम मार्केट र डे अहेड मार्केट संयन्त्रमार्फत हुने गरेको छ । “प्राधिकरणले समय र उर्जाको माग अनुसार दुवै संयन्त्र प्रयोग गरी परिष्कृत व्यवस्थापन रणनीति अपनाउँदा यो लाभ प्राप्त भएको हो”, प्राधिकरणका प्रबक्ता राजन ढकालले बताउछन् । यो रणनीति नेपालको ऊर्जा सुरक्षा र राजस्व वृद्धिका लागि लाभदायक सावित भएको पनि उनले बताए ।
रियल टाइम मार्केट प्रणाली अनुसार उर्जा बजारमा १५ ÷१५ मिनेटमा अद्यावधिक हुने उर्जा मूल्य अनुसार बढाबढ वा घटाघट गरी किनबेच हुन्छ । यसै गरी डे अहेड मार्केट प्रणालीमा भने २४ घन्टा अगाडी नै आफूले बेच्ने वा किन्ने विद्युत्तको परिमाण सुनिश्चित गरी किनबेच गरिन्छ । “हामीले आन्तरिक माग र निर्यात गर्न सक्ने बिजुलीको परिमाण, निर्यात गर्न सकिने उर्जा आदिको समीक्षा गरी विद्युत्तको आयात÷निर्यात गरिरहेका छौं”, उनले थपे ।
भारतीय ऊर्जा बजारको तथ्यांकले समेत गत जेठ २ देखि ९ गते सम्मको प्राधिकरणले उर्जा व्यापारमा नाफा गरेको देखाएको छ । त्यस अवधिमा प्राधिकरणले डे अहेड मार्केट संयन्त्र मार्फत १७ हजार ७ सय ६२ मेगावाट÷आवर परिमाणको विजुली औसत भारू २.६९९ प्रति युनिटमा आयात गरेको थियो । त्यतिबेला उक्त संयन्त्रमा बिजुलीको मूल्य प्रति युनिट न्यूनतम भारू २.४८ देखि अधिकतम भारू ३.५७ सम्ममा किनबेच भएको थियो ।
सोहि अवधिमा अझ सस्तो दरमा रियल टाइम मार्केट संयन्त्रको प्रयोग गरी ९ हजार ८ सय ८० मेगावाट÷आवर भारू २.११६ प्रति युनिटमा आयात गर्न प्राधिकरण सफल भएको थियो । “बजारमा उर्जाको मुल्यमा उतार चढाव भएका बेला देशलाई लाभ हुने गरी अवसरको सदुपयोग गरिएको हो”, उनको भनाई छ ।
प्राधिकरणले उर्जाको माग कम हुने र सस्तोमा पाइने समय अर्थात् दिउँसो भारतबाट आयात गरी आफ्ना विद्युत केन्द्रका जलाशयमा पानी भरेर राख्ने र त्यसलाई माग बढी भएको समयमा प्रयोग गर्ने रणनीति अपनाएको ढकालको भनाई छ । “जलासययुक्त र पिकिङ रन अफ रिभर भएका विद्युत्त उत्पादन गृहमा यसरी पानी सञ्चित गरी राख्दा उर्जाको माग र मुल्य दुवै उच्च भएको बेलामा आन्तरिक खपत गरेर पनि विजुली उब्रिने अवस्था बन्छ, जसलाई उच्चमूल्यमा बेच्न सकिन्छ”, उनले बताए ।
यस अवधिमा प्राधिकरणले ८ हजार ४ सय १७ मेगावाटआवर बिजुली प्रति युनिट औसत भारू ३.२२ मा निर्यात गर्न सफल भएकोले यो रणनीति उपयोगी सावित भएको पनि ढकालले बताए । यसै गरी जेठ २ देखि ९ गते सम्ममा भारतबाट २७ हजार ६ सय ४५ मेगावाट आवर ऊर्जा औसत ३.३७ रुपैयाँमा आयात गरेको नेपालले बेच्दा भने औसत ५.१५ रुपैयाँमा ८ हजार ४ सय १७ मेगावाट आवर ऊर्जा निर्यात गर्न सफल भएको छ ।
दिउँसो किनेर आफ्ना जलाशयमो पानी संचय गरेर राख्ने र घाम कम भएको समय अर्थात् सौर्य उर्जाबाट विद्युत्त ननिस्कीने समयमा निर्यात गर्न सके बढी मूल्य पाइने अवस्था छ, उनले थपे । नेपाल र भारत बीच ४०० केभी ढल्केबर–मुजफ्फरपुर र १३२ केभी सीमापार प्रसारण लाइनहरू (तनकपुर–महेन्द्रनगर, कुशाहा–कटैया, रक्सौल–परवानीपुर, गण्डक–राम नगर, र मैनहिया–सम्पातिया) द्वारा मार्फत हुने गरेको छ ।
वि.सं.२०८२ जेठ १३ मंगलवार १४:२९ मा प्रकाशित




























