
अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा आदिवासी जनजाती साँस्कृतिक साँझ भव्य रूपमा सम्पन्न भएको छ ।
शुक्रबार न्युयोर्कको वुडसाईड स्थित गुलशन टेरेश हलमा १८ वटा फिप्नाका सदस्य संस्थाहरु र विभिन्न नेपाली संघ तथा सँस्थाहरूको उपस्थितिमा उक्त सांस्कृतिक साँझ सम्पन्न भएको हो ।
कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरुले आ–आफ्नो संस्कृति झल्किने जनजाति भेषभुषा सहित सांस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनजाती आदिवासीहरुको लागी मात्र नभएर सम्पुर्ण उत्पिडीत जातजाती र समुदायको समान हक र अधिकारको लागि उभिनु हो भन्ने कुरा फिप्नाका बरिष्ठ उपाध्यक्ष पेमा लामाले बताए ।
सो कार्यक्रममा १८ वटै फिप्नाका सदस्य संस्थाहरुले गरेको अतुलनिय योगदानको कदर गर्दै यही जुलाई ९ तारिकको दिनमा हुने आदिवासी जनजाति दिवस कार्यक्रममा पनि सबै जनजाति संस्थाहरू र नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूले उपस्थिति जनाई कार्यक्रम सफल बनाउन फिप्ना अध्यक्ष तोरण गुरूङले आग्रह गरे ।
कार्यक्रममालाई सफल बनाउन स्पोन्सर, स्वयंसेवक र फिप्नाका १८ सदस्य संस्था तथा कलाकारहरूलाई फिप्ना अध्यक्ष तोरण गुरुङ र सभामुख भारती राईको हातबाट विशेष सम्मान पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमको पहिलो औपचारिक कार्यक्रम सन्चालन फिप्नाका महासचिब दिपक चौधरी र सचिव दाजिमा शेर्पाले गरेका थिए भने, दोस्रो सेसन सांस्कृतिक कार्यक्रमको सन्चालन महिला उपाध्यक्ष ममता राई र सचिव दाजिमा शेर्पाले गरेका थिए ।
उक्त कार्यक्रममा उपस्थित अतिथिहरूलाई क्षेत्रिय उपाध्यक्ष पूर्णबहादुर पाईजा मगर र कोषाध्यक्ष कृष्णमाया महर्जनले स्वागत गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन आदिवासी जनजाति १८ वटा सदस्य संस्थाहरु, विभिन्न प्रायोजकहरु, स्वयम् सेवकहरु, फिप्ना कार्य समितिहरूलाई हार्दीक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन भएको घोषणा अध्यक्ष तोरण गुरुङले गरेका थिए ।
वि.सं.२०८२ असार १५ आइतवार १९:२१ मा प्रकाशित