लागोस, नाइजेरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अफ्रिकामा रहेका एनआरएनए एनसीसी तथा नेपाली समुदायले सहयोग अभियान तीव्र बनाएका छन्।
हालसम्म एनआरएनए नाइजेरियाले २६ लाख, कंगोले १५ लाख र घानाले १ लाख ५० हजार रुपैयाँ संकलन गरेका छन्। केन्या, सेसेल्स, तान्जानिया, दक्षिण अफ्रिका, बोत्स्वाना, इक्वेटोरियल गिनी, मोजाम्बिक र रुवान्डालगायतका देशमा पनि सहयोग संकलन जारी छ।
एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले १० हजार १०१ अमेरिकी डलर सहयोग घोषणा गरेकी छन्। अफ्रिकाबाट एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा गरिएको पूर्व कोषाध्यक्ष हिक्मत थापाले बताएका छन्।
संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत तथा पुनःस्थापनामा प्रयोग गरिने जनाइएको छ। अफ्रिकास्थित नेपाली समुदायको सक्रियताले विपद्को समयमा मातृभूमिप्रतिको ऐक्यबद्धता र मानवीय भावना थप बलियो बनाएको एनआरएनएले जनाएको छ।
वि.सं.२०८३ भदौ १७ बुधवार १३:१७ मा प्रकाशित






























