back
CTIZAN AD

आन्तरिक ऋण शतप्रतिशत उठ्दा बाह्य ऋण ५७ प्रतिशतमा खुम्चियो

वि.सं.२०८२ साउन १४ बुधवार

852 

shares

काठमाडौँ । गत आर्थिक वर्ष २०८१-८२ मा सरकारले आन्तरिक ऋण शतप्रतिशत उठाउँदा बाह्य ऋण भने ५७ प्रतिशत हाराहारी मात्रै उठाउन सकेको देखिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत असार मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा आन्तरिक ऋणका लागि राखिएको तीन खर्ब ३० अर्बको लक्ष्य शतप्रतिशत पूरा भएको छ । तर, बाह्य ऋणतर्फ २ खर्ब १७ अर्ब उठाउने भनिएकोमा ५७ दशमलव ७९ प्रतिशत अर्थात् १ खर्ब २५ अर्ब ३९ करोड ९९ लाख मात्रै उठाइएको हो । अर्थात् गत आर्थिक वर्षमा सरकारले ९१ अर्ब ६० करोड १ लाख रुपैयाँ बराबर बाह्य ऋण उठाउन सकेन ।

सरकारको पुँजीगत खर्च न्यून हुनु र विकास आयोजनाको काम तोकिएको समयमा सम्पन्न हुन नसक्दा लक्ष्यअनुसार बाह्य ऋण उठाउन नसकिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिए । ‘पुँजीगत खर्च पर्याप्त नहुँदा र आयोजनाहरूको काम समयमा नसकिँदा सबै बाह्य ऋण उठाउन सकिएन । सरकारका वार्षिक आयोजना तथा कार्यक्रमहरूमा पहिले हाम्रो आफ्नै स्रोतबाट खर्च हुने र पछि ऋणदाताबाट शोधभर्ना गर्नुपर्ने हुन्छ । तर, काम नै सम्पन्न नभएपछि त्यसको शोधभर्ना पनि माग्न मिलेन । यसकारण बाह्य ऋण कम उठेको हो,’ कोइरालाले भने ।

तुलनात्मक रूपमा आन्तरिक ऋणभन्दा बाह्य ऋणको ब्याजदर सस्तो हुने र भुक्तानी अवधि पनि लामो हुन्छ । अर्कोतर्फ आन्तरिक ऋणलाई चालुगत प्रकृतिका शीर्षकमा सरकारले जथाभावी खर्च गर्ने तर बाह्य ऋणलाई ऋणदाताले समेत पुँजीगत प्रकृतिका र पुँजी निर्माणमा बढी केन्द्रित गर्नुपर्ने सर्त राख्ने भएकाले बाह्य ऋणलाई बढी प्रभावकारी मानिन्छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुनुपर्ने कर्जालाई सरकारले नै प्रयोग गरिदिँदा मुद्राबजारमा समेत त्यसको असर देखिने गरेको छ ।

गत आर्थिक वर्षमा सरकारले कुल पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये चार खर्ब ५५ अर्ब ३९ करोड प्राप्त भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा गत आर्थिक वर्षको कुल सार्वजनिक ऋण प्राप्ति ८३ दशमलव २५ प्रतिशत हो ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै २ खर्ब ३१ अर्ब आठ करोड थपिएर कूल सरकारी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ७१ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा असार मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ४९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ५१ प्रतिशत छ । कार्यालयका अनुसार हाल सरकारले १२ खर्ब ६३ अर्ब छ करोड ४५ लाख आन्तरिक र १४ खर्ब एक अर्ब ३५ करोड २८ लाख बाह्य ऋण तिर्न बाँकी छ । कुल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋण २२ दशमलव १४ र बाह्य ऋण २४ दशमलव ५६ प्रतिशत हुन आउँछ ।

त्यस्तै, गत आर्थिक वर्षमा सरकारी ऋणको साँवा ब्याज भुक्तानीका लागि चार खर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । ‘आर्थिक वर्ष २०८१-८२ मा ऋण सेवा खर्चमा ४ खर्ब दुई अर्ब ८५ करोड विनियोजन भएकोमा असार मसान्तसम्म ३ खर्ब ६२ अर्ब ५९ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ९० दशमलव ०१ प्रतिशत हो,’ कार्यालयको मासिक प्रतिवेदनमा भनिएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा असार मसान्तसम्ममा ऋण सेवा खर्च पाँच दशमलव ९४ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीको लागि ३ खर्ब ४ अर्ब १९ करोड १२ लाख खर्च गरेको छ भने बाह्य ऋणको साँवा ब्याज भुक्तानीका लागि ५८ अर्ब ४० करोड १३ लाख रुपैयाँ खर्चिएको छ । रासस

वि.सं.२०८२ साउन १४ बुधवार १३:४५ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...