काठमाडौँ । त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाले त्रिविका उपसचिव वा सो सरह र सो भन्दा माथिल्लो तहका कर्मचारीहरुको प्रशिक्षक प्रशिक्षण (TOT) तालिम सम्पन्न गरेको छ ।
त्रिविको प्रशासनिक जनशक्तिलाई समयानुकुल परिवर्तन गर्दै, समय सापेक्ष प्रविधिलाई आत्मसात गराउँदै निरन्तर त्रिविको लक्ष्य र उद्देश्य प्राप्त गर्न विश्वविद्यालय अनुदान आयोगको आर्थिक संयोजनमा त्रिभुवन विश्वविद्यालय जनशक्ति विकास तथा कल्याण परिषद अन्तर्गत त्रिवि समन्वय महाशाखाले मिति २०८२ भाद्र २२ देखि ३० सम्म ९ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम तय गरि संचालन गरेको थियो ।
जेन्जी आन्दोलनका कारण भाद्र २४ गतेदेखि स्थगित भएको उक्त तालिम पुनः २०८२ आश्विन २६ देखि कार्तिक १ गतेसम्म काठमाडौंमै सम्पन्न भएको हो । त्रिभुवन विश्वविद्यालयका उपसचिव वा सो सरह र सो भन्दा माथिल्लो पदका ३० जना वरिष्ठ अधिकृत कर्मचारीहरुको सहभागीता रहेको थियाे ।
उक्त तालिमको समुदघाटनमा प्रमुख अतिथि रहेका त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले तालिम निरन्तर हुने र तालिमबाट सिकेर अन्य कर्मचारीहरुको तालिममा प्रशिक्षक बन्न निर्देशन दिए । उद्घाटन समारोहमा राजवहादुर राई, छत्रवहादुर कार्की लगायतले बोलेका थिए ।
कार्तिक १ गते शनिवार गरिएको तालिमको समापन समारोहमा प्रमुख अतिथि त्रिविका पूर्व रजिष्टार प्रा डा चन्द्रमणी पौडेलले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै विश्वविद्यालयमा सुशासन कायम गर्न कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । नियम संगत फाइल केलाएर सदर गराउन सहभागीहरुलाई निर्देशन दिए । समापन समारोहमा बोल्दै त्रिवि लेखापरिक्षण महाशाखा प्रमुख पुष्पनारायण श्रेष्ठले बेरुजु घटाउन सबैले पहल गर्नुपर्ने बताए । त्यस्तै विश्वविद्यालय अनुदान आयोगका सहायक निर्देशक राजकुमार नेपालीले तालिमको निरन्तरता होस् र यसका लागि आफूले कार्यालयको तर्फबाट गर्नुपर्ने सबै सहयोगको लागि भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै मापदन्ड भित्र तालिम सम्पन्न गरेकोमा त्रिवि र समन्वय महाशाखालाई विशेष धन्यवाद दिए ।
त्रिवि समन्वय महाशाखा प्रमुख दिपक तिवारीको सभापतित्वमा सम्पन्न समापन समारोहमा (TOT) तालिम लिएका सहभागीहरुले अबका तालिममा प्रशिक्षककै भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
समापन समारोहको संचालन भानुभक्त रेग्मीले गरेका थिए भने त्रिवि प्राज्ञिक परिषदका प्रमुख केदारनाथ ढकाल, त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख लिली थापा, त्रिवि सेवा आयोगका प्रमुख विष्णुप्रसाद अर्याल, त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी, उपकुलपति कार्यालयका प्रमुख गणेश आचार्य लगायतका त्रिविका विभागीय प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
नेपालकै ठूलो र ऐतिहासिक विश्वविद्यालय त्रिविमा झन्डै ८ हजार कर्मचारी र १० हजार शिक्षकहरु रहेका छन् ।
वि.सं.२०८२ कात्तिक १ शनिवार २०:०७ मा प्रकाशित






























