काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ। जेनजी आन्दोलनपछि विभिन्न दल, समूह र व्यक्तिहरूसँग भएका संवादहरूको समीक्षासहित मंगलबार बसेको सचिवालय बैठकले सम्भावित राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन एकता अपरिहार्य रहेको निष्कर्ष निकालेको हो।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, यही मंसिर ३ गते बसेको केन्द्रीय समिति बैठकको निर्देशनअनुसार वैकल्पिक शक्तिहरूबीच समन्वय र सहकार्यको प्रक्रिया अगाडि बढाउन सचिवालयले आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। बैठकले पार्टी संगठन तथा संरचनासम्बन्धी अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ।
सचिवालय बैठकका प्रमुख निर्णयहरू
वैकल्पिक शक्तिहरूलाई एकताबारे आह्वान
– विभिन्न दल, समूह र व्यक्तिहरूसँग भएका संवादको प्रगति सम्बन्धी उच्च संवाद समितिबाट ब्रिफिङ।
– सुशासन र द्रुत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरूलाई देशको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक शक्ति निर्माण गर्न एकजुट हुन आग्रह।
केन्द्रीय निकायका रिक्त पद पूर्ति
– केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगका रिक्त पदहरू पूर्तिका लागि योग्य केन्द्रीय समिति सदस्यहरूको नाम सिफारिस गर्न आग्रह।
प्रदेश संरचना पुनर्स्थापना
– प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई धन्यवाद दिँदै आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी तोक्ने।
– प्रदेश इन्चार्जको नयाँ जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई प्रदान गर्ने निर्णय।
र्यापिड एक्सन टिम गठन
– सबै पालिकामा पार्टीको “र्यापिड एक्सन टिम (RAT)” गठन गर्ने।
– यसको लागि प्रदेश र जिल्ला संगठनलाई आवश्यक निर्देशन प्रदान गर्ने।
कीर्तिपुर नगर समिति विघटन
– कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय।
वि.सं.२०८२ मंसिर १० बुधवार ११:४१ मा प्रकाशित






























