घर–आगनदेखि
न्यायालयसम्म
जीवितै रहन्छ
न्यायको तराजु ।
तर
तराजु मुसार्नेहरुको
आँखामा पट्टी भए पनि
आँखा बन्द रहेन
तराजुको ।
उसले देख्छ
उसले छुट्याउँछ
पसिनाको पीडादायी भारी
अत्तरको आलिसान घारी
ज्याक, ढ्याक र प्याकको पल्ला
सत्य कर्म र निष्ठाको पल्ला
अनि गुमाउँछ
सन्तुलन र मानमर्दन
तराजुले ।
त्यसैले,
कालो कर्तुतमा
मौनताको
सेतो स्टिकर टाँसेर
सानोलाई ऐन
ठुलोलाई चैन
भइरहन्छ यहाँ ।
तराजुको
इमान जमान किन डराउँछ ?
मानमर्दन किन हराउँछ ?
किन आजसम्म
प्रश्नको भारी बोकेर
अनुत्तरित छ तराजु ?
डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नागार्जुन–१०, काठमाडौँ
मंसिर २३, २०८२
वि.सं.२०८२ मंसिर २४ बुधवार १४:५५ मा प्रकाशित




























