मनीषकुमार शर्मा ‘समित’
मध्यपुर, ठिमी, भक्तपुर
उसलाई विश्वास भयो, दुई जना मिले जीवन सजिलो हुन्छ । त्यसैले उसले प्रेम जोड्यो ( + ), सपनाहरूलाई गुणन ( x ) गर्यो, आशाहरू भाग ( \ ) लगायो।
तर समाजको पाठ्यपुस्तक फरक थियो–
जात + जात = दूरी,
गरिब + गरिब = बोझ
ऊ गलेन। उसले इमानदारिता थप्यो । संघर्ष घटायो। धैर्यलाई वर्ग ( x२ ) गर्यो ।
फेरि पनि अवसर सधैँ झैं शून्य ( ० ) मा आयो।
अन्ततः उसले नयाँ सूत्र बनायो, सबै कुरा घटाएर ( – ) आफूलाई मात्रै बाँकी राख्यो।
जीवनको अन्तिम हिसाबमा उसले निश्कर्ष निकाल्यो–
सबैसँग जोडिँदा म घटेँ, आफैँसँग जोडिँदा पहिलो पटक १ भएँ ।
वि.सं.२०८२ पुस १२ शनिवार ०५:५३ मा प्रकाशित






























