back
CTIZAN AD

कविता : नीतिका कुरा

वि.सं.२०८२ पुस १२ शनिवार

864 

shares

घनश्याम पौडेल,पोखरा

देखेछौँ कमिला सदैब सजिलै चढ्ने उकालो पनि
राजा जङ्गलको हुँदैन चितुवा हुन्नन् बिरालो पनि ।
उस्तै काम भनी हुदैन कहिल्यै बोका खसी दाउनु
छापावाल भनेर फेरि त्यसमा केको कसी लाउनु ।१।

हात्ती पाल्न तयार हुन्छ मनुवा सित्तै मिलेको भए
ठेकी फाल्दिन ऑट गर्छ भतुवा रित्तै दिएको भए ।
खाली हात दिँदा कदापि नलिने मान्छेहरूको मति
वैरीको मुखसम्म हेर्न नहुने चाहे दियोस् ओखति।२।

लाखौँलाख कमाउने तर अझै पर्ने अरूको भर
आफै बोल्छ हुँदैन इज्जत भनी मान्दैन केही डर।
मौका जुर्नु परेन चाड कहिल्यै आफू सधैँ रंगिने
राती बाह्र बजे उठाउन हुने सोध्यो भने जंगिने ।३।

फिस्टो भन्दछ मै हुँ यो गगनको सर्वस्व थेग्ने चरो
दुम्सीले पनि सोच्न पाउनु पर्यो मै यो उखेल्ने जरो।
भैँसीले सिङ बोक्दिने अरु नभै आफै गह्रुङ्गो हुन
एकै पाउ उभिन्छ सारस अझै हेर्दा हलुङ्गो हुन।४।

लामो पुच्छर काम बेगर त्यसै उफ्रन्छ त्यो बाँदर
फेता झैँ पगरी भिरे नि उसले गर्दैन क्वै आदर।
कौडीकापछि दौडिने जनहरू विश्वासमा फेर्दछन्
पूर्णेको दिन जन्मिने जन भए आफन्तले हेर्दछन् ।५।

भावीले पहिल्यै नआत्तिनु भनी लेखेछ लेखान्तर
बिन्ती भाउ बिसाइएर अब त्यो खोजेर पाइन्छ र ।
खोला बग्दछ एकनास गतिमा पुग्ने गरी सागर
भोकै पर्दछ त्यो अजिङ्गर त्यसै मर्यो भने जाँगर ।६।

पूर्वैबाट उदाउँछन् सुरज ती पूर्वै दिशा चन्द्रमा
यौटै हो नभ एउटै क्षितिज तै भेटिन्न है अन्तमा ।
कालो दाग नभैदिए ग्रहण त्यो भन्थे उज्यालो कति
कालै बादल आउँदा सगरमा आशा जगायो अति ।७।

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत :SSS – IIS – ISI – IIS – SSI –  SSI – S

वि.सं.२०८२ पुस १२ शनिवार ०५:५० मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...