काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक भएको छ । चर्चित लोक गायक यज्ञ सापकोटा र गायिका देवी घर्ती मगरको स्वरमा सजिएको यो गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको करिब १७ घण्टामै गीतले २ हजार ७ सयभन्दा बढी दर्शकको ध्यान आकर्षित गर्न सफल भएको छ ।
गीतलाई स्वयं यज्ञ सापकोटाले शब्द तथा संगीत दिएका छन् । लोक भाकामा आधारित यस गीतले प्रेम, प्रतिबद्धता र सम्बन्धका भावनात्मक पाटोलाई प्रस्तुत गरेको छ । पछिल्लो समय नेपाली लोकसंगीतमा मौलिकपन र आधुनिक प्रस्तुतिको मिश्रण बढ्दै गएको सन्दर्भमा यो गीत पनि सोही धारलाई पछ्याउँदै बजारमा आएको देखिन्छ ।
गीतको संगीत संयोजन राजु सुनामले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ विनोद परियारले गरेका हुन् । रेकर्डिङ रमेश खड्काले ‘ओजोन स्टुडियो’मा गरेका हुन् । अडियो तथा भिडियो निर्माण अकलादेवी म्युजिक प्रा.लिले गरेको हो ।
भिडियोतर्फ पनि गीत उत्तिकै आकर्षक बनेको छ । भिडियोमा यज्ञ सापकोटा र देवी घर्ती मगर स्वयंले अभिनय गरेका छन् । छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन अनिल बिष्ट प्युठानीले गरेका छन् । भिडियोको सम्पादन कार्य जय राप्ती डिजिटल म्युजिक प्रा.लिमा सम्पन्न गरिएको हो ।
पछिल्लो समय डिजिटल प्लेटफर्ममार्फत गीत सार्वजनिक गर्ने चलन बढ्दै गएको छ । यही प्रवृत्तिलाई पछ्याउँदै “खाइयोे कसम” पनि यज्ञ सापकोटाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतले छोटो समयमै राम्रो प्रतिक्रिया पाउन थालेको छ, जसले आगामी दिनमा अझै लोकप्रियता हासिल गर्ने संकेत देखिएको छ ।
नेपाली लोकगीत प्रेमीहरूका लागि यो गीत नयाँ स्वादको रूपमा आएको छ । दर्शक तथा स्रोताले दिएको प्रारम्भिक प्रतिक्रियाले गीत सफल हुने अपेक्षा गरिएको छ । संगीत क्षेत्रमा सक्रिय यी कलाकारहरूको यो सहकार्यले नेपाली संगीत उद्योगमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ ।
वि.सं.२०८२ चैत १२ बिहीवार १२:१७ मा प्रकाशित
























