सौन्दर्य वाटिकामा कतै गोप्य छ
तैपनि
शब्दहरूका अर्थहरू हुन्छन्
लेखिदिन्छु
कविता बन्छ
कविताको भाव झनै सुन्दर देखिन्छ
आफ्नै मनभित्र
फूलहरूको सुगन्ध र
इन्द्रेणीका मन पर्ने रङहरूमा।
धर्तीमा पानी बिनाको बगर मात्र छैन
खुसीहरूका धेरै नदीहरू पनि छन्
पौडिन समय लाग्न सक्छ तर
पारिबाट आयौँ भने
ओल्लो किनारमा पुगिन्छ
वारिबाट गयौँ भने
पल्लो किनारमा पुगिन्छ ।
वर्तमान जीवनको उर्वर अवधि हो तर
सम्भावनाहरूको एउटा सुन्दर भविष्य पनि छ
तिमी सम्भावनाहरूलाई
त्यति कमजोर पनि नसम्झ
तिमीले नपत्याउँदैमा
सम्भावनाहरूको कहिल्यै अन्त्य हुँदैन।
मान्छेहरू भन्छन् तँ सुन्दर छैनस्
हो, म सुन्दर मात्र छैन तर
मैले थाहा पाएदेखि आजसम्म
म आफूलाई ऐनामा सुन्दर देख्छु
ऐना बाहिर झन सुन्दर देख्छु
दार्शनिक भन्छन् –
म कति खराब छु भन्ने थाहा पाउनु
मान्छे सबभन्दा सुन्दर हुनु हो।
केशव ज्ञवाली ‘आगत’
सूर्यविनायक , भक्तपुर
वि.सं.२०८२ चैत १४ शनिवार ०५:४६ मा प्रकाशित






























